अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।
पर्सा — अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।
नहाय–खायका दिन व्रतालुहरूले स्नान गरी शरीर र मनलाई शुद्ध पारेपछि चोखो नितो गरेर लौकाको तरकारी र भात खाने गर्छन् । लौकालाई छठमा सबैभन्दा शुद्ध तरकारीमध्ये एक मानिने भएकाले यस दिन बजारमा यसको माग अत्यधिक हुने गर्छ । छठ पर्व नसकिएसम्म व्रतालुहरूले माछामासुलगायत तामसिक भोजन गर्दैनन् ।
शुक्रबार नहाय–खाय गरेका व्रतालुहरूले शनिबार साँझ ‘रस्याउ–रोटी’ खानेछन् । ‘खरना’ भनिने यस विधिमा व्रतालुहरूले घरमा छठी माताको पूजा गरी दूध र गुडमा पकाइएको खिर (रस्याउ) तथा पुरी खाने गर्छन् । यसलाई प्रसादका रूपमा परिवारका सदस्य, इष्टमित्र र छरछिमेकलाई समेत वितरण गर्ने परम्परा छ । कतैबाट निम्तो नपाएका वा प्रसाद खाने अवसर नजुरेकाहरूले पनि व्रतालुसँग मागेर रस्याउ–रोटी प्रसादका रूपमा खाने चलन छ ।
वीरगन्जको तेजारथ टोलकी व्रतालु मञ्जु देवीका अनुसार शनिबार साँझ खरना विधिपछि रस्याउ–रोटी ग्रहण गरेका व्रतालुहरू त्यसैको भरमा आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन् । आइतबार साँझ व्रतालु तथा परिवारका सदस्यहरू घरनजिकैका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठघाट पुग्नेछन् । ‘सोमबार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेपछि मात्र व्रत तोडिन्छ,’ उनले भनिन् ।
नयाँ वस्त्र धारण गरेका व्रतालुका परिवारका सदस्यले बाँसको छैंटीमा पूजा सामग्री राखेर टाउकोमा बोकी घाटसम्म लैजाने परम्परा छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्री राखेर अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौँ घाटमै बसेर पूजा–अर्चना गर्नेछन् ।
केही व्रतालु राति घर फर्केर आँगनमा ‘कोसी भर्ने’ विधि गर्छन् । माटोको हात्ती राखेर पूजा गरिने यस विधिबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । कोसी भर्ने क्रममा परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिससमेत सहभागी हुने गर्छन् । घाटमै बस्ने व्रतालुहरूले भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने परम्परा छ ।
छठका लागि आवश्यक प्रसाद तयार पार्ने काम पनि व्रतालुका घरमा तीव्र बनेको छ । शनिबार दिनभर र साँझसमेत व्रतालु तथा परिवारका सदस्यहरू विशेष प्रकारको पिठोबाट ठेकुवा बनाउने तयारीमा जुट्नेछन् । प्रसाद पकाउँदा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइन्छ ।
रस्याउ–रोटी र ठेकुवा बनाउन आवश्यक पिठो तयार पार्न व्रतालुका घरघरमा गहुँ सुकाउने काम भइरहेको छ । घाममा सुकाइरहेको गहुँलाई चराचुरुङ्गीले जुठो लगाए अपवित्र हुने धार्मिक मान्यता रहेकाले व्रतालु तथा परिवारका सदस्यहरू गहुँ रुङ्गेर बस्ने गर्छन् । चराचुरुङ्गीले जुठो हालेको आशंका भए गहुँ पखालेर पुनः सुकाउने गरिन्छ ।
छठ नजिकिएसँगै वीरगन्ज बजार तथा जिल्लाका ग्रामीण हाटबजारमा पर्वका सामग्री किनमेल गर्नेको भीड बढेको छ । कपडा पसलहरूमा समेत नयाँ लुगा खरिद गर्नेको चहलपहल छ ।
छठलाई लक्षित गरी वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाटलाई बेहुलीझैँ सिँगारिएको छ । जिल्लाका ग्रामीण भेगका अधिकांश गाउँमा पनि छठघाट तयार पारिएका छन् । घडिअर्वा पोखरीमा गरिएको आकर्षक विद्युतीय सजावटका कारण साँझपख घुम्न आउनेहरूको भीड लाग्न थालेको छ । पोखरीको सजावट र आकर्षक दृश्यका तस्बिर सामाजिक सञ्जालमा समेत फैलिन थालेका छन् ।
घडिअर्वा पोखरीमा छठ पर्वलाई लक्षित गरी स्थायी घाटसमेत निर्माण गरिएको छ । देशकै ठूलो र बढी भीडभाड हुने छठघाटमध्ये एक मानिने यहाँ बिहान र बेलुका गरी करिब पाँच लाख मानिसको आवागमन हुने अनुमान गरिएको छ ।
इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ व्रतले परिवारमा सुख, शान्ति र समृद्धि भित्रिने, सन्तान प्राप्ति हुने तथा चर्मरोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।