Trending
Prev Story
Next Story

अर्गलमा भुस पोलेर खोरिया फाँडेको सम्झना, छापो हालेर हिउँदे खेतीको सुरुवात

Ekantipur •
November 13, 2026 • 10:02 AM
1
1 reads 0 reactions

यो पर्वमा सहभागी नभए एक वर्ष विवाह गर्न नपाइने मान्यताबीच ६० भन्दा बढी अविवाहित युवायुवतीले शंकुबारीमा सामूहिक छापो हाले।

अर्गलमा भुस पोलेर खोरिया फाँडेको सम्झना, छापो हालेर हिउँदे खेतीको सुरुवात

यो पर्वमा सहभागी नभए एक वर्ष विवाह गर्न नपाइने मान्यताबीच ६० भन्दा बढी अविवाहित युवायुवतीले शंकुबारीमा सामूहिक छापो हाले।

बागलुङ — तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य (होलादास) गरेपछि भुस पोलेर खोरिया फाँडेको इतिहास सम्झने र शंकुबारीमा छापो हालेर हिउँदे खेती सुरु गर्ने परम्परा यहाँ छ । प्रकृति पूजा र पुर्खाको सम्झनासँग जोडिएको यो पर्वमा देशविदेशमा रहेका अविवाहित युवायुवतीसमेत गाउँ फर्केर सहभागी हुन्छन् ।

तिहारको रौनकमा देशभर देउसीभैलो चलिरहेको थियो । त्यहीबेला बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलका मगर समुदायले छुट्टै पर्व मनाइरहेका थिए। कात्तिक २४ गते उनीहरूले ‘होलादास’ अर्थात् पितृकार्य सम्पन्न गरे । वर्षभरि मृत्यु भएका आफन्तको एकै दिन पितृकार्य गरेर काजकिरिया सक्ने उनीहरूको चलन छ । कात्तिक २५ गते उनीहरूले भुस पोले । पन्ध्रौं शताब्दीमा पाल्पाबाट बसाइँ सरेर आएका उनीहरूले खोरिया फाँडेर बसोबास गरेको सम्झनामा भुस पोल्ने गरिन्छ । वर्षे बालीका रूपमा रहेको मकैलगायतका खेती थन्क्याएपछि स्याउला पोलेर खेतका किरा मार्ने उनीहरूको चलन छ ।

भुस पोलेको भोलिपल्ट कात्तिक २६ गते समुदायको सामूहिक हक रहेको ‘शंकुबारी’मा छापो हालिएको छ । हिउँदे खेतीका लागि जौ छरेर स्थानीय अविवाहित युवायुवतीले शंकुबारी खनी छापो हालेका हुन् । यो अर्गली मगर समुदायको नियमित परम्परा हो । प्रकृतिको पूजा गरिने भएकाले उनीहरूले अन्य चाडपर्वभन्दा कात्तिकको भुस पोल्ने पर्वलाई विशेष रूपमा मान्छन् ।

यो पर्वका लागि देशविदेशमा रहेका स्थानीय अविवाहित युवायुवती गाउँ आउनुपर्ने हुन्छ । यो पर्वमा नआएकाहरूले एक वर्षभित्र विवाह गर्न नपाउने चलन छ । विवाह गर्ने उमेर पुगेकाहरू शंकुबारीमा छापो हाल्न अनिवार्य आउने गरेको स्थानीय प्रकाश घर्तीमगरले बताए ।

पाल्पाको अर्गलीबाट बसाइँ सरेर आएका अर्गल, अमरभूमि र भुस्कातका मगर समुदायले यो पर्व मनाउने गरेका छन् । घर्तीले भने, ‘प्रकृति पूजा गरेर हिउँदे खेती थाल्ने, बसाइँ आएको स्मरण गर्ने र युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने परम्परा हो ।’ तिहारकै दिन परे पनि उनीहरूले भाइटीकासँगै पितृकार्य, भुस पोल्ने र छापो हाल्ने कामसमेत सम्पन्न गरेको उनले बताए ।

ताराखोला–२, अर्गलमा रहेको शंकुबारी सार्वजनिक जमिन हो । यहाँ बुढापाकाले जौ छरेपछि युवायुवतीले सामूहिक रूपमा खन्ने गर्छन् । यो पर्वकै रूपमा लिइने भएकाले सयौं मानिस छापो हालेको र बारी खनेको हेर्न आउँछन् । यस वर्ष छापो हाल्न ६० जनाभन्दा बढी अविवाहित युवायुवती आएको स्थानीय भद्रबहादुर घर्तीले बताए । यसरी छापो खन्न आएका युवायुवतीले राम्रो वरवधु पाउने विश्वास छ ।

बुढापाकाले छापो हाल्नका लागि बीउ छर्दा भकारीमा सहकाल आउनेसमेत विश्वास गर्छन् । ‘खोरिया फाँडेर बसेको दिनको पनि यो सम्झना हो, त्यसैले खनीखोर्सी गरेर बीउ छर्दा भकारीमा सहकाल आउँछ भन्ने विश्वास छ,’ स्थानीय बिर्बलाल घर्तीले भने, ‘सहकालका देवता प्रकृतिको पूजा गरेर हामीले खेती भित्र्याउने गरिएको छ ।’ हिउँदे खेतीमा यहाँ गहुँ, जौ, तोरीलगायत बाली छरिन्छन् ।

पितृकार्यका लागि पनि हरेक वर्ष कात्तिक २४ गते जुठो फुकाउने चलन छ । पोहोर कात्तिक २२ गतेपछि मृत्यु भएकाहरूको एकैपटक कात्तिक २४ गते पितृकार्य गर्ने चलनलाई होलादास भनिने स्थानीय भीमबहादुर घर्तीले बताए । उनले आफ्ना बाबुआमाको पितृकार्य गर्दा एक वर्ष कुर्नुपरेको स्मरण गरे । भीमबहादुरजस्तै हर्कबहादुर घर्तीले पनि पितृकार्यका लागि एक वर्षसम्म घर छाड्न पाएका थिएनन् । पितृकार्य नसकिएसम्म उनीहरू मठमन्दिर जान पाउँदैनथे । यो अवधिभर पुलपुलेसा समेत तर्न नहुने मान्यता छ ।

अहिले भीमबहादुर अर्गली मगर समुदायका ‘गुरुबाउ’ हुन् । पहिला मुखियालाई गुरुबाउ मान्ने चलन थियो । अहिले मुखिया प्रथा छैन । त्यसैले जेठोबाठो र केही बुझेका व्यक्तिलाई गुरुबाउ मान्ने चलन छ । पितृकार्य गर्न बिहानै उठेर नुहाइधुवाइ गरेपछि घर चोख्याउनुपर्छ । गाउँलेहरू गुरुबाउकै घरमा पूजासामग्री लिएर आउँछन् । घरभित्र पूजा भइसकेपछि शंकुबारी गएर पूजा गरिन्छ ।

यहाँ उत्पादित अन्न अक्षताका रूपमा समूहमै राख्ने गरिन्छ । वर्षभरि मृत्यु भएका पितृको सम्झनामा पूजा गरेपछि दानदक्षिणा दिइन्छ । होलादास गर्न १८ माना चामल, सुकुटी र पशुको छाला चेलीबेटीले ल्याएपछि चढाउने र आशौच बार्ने घरले चेलीबेटीलाई त्यस्तै प्रकारको दान दिने गरिएको स्थानीय बीरवललाल घर्तीले बताए । यो कार्यपछि पितृहरू स्वर्ग तर्छन् भन्ने समुदायको विश्वास छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5h ago
ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य (होलादास) गरेपछि भुस पोलेर खोरिया फाँडेको इत...

#पर्व #भुस
Compare →

Related Stories

Business & Economy
Build #2611