तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य (होलादास) गरेपछि भुस पोलेर खोरिया फाँडेको इतिहास सम्झने र शंकुबारीमा छापो हालेर हिउँदे खेती सुरु गर्ने परम्परा यहाँ छ । प्रकृति पूजा र पुर्खाको सम्झनासँग जोडिएको यो पर्वमा देशविदेशमा रहेका अविवाहित युवायुवतीसमेत गाउँ फर्केर सहभागी हुन्छन् ।
तिहारको रौनकमा देशभर देउसीभैलो चलिरहेको थियो । त्यहीबेला बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलका मगर समुदायले छुट्टै पर्व मनाइरहेका थिए । कात्तिक २४ गते उनीहरूले ‘होलादास’ अर्थात् पितृकार्य सम्पन्न गरे । वर्षभरि मृत्यु भएका आफन्तको एकै दिन पितृकार्य गरेर काजकिरिया सक्ने उनीहरूको चलन छ । कात्तिक २५ गते उनीहरूले भुस पोले । पन्ध्रौं शताब्दीमा पाल्पाबाट बसाइँ सरेर आएका उनीहरूले खोरिया फाँडेर बसोबास गरेको सम्झनामा भुस पोल्ने गरिन्छ । वर्षे बालीका रूपमा रहेको मकैलगायतका खेती थन्क्याएपछि स्याउला पोलेर खेतका किरा मार्ने उनीहरूको चलन छ ।
Read full story at source ( gorkhapatraonline.com )