तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।
काठमाडौँ — तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ। छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।
छठ पर्वका लागि आवश्यक सामग्री खरिद गर्न बिहानैदेखि बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ। विशेषगरी छठ पूजामा प्रयोग हुने फलफूल, पूजा सामग्री तथा बाँसबाट बनेका सामग्री किन्ने ग्राहकको भिड लागेको छ।
छठ पर्वमा मुख्य रूपमा ठेकुवा, भुसुवा (कसार), नरिवल, केरा, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा, बेसार, कागती, अम्बा, भोगटे, पानीसहितको नरिवललगायत फलफूल तथा कन्दमूल चढाउने परम्परा छ।
त्यस्तै, पूजाका लागि बाँसको सुप (सुपली), नाङ्लो, डालो, टोकरी, माटोको हात्ती, दियो, अगरबत्ती, धूप, पञ्चमेवा तथा पूजाका अन्य सामग्रीको पनि किनमेल हुने गरेको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर विधिपूर्वक पूजा गर्ने गर्दछन्। विशेषगरी तराई–मधेशमा धुमधामका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।
नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।