काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा घोषणा गरिएकोमा अब कात्तिक ३० गते सोमबार पनि देशभर सार्वजनिक बिदा हुने भएको हो।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार छठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई ध्यानमा राख्दै थप एक दिन बिदा दिने निर्णय गरिएको हो।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी व्रत समापन गर्ने परम्परा छ। यही परम्परालाई मध्यनजर गर्दै सरकारले सोमबारसमेत सार्वजनिक बिदा दिएको जनाएको छ।
यो निर्णयसँगै छठ पर्वका अवसरमा कात्तिक २९ र ३० गते लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
विशेषगरी तराई–मधेश क्षेत्रमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न भागमा समेत व्यापक रूपमा मनाउन थालिएको छ। यस पर्वमा सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।