Trending
Prev Story
Next Story

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

Nagarik News •
November 13, 2026 • 12:49 AM
1
1 reads 0 reactions

दीपावली सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँद गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँद गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन्।

आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।

पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्।

विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन्। बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ।

सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन्।

छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ। भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।

मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ। केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ।

स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन्।

यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए।

यसैगरी छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ।

बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ।

छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो।

घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ। ठकुवा र भुसुवासहितका प्रसाद बनाउन गृहिणी व्यस्त छन्। चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ।

शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ। मिथिलानी अर्थात् मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन्।

भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताइन्।

मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ।

तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ।

छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन्। छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ।

पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ। सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ ०६:३४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वक...

#पर्व #मिथिला #आजदेखि
Compare →
Arthasansar
19h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व #आजदेखि
Compare →
Bizshala
20h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व #मिथिला
Compare →
Onlinekhabar
2d ago
मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

२५ कात्तिक, महोत्तरी । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ।  कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वसँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन …

#मिथिला #दीपावली
Compare →
Ekantipur
18h ago
छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

#पर्व
Compare →

Related Stories

Business & Economy
Build #2612