Trending
Prev Story
Next Story

व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

Ekantipur •
November 07, 2026 • 06:01 AM
1
1 reads 0 reactions

स्थानीय उत्पादनले आम्दानीको नयाँ बाटो खोले पनि किसानले भारतीय फूलसँग प्रतिस्पर्धा र बजार व्यवस्थापनको कठिनाइ झेलिरहेका छन्।

व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

स्थानीय उत्पादनले आम्दानीको नयाँ बाटो खोले पनि किसानले भारतीय फूलसँग प्रतिस्पर्धा र बजार व्यवस्थापनको कठिनाइ झेलिरहेका छन्।

पाल्पा — तिहार नजिकिएसँगै पाल्पाका फूल किसानलाई फूल टिप्ने, माला उन्ने र बजार पुर्‍याउने चटारो छ । केही वर्षअघिसम्म चाडपर्वमा भारतीय फूल र मालाको भर पर्नुपर्ने अवस्था रहेकामा अहिले जिल्लामै व्यावसायिक फूलखेती गर्ने किसान बढ्न थालेका छन् । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसान अन्य खेतीको विकल्पका रूपमा फूलखेतीतर्फ आकर्षित भएका हुन् ।

पाल्पाको बगनासकाली गाउँपालिका–८ का झपिन्द्र बस्यालले १० रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दा राम्रो आम्दानी हुने देखेपछि अन्य खेतीको सट्टा फूलखेती रोजेको उनले बताए । ‘विगतमा फूलखेतीको खासै महत्त्व थिएन,’ उनले भने, ‘अहिले पहाडमा फुलेको फूलको तराईमा महत्त्व देखेको छु ।’ अहिले फूल टिप्ने र बजार पठाउने हतारो रहेको उनले बताए । बसको छतमा र साना पिकअप सवारीसाधनमा बुटवल लैजाने गरेको उनले बताए ।

बगनासकाली–२ का श्रवणकुमार श्रेष्ठलाई भने तिहारमा फूलको माग धान्नै मुस्किल पर्छ । उनको बगैंचामा उत्पादित फूल प्रतिमाला १२० रुपैयाँ र प्रतिकिलो ४०० रुपैयाँमा बिक्री भइरहेको छ । चाडपर्वका बेला फूलको माग अत्यधिक हुने भएकाले खेतीदेखि माला उन्नेसम्मको काममा व्यस्त हुनुपर्छ । ‘अन्य समयभन्दा तिहारमा फूलको माग धेरै हुन्छ,’ उनले भने, ‘उत्पादन भएको फूलले बजार पाउन खासै समस्या छैन ।’

फूलखेतीबाट घरखर्च चलाउन सहज भएको अनुभव रैनादेवी छहरा गाउँपालिका–२ सोमादी, दिगकी इन्दिरा कोइरालाको पनि छ । उनले धर्तीमाता कृषि फर्ममार्फत चार रोपनी जग्गामा व्यावसायिक फूलखेती गरेकी छन् । स्थानीय उत्पादन र मालाको प्रयोग बढाउन सके किसानलाई थप प्रोत्साहन मिल्ने उनको भनाइ छ । भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई निरुत्साहित गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताइन् ।

भारतीय फूलको आयात घटाउने र स्वदेशमै फूल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको खेतीले स्थानीय किसानलाई नयाँ आम्दानीको बाटो देखाएको तानसेन नगरपालिका–२ का पदम गैरेले बताए । गैरेले तानसेन नगरपालिका–७, काजीपौवामा ५ रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । ‘तानसेनमा फूल खपत धेरै कम हुनेरहेछ,’ उनले भने, ‘सबै बजार भनेको बुटवल नै रहेछ ।’

यस वर्ष बुटवलमा किसान आफैं गएर बिक्री गरेका छन् । विगतमा बिचौलिया आउने गर्थे । यस वर्ष किसानले ३०० देखि ५०० रुपैयाँ किलोमा बिक्री गरेको माथागढी गाउँपालिका–२, रुप्सेका दामोदर घर्तीले बताए । ‘बजार भनेको बुटवल नै रहेछ,’ उनले भने, ‘जिल्लाको बजार भनेको पूजासामग्रीमा लगेर बिक्री गर्नुबाहेक अन्य रहेनछ ।’ यहाँका स्थानीय तहले बजारका लागि कुनै व्यवस्था गरेका छैनन् । बिक्री केन्द्रसमेत तोक्न सकेका छैनन् । जसले गर्दा किसान आफैं बजार खोज्दै बुटवल, भैरहवा, तानसेन, रामपुर पुग्नुपर्ने बाध्यता छ । तिहारमा विशेषगरी लक्ष्मीपूजा र भाइटीकामा फूल र मालाको खपत हुने रामपुर नगरपालिका–४ का दिलबहादुर थापाले बताए ।

हरेक वर्ष पाल्पामा फूलखेती गर्नेहरू बढेका छन् । उत्पादन बढेसँगै व्यवस्थित बजार, चिस्यान तथा भण्डारण, बजारीकरण र खेती विस्तारका लागि प्राविधिक सहयोगको आवश्यकता रहेको थापाले बताए । स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके पाल्पाको फूलखेती किसानको वैकल्पिक आम्दानीको स्रोत मात्र नभई आयात प्रतिस्थापनको आधार बन्न सक्ने उनले बताए । व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्नेहरू हरेक वर्ष बढ्दै गएका छन् ।

जिल्लाका रामपुर, तानसेन, माथागढी, बगनासकाली र निस्दीका विभिन्न स्थानमा सयपत्री फूलखेती विस्तार हुँदै गएको छ । रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिकालगायतका स्थानमा फूलखेती गर्नेहरू लामो दूरीसम्म फूल ढुवानी गर्दा लाग्ने खर्चले नाफा घटाउने गुनासो गर्छन् । त्यसैले स्थानीय बजारमै फूल र माला बिक्री गर्नुपर्ने रामपुरका फूलखेती गर्ने किसान थापाले बताए । ‘माग त नारायणगढ, कैलाली र नेपालगन्जबाट पनि आउने गर्छ,’ उनले भने, ‘तर ढुवानी खर्च जोड्दा नाफाभन्दा घाटा हुने हो कि भन्ने चिन्ता हुन्छ ।’ पाल्पाको रामपुर ठूलो बजार क्षेत्र भएकाले तिहारको तीन–चार दिनमा केही फूल खपत हुने आशा उनको छ । सोचेजस्तो बजार सहज नभएको उनको अनुभव छ ।

किसानले उत्पादन गरेको फूलले बजारमा भारतीय फूलसँग प्रतिस्पर्धा गर्नुपरेको छ । बुटवल बजारमा भारतबाट आउने माला सहजै उपलब्ध हुने भएकाले स्थानीय किसानले मूल्य घटाएर बिक्री गर्नुपर्ने अवस्था छ । किसानका अनुसार थोकमा एउटा माला ६० देखि १४० रुपैयाँसम्ममा बिक्री गर्नुपर्छ । खुद्रा मूल्य पनि ९० देखि १६० रुपैयाँसम्म पाउने गरेका छन् । यस्तो मूल्यमा बिक्री गर्दा उत्पादन लागत र श्रमको उचित प्रतिफल पाउन कठिन छ ।

कतिपय किसानले भैरहवास्थित कोल्डस्टोरमा समेत पठाएका छन् । कोल्डस्टोरमा पठाएको मालासमेत भाडा तिर्दा महँगो पर्छ । बजारको पहुँच र प्रतिस्पर्धी मूल्य नहुँदा किसानले अपेक्षित आम्दानी गर्न समस्या रहेको बगनासकाली–८ का किसान बस्यालले बताए । ‘गुणस्तरीय फूल उत्पादन गरेर के गर्नु, भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्नै समस्या छ,’ उनको गुनासो छ । स्थानीय तहले बीउ र विषादीमा केही अनुदान दिएका छन् । तर बजारसम्म पहुँचका लागि भने कुनै पहल नगर्दा समस्या रहेको किसानको गुनासो छ ।

कतिपय किसानको समस्या प्राविधिक ज्ञान र सहयोगको अभाव हो । फूलखेतीका लागि आवश्यक तालिम, रोगकिरा व्यवस्थापन, उत्पादन प्रविधि र बजारीकरणमा पर्याप्त सहयोग पाउन सकेका छैनन् । स्थानीय तह र कृषि ज्ञान केन्द्रबाट आवश्यक प्राविधिक सेवा तथा बजार व्यवस्थापनमा ध्यान पुग्न नसकेको उनीहरू बताउँछन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
फूल उत्पादन गर्ने किसानका दुःख

फूल उत्पादन गर्ने किसानका दुःख

भक्तपुर । तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला...

#किसान #फूल #उत्पादन
Compare →
Nagarik News
5d ago
किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ।

#किसान #फूल #उत्पादन
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल #उत्पादन
Compare →

Related Stories

Business & Economy
Build #2611