आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो ।
तिहार र छठजस्ता प्रमुख पर्वमा बजारमा जुनार खपत बढ्छ । यतिबेला फलफूलको प्रयोग र छठमा सूर्यलाई अर्घ्य दिने क्रममा जुनार चढाउने परम्पराका कारण यसको खपत बढ्ने गरेको सरोकारवाला बताउँछन् । पर्व मौसम रहेकाले बजारमा जुनार प्रशस्तै देखिन थालेको छ ।
पछिल्लो एक दशकको सरकारी तथ्यांकले समेत जुनार उत्पादन र खेती बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुगेको छ । यस अवधिमा उत्पादन ११ हजार ६ सय २ टन अर्थात् ३३.५ प्रतिशतले बढेको राष्ट्रिय फलफूल विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांक हो ।
जुनार उत्पादन बढ्नुमा बजारको माग, मूल्य र यसको सांस्कृतिक महत्त्व प्रमुख रहेको कृषिविज्ञ कृष्णप्रसाद पौडेलले बताए । तुलनात्मक रूपमा लामो समयसम्म भण्डारण गर्न सकिने र चाडपर्वको समयमा चाहिने हुनाले पनि यसको बजार सम्भावना राम्रो रहेको उनको भनाइ छ । ‘जुनार तुलनात्मक रूपमा चाँडै नबिग्रने, परम्परागत तथा सांस्कृतिक महत्त्व रहेको र चाडपर्वकै समयमा तयार हुने फल भएकाले यसको उत्पादन बढेको हो,’ पौडेलले भने । उत्पादनको सरकारी तथ्यांक र वास्तविक उत्पादनबीच कति समानता छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनले जनाए ।
जुनार खेती हुने क्षेत्रफल विस्तार र उत्पादकत्वमा आएको सुधारसँगै उत्पादन बढेको केन्द्रले सार्वजनिक गरेको फलफूल तथा पुष्प व्यवसायसम्बन्धी तथ्यांक पुस्तिकामा उल्लेख छ । यसअनुसार आर्थिक वर्ष २०७१/७२ मा जुनार खेती हुने कुल क्षेत्रफल ४ हजार ८ सय ३४ हेक्टर थियो । एक दशकमा ६ हजार १ सय ५१ हेक्टर बढेर २०८१/८२ मा १ हजार ३ सय १७ हेक्टर पुगेको छ ।
जुनारको उत्पादनशील क्षेत्रफल पनि एक दशकमा ८ सय १६ हेक्टरले बढेको छ । आर्थिक वर्ष २०७१/७२ मा ३ हजार ४ सय ४० हेक्टर क्षेत्रफल उत्पादनशील रहेकामा २०८१/८२ मा ४ हजार २ सय ५६ हेक्टर पुगेको छ । यसले जुनारको उत्पादकत्वमा समेत सुधार भएको देखाएको छ ।
आर्थिक वर्ष २०७१/७२ मा उत्पादकत्व प्रतिहेक्टर १०.१ टन थियो । एक दशकमा उत्पादकत्व प्रतिहेक्टर ०.७७ प्रतिशत बढेर २०८१/८२ मा १०.८७ टन पुगेको छ । उत्पादनशील क्षेत्रफल विस्तारसँगै उत्पादकत्वमा आएको सुधारले कुल उत्पादन बढाउन योगदान गरेको देखिन्छ ।
नेपालमा जुनारको मुख्य उत्पादन तथा बजार बिक्रीको समय मंसिरदेखि पुससम्म हो । यही अवधिमा बजारमा स्वदेशी तथा विदेशी जुनारको आपूर्ति बढ्ने गर्छ । नेपालका विभिन्न पहाडी जिल्लामा जुनार खेती हुँदै आएको छ । रामेछाप, सिन्धुली र धनकुटालाई जुनारको पकेट जोनका रूपमा लिइन्छ । यसका अतिरिक्त काभ्रेपलाञ्चोक, प्यूठान, डोटी, धादिङ र रोल्पालगायत जिल्लामा खेती गरिन्छ ।
नेपालमा धनकुटाको पारिपात्ले कृषि अनुसन्धान केन्द्र र कीर्तिपुरस्थित केन्द्री बागवानी केन्द्रमा जुनारका माल्टा, भ्यालेन्सिया, नेभल, जाफालगायत जातको संरक्षण गरिएको छ । पारिपात्लेमा स्थानीय जुनारसहित माल्टा कमन, माल्टा ब्लड रेड, रुबी र ह्याम्लिनलगायत जात छन् । कीर्तिपुर केन्द्रमा स्थानीय जुनार, वासिङ्टन नेभल, फस्ट भ्यालेन्सिया, फुकुहारा र कियोमीसहित विभिन्न जातको संरक्षण तथा अध्ययन हुँदै आएको केन्द्रले बताएको छ ।
एक दशकमा उत्पादन बढे पनि गत वर्ष र यस वर्ष बराबर नै उत्पादन हुने सरकारी आकलन छ । जुनार उत्पादनको नयाँ प्रक्षेपण सार्वजनिक भइनसकेकाले गत वर्षको उत्पादन यकिन भइनसकेको केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सागर घिमिरेले जनाए । ‘गत वर्षको तथ्यांक अद्यावधिक भइसकेको छैन, उत्पादनमा धेरै परिवर्तन हुँदैन भन्ने अनुमान छ,’ घिमिरेले भने ।
यस वर्ष सिन्धुलीका केही क्षेत्रमा फ्रुटफ्लाईको प्रकोप देखिए पनि उत्पादनमा गिरावट नआउने प्रारम्भिक जानकारी आएको घिमिरेले बताए । नयाँ उत्पादन प्रक्षेपण र तथ्यांक सार्वजनिक भएपछि मात्र यस वर्षको वास्तविक अवस्था स्पष्ट हुने उनको भनाइ छ ।
बजारमा माग र मूल्य दुवै राम्रो हुन थालेपछि किसान जुनार खेतीतर्फ आकर्षित हुँदा उत्पादन बढेको कृषि विज्ञ बताउँछन् ।
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।