नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ८५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप पुगेको हो ।
यो अवधिमा कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको ठूलो हिस्सा वाणिज्य बैंकहरुमा रहेको छ । वाणिज्य बैंकहरुमा मात्रै अहिलेको अवस्थामा ७७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
कुल ६१ खर्ब माथिको कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुले मात्रै ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब ८० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । पछिल्लो समय कर्जाको माग सुस्त हुँदा बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको थुप्रो छ । अहिले सीडी रेसियो ७०.९६ प्रतिशत रहेको छ भने अन्तर बैंकदर २.७५ प्रतिशत रहेको ।
बजारमा अधिक तरलताको अवस्था हुँदा केन्द्रीय बैंकले बजारबाट लगार रुपमा पैसा प्रशोचन गरिरहेको छ । शुक्रबार मात्रै राष्ट्र बैंकले २० दिनका लागि २०० अर्ब रुपैयाँ प्रशोचन गर्ने गरि सूचना जारी गरेको छ ।