बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो ।
केन्द्रीय बैंकले आज कात्तिक २७ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट एकैपटक २०० अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २० दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।