विदेशी ब्रान्डको दबदबा रहेको बजारमा पीएलओले गुणस्तर, उत्पादन विविधता र वितरण सञ्जाल विस्तार गर्दै आफ्नो पहिचान स्थापित गरेको छ ।
विराटनगर — विराटचोकमा एउटा सानो व्यापारबाट सुरु भएको पूर्वाञ्चल ल्युब आयल (पीएलओ) को यात्रा अहिले स्वदेशी ल्युब आयल उद्योगको स्थापित नामसम्म आइपुगेको छ । भदौ २०४९ मा ७० हजार रुपैयाँको सानो पुँजीबाट कृषि औजारको कारोबार थालेका उद्यमी भोलेश्वर दुलालले त्यसको करिब नौ वर्षपछि आफ्नै उत्पादन उद्योग स्थापना गर्ने जोखिम मोले । त्यही निर्णयले जन्माएको पीएलओ अहिले इन्जिन आयल, गियर आयल, ग्रिजलगायत लुब्रिकेन्ट उत्पादन गर्ने पूर्वकै अग्रणी औद्योगिक कम्पनी बनेको छ ।
दुई दशकअघि पूर्वी नेपालबाट सुरु भएको पीएलओको यात्राले एउटा क्षेत्रीय व्यापारलाई औद्योगिक ब्रान्डमा रूपान्तरण गरेको छ । २३ भदौ २०५८ मा मोरङको विराटचोकमा स्थापना भएको पूर्वाञ्चल ल्युब आयलले सुरुमा सीमित उत्पादन र बजारबाट आफ्नो व्यावसायिक यात्रा थालेको थियो । अरू कम्पनीका उत्पादन बिक्री गर्दै आएका दुलाललाई आफ्नै ब्रान्ड निर्माण नगरेसम्म बजारमा दीर्घकालीन पहिचान बनाउन नसकिने लाग्यो । त्यसपछि उनले ल्युब आयल उत्पादनमा लगानी गर्ने निर्णय गरे ।
सुरुवातमा यो निर्णय सहज थिएन । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने, उत्पादन प्रविधि र गुणस्तर व्यवस्थापनमा लगानी गर्नुपर्ने तथा बजारमा स्थापित विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थियो । तर पूर्वी नेपालबाटै स्वदेशी ब्रान्ड स्थापित गर्ने लक्ष्यसहित उनले उद्योग अघि बढाए ।
दुई दशकभन्दा लामो अवधिमा पीएलओको उत्पादन र बजार दुवै विस्तार भएका छन् । कम्पनीले पीएलओसँगै स्टार, मेगा र सुरक्षाजस्ता ब्रान्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्दै आएको छ । मोटरसाइकलदेखि चारपांग्रे सवारीसाधन, ट्र्याक्टर, औद्योगिक मेसिनरी तथा विभिन्न उपकरणमा प्रयोग हुने लुब्रिकेन्ट यसको उत्पादन सूचीमा छन् ।
इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयल, कुल्यान्टलगायत विभिन्न प्रकारका ग्रिज कम्पनीका उत्पादन हुन् । पछिल्लो समय बजारको माग र सवारीसाधन तथा उद्योगमा प्रयोग हुने प्रविधिअनुसार उत्पादनको विविधीकरणमा जोड दिइरहेको उद्यमी दुलालको भनाइ छ ।
पीएलओमा वार्षिक करिब १ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार हुन्छ । उद्योगमा २ सय १२ जनाभन्दा बढी श्रमिक तथा कर्मचारी कार्यरत छन् । ‘स्थापना हुँदाका तुलनामा अहिले उत्पादनको विविधता, बजारको पहुँच र रोजगारीको आकार निकै फराकिलो भएको छ,’ कम्पनीका प्रबन्ध निर्देशक रहेका दुलाल भन्छन्, ‘हामी देशकै अग्रणी कम्पनी बन्ने दौडमा छौं ।’
उद्योग सुरु गर्दा ताका बजारमा विदेशी ब्रान्डको दबदबा थियो । नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास जित्नु नै सबैभन्दा ठूलो चुनौती थियो । ‘गुणस्तर र बजारप्रतिको प्रतिबद्धताले अहिले स्वदेशी उत्पादनले पनि विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनेको छ,’ उनले भने ।
वार्षिक १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार, २१२ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी पीएलओले आफ्नो उत्पादनलाई देशभर पुर्याउन वितरण सञ्जाल विस्तार गरेको छ । सुरुमा पूर्वी नेपालका बजारमा केन्द्रित कम्पनी अहिले देशका विभिन्न सहर तथा ग्रामीण बजारसम्म पुगेको छ । यसको वितरण प्रणालीमा डिलर, वितरक र खुद्रा विक्रेता जोडिएका छन् । यसले कम्पनीलाई सवारीसाधनको बजारसँगै कृषि र औद्योगिक क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्न सहयोग पुगेको दुलालको भनाइ छ ।
पीएलओको आगामी व्यावसायिक योजनामा निर्यात विस्तार पनि छ । कम्पनीले भारत र बंगलादेशका बजारमा आफ्ना उत्पादन पुर्याउने तयारी भइरहेको दुलाल बताउँछन् । नेपाली बजारमा स्थापित ब्रान्डलाई छिमेकी मुलुकमा विस्तार गर्न सके स्वदेशी उद्योगको उत्पादन क्षमता उपयोग हुनुका साथै विदेशी मुद्रा आर्जनको अवसर पनि सिर्जना हुने उनको भनाइ छ । ‘नेपालमा मात्रै बजार खोजेर पुग्दैन । हाम्रो उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्नुपर्छ । भारत र बंगलादेशमा बजार विस्तार गर्ने तयारी त्यसैको हिस्सा हो,’ उनले भावी योजना सुनाए ।
पीएलओले कच्चा पदार्थ छनोटदेखि उत्पादन प्रक्रिया र अन्तिम वस्तुको गुणस्तर परीक्षणसम्म विशेष ध्यान दिँदै आएको दुलाले जनाए । सवारीसाधन र मेसिनरीको प्रकृतिअनुसार फरक ग्रेडका लुब्रिकेन्ट उत्पादन गरिन्छन् । बजारको आवश्यकता, इन्जिनको प्रविधि र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन विकासमा कम्पनीले जोड दिएको उनी बताउँछन् ।
कम्पनीले गुणस्तर व्यवस्थापनका लागि आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । सन् २०२३ मार्च ३१ मा अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई) को लुब्रिकेन्ट लाइसेन्सिङ प्रणालीअन्तर्गत लाइसेन्स प्राप्त गरेको कम्पनीसम्बन्धी क्रेडिट रेटिङ प्रतिवेदनमा उल्लेख छ । यसले कम्पनीको उत्पादनलाई निर्धारित प्राविधिक मापदण्डअनुसार बजारमा स्थापित गर्ने प्रयासलाई देखाउँछ ।
उद्योगको विस्तारसँगै पीएलओले उत्पादन क्षमतामा पनि लगानी बढाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको प्रतिवेदनअनुसार विराटचोकस्थित उद्योगको दैनिक जडित उत्पादन क्षमता लुब्रिकेन्टतर्फ ३६ हजार किलोग्राम र ग्रिजतर्फ १२ हजार ८ सय किलोग्राम छ । यसले कम्पनीको औद्योगिक उत्पादनको आकार र बजार माग धान्ने क्षमताको संकेत गर्छ ।
भारत र बंगलादेशमा बजार विस्तारको तयारी, स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य कम्पनीले उत्पादन क्षमता विस्तारसँगै नयाँ प्रकारका लुब्रिकेन्ट उत्पादनमा पनि जोड दिएको छ । गत वर्ष औद्योगिक ग्रेडको इन्जिन आयल उत्पादन सुरु गरेको कम्पनीले यसअघि यस्तो आयल भारत तथा तेस्रो मुलुकबाट आयात हुँदै आएको जनाएको थियो । स्वदेशमै उत्पादन हुन थालेपछि औद्योगिक क्षेत्रमा प्रयोग हुने केही लुब्रिकेन्टको आयात प्रतिस्थापन गर्ने सम्भावना बढेको कम्पनीको दाबी छ ।
लुब्रिकेन्ट उत्पादनमा प्रयोग हुने कच्चा तेल र अन्य आवश्यक रासायनिक पदार्थ भने विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य, ढुवानी खर्च र विनिमय दरको उतारचढावले उत्पादन लागतमा प्रभाव पार्ने गरेको दुलाल बताउँछन् ।
पीएलओको विस्तारले उत्पादन र कारोबारसँगै रोजगारी पनि सिर्जना गरेको छ । कम्पनीमा अहिले २ सय १२ जनाभन्दा बढी कर्मचारी तथा श्रमिक कार्यरत रहेको दुलालले जनाए । उद्योग स्थापनाको सुरुआती समयदेखि काम गर्दै आएका केही कर्मचारी अहिले पनि संस्थामा आबद्ध छन् ।
श्रमिकको अनुभव र संस्थाप्रतिको अपनत्वलाई उद्योग सञ्चालनको महत्त्वपूर्ण आधार मान्ने दुलाल कर्मचारी व्यवस्थापनमा पारिवारिक व्यवहारलाई प्राथमिकता दिने गरेको बताउँछन् । उत्पादन उद्योगमा दक्ष जनशक्ति टिकाइराख्न पारिश्रमिकसँगै सम्मान, सुरक्षा र विश्वास आवश्यक हुने उनको भनाइ छ । राज्यलाई कर तिरेर कानुनी प्रक्रियाभित्र रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।