Trending
Prev Story
Next Story

जुम्ली मार्सीको बढ्दो बजार माग, घट्दो उत्पादन

Ekantipur •
November 03, 2026 • 03:31 AM
1
1 reads 0 reactions

गाउँको चुलाेदेखि सहरका होटल र अन्तर्राष्ट्रिय बजारसम्म लोकप्रियता बढ्दै गए पनि रोगकिराको प्रकोप र उत्पादन लागतले किसानलाई मार्सी धान उत्पादन गर्न चुनौती बढ्दै गएको छ ।

जुम्ली मार्सीको बढ्दो बजार माग, घट्दो उत्पादन

गाउँको चुलाेदेखि सहरका होटल र अन्तर्राष्ट्रिय बजारसम्म लोकप्रियता बढ्दै गए पनि रोगकिराको प्रकोप र उत्पादन लागतले किसानलाई मार्सी धान उत्पादन गर्न चुनौती बढ्दै गएको छ ।

सुर्खेत — जुम्ला तातोपानीका पूर्णचन्द्र न्यौपानेले करिब पाँच रोपनीमा मार्सी धान खेती गरेका छन् । अहिले उनको पाँच जनाको परिवार नै धान भिर्त्याउन व्यस्त छ । गत वर्ष नौ क्विन्टल मार्सी उत्पादन गरेका उनलाई यस वर्ष पनि त्यसकै हाराहारी फल्ने अनुमान छ ।

गत वर्ष उत्पादितमध्ये सात क्विन्टल मार्सी चामल नेपालगन्ज र सुर्खेत पठाएर डेढ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । ‘दुई साताअघि नै धान भित्र्याइसक्नुपर्ने थियो,’ उनले भने, ‘दसैंका कामले बल्ल फुर्सद मिल्यो, पानी परेकाले अब २/३ दिनमा सकिन्छ होला ।’ बिक्रीका लागि बजार खोज्नुपर्ने अवस्था छैन । यसपटक नेपालगन्जका व्यापारीले पाँच क्विन्टल अर्डर गरिसकेका छन् । गत वर्ष प्रतिकिलो दुई सय १० रुपैयाँमा मार्सी चामल नेपालगन्ज र सुर्खेत पठाएको उनले सुनाए ।

न्यौपाने मात्र होइन, जुम्लाका अधिकांश किसान अहिले मार्सी धान काट्ने, चुट्ने र दाइँ हाल्ने काममा व्यस्त छन् । दसैंअघि नै धान भित्र्याइसकेका किसानलाई अहिले कुटानीको चटारो छ । चन्दननाथ–३ का जयशंकर देवकोटाले बारीमै आएर व्यापारीले मार्सी धान खरिद गर्न थालेको बताए । उनका अनुसार सदरमुकाम खलंगामा अहिले मार्सी चामल प्रतिकिलो एक सय ८० रुपैयाामा बिक्री भइरहेको छ । ‘हामीलाई खेती गर्न बरु मुश्किल छ, धान काटिनसक्दै खरिदका लागि अर्डर आइसक्छ,’ उनले भने, ‘माग पूरा गर्नै धौ–धौ छ, त्यसमाथि रोगकिराले सताएर समस्या भयो ।’ सात रोपनीमा खेती गरेका उनले यस वर्ष अनुकूल वर्षा भएकाले उत्पादन राम्रो भएको जानकारी दिए । गत वर्ष झन्डै नौ क्विन्टल मार्सी चामल सुर्खेत पठाएका थिए । प्रतिकिलो दुई सय रुपैयााका दरले बिक्री गरेर एक लाख ८० हजार रुपैयाँ कमाएको उनले बताए ।

दसैंलगत्तै हिमाली जिल्लाका बासिन्दालाई मार्सी धान थन्क्याउन भ्याइनभ्याई छ । खेती स्याहारेर नभ्याउँदै धान–चामल बुकिङ भइसकेको छ । विभिन्न सहकारी संस्था र कृषि कम्पनीमार्फत स्थानीयले मार्सी चामल बजारमा पठाइरहेका छन् । हुम्लाको सिमकोट–७ का कालीबहादुर रोकायाले सात रोपनीमा मार्सी फलाएका छन् । गत वर्ष सात क्विन्टल धान काठमाडौं पठाएर उनले डेढ लाख रुपैयाँ आम्दानी गरेका थिए । ‘न भाउको चिन्ता छ न बजारकै,’ उनले भने, ‘खेती गर्नै दुःख भएकाले मागअनुसार उत्पादन गर्नै समस्या भयो ।’

केही वर्षयता प्रदेश राजधानी वीरेन्ऽनगर र छिमेकी सहर नेपालगन्जका ठूला होटलले पनि मार्सीलाई आफ्नो मेनुमा समेटेका छन् । ‘हाम्रो होटलको मेनुमा मार्सी छुट्ने कुरै भएन,’ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले भने, ‘स्वास्थ्य र स्वादको समिश्रण भएकाले कर्णालीको रैथाने उत्पादन ग्राहकको पहिलो रोजाइ भइरहेको छ ।’ उनका अनुसार सिद्धार्थ होटलमा भात र खीर बनाउन मार्सी चामल बढी प्रयोग हुन्छ ।

वीरेन्द्रनगरस्थित होटल डुक्कुका सञ्चालक रमेश शाहीले मार्सीको सेल, भात, खीर र रोटी ग्राहकले अत्यधिक रुचाएको बताए । होटलमा ६ महिनाका लागि मार्सीका परिकारको मेनु बनाउने गरेको उनले जानकारी दिए । ‘वर्षभरि पुग्नेगरि उत्पादनै हुँदैन,’ उनले भने, ‘त्यसैले कात्तिकदेखि वैशाखसम्म मात्र मार्सीका परिकार बनाउने गरेका छौं ।’

काठमाडौंलगायत मुलुकका अन्य ठूला सहरमा पनि मार्सीको माग छ । काठमाडौंको ठमेलमा कर्णाली अर्गानिक पसल सञ्चालन गरिरहेका जुम्लाका हरिकृष्ण भण्डारीले प्रतिकिलो दुई सय ५० देखि तीन सय रुपैयाासम्ममा मार्सी चामल बिक्री भइरहेको बताए । ‘मेनुमा राखेपछि माग त हुने नै भयो,’ उनले भने, ‘उत्पादन कम, माग धेरै भएकाले पुर्‍याउनै धौ भइसक्यो ।’ गत वर्ष १५ मेट्रिक टन मार्सी चामल बिक्री गरेका उनले त्यसमध्ये तीन टन जापान, कोरिया, अमेरिका र बेलायतसमेत पठाएको बताए ।

जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले यस वर्ष करिब ३० लाख रुपैयाा बराबरको मार्सी चामल संकलन गरिसकेको छ । सहकारीले काठमाडौं, भैरहवा, बुटवल, चितवन, पोखरा, विराटनगर र धरानलगायत सहरमा चामल पठाइरहेको व्यवस्थापक ऋषिराम पाण्डेले बताए । ‘स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिएपछि अन्तर्राष्ट्रिय बजारमा समेत माग छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।’

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा पाँच हजार दुई सय ८० हेक्टरमा मार्सी खेती भइरहेको छ । गत वर्ष नौ हजार सात सय २५ मेट्रिक टन उत्पादन भएको थियो । जुम्लामा दुई हजार आठ सय ८८ हेक्टरमा खेती गरिएकोमा गत वर्ष छ हजार एक सय २५ मेट्रिक टन उत्पादन भएको थियो । मुगुमा एक हजार ६० हेक्टर र हुम्लामा एक हजार तीन सय ४० हेक्टरमा मार्सी खेती हुने गरेको मन्त्रालयको तथ्यांक छ । गत वर्ष मुगुमा एक हजार पाँच सय ९० मेट्रिक टन र हुम्लामा दुई हजार १० मेट्रिक टन मार्सी धान उत्पादन भएको थियो ।

मन्त्रालयका कृषि विकास अधिकृत रमेश खड्काका अनुसार जुम्लामा प्रतिहेक्टर २ दशमलव १२ मेट्रिक टन तथा मुगु र हुम्लामा प्रतिहेक्टर डेढ क्विन्टलदेखि १ दशमलव ८ मेट्रिक टनसम्म मार्सी धान उत्पादन हुने गरेको छ।

कर्णालीमा मार्सी उत्पादनको चक्र अन्य धानको भन्दा भिन्न छ । किसानले ‘क्यालेन्डर’ बनाएरै खेती गर्ने गरेको जुम्लाका अगुवा किसान जयनन्द पाण्डेले बताए । उनका अनुसार चन्दननाथ बाबाले मार्सी धानको खेती सुरु गरेको जनविश्वास छ । ‘उहाँको पालादेखि अरु धानभन्दा यसको उत्पादन प्रक्रिया फरक छ,’ उनले भने, ‘त्यसैले रोपाइँदेखि गोडमेल मार्सी क्यालेन्डरअनुसार गरिन्छ ।’

उनका अनुसार किसानले चैत १२ गते बीउ केलाउने र भिजाउने गर्छन् । उक्त दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । प्रत्येक वर्ष चैत १६ गते भिजाएको बीउ सुकाउने र २० गते ब्याडमा छर्ने चलन रहेको उनले जानकारी दिए । कृषि प्राविधिक लछिराम बुढथापाका अनुसार कर्णालीमा चन्दननाथ–१, ३ र लेकाली जातको मार्सी धान खेती भइरहेको छ । समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटर उचाइमा रहेको छुमचौर जिउलोसहित जुम्लाका विभिन्न ठाउँमा मार्सी खेती हुने गरेको उनले बताए ।

पछिल्लो समय रोगकिराको संक्रमणले मार्सी धानको उत्पादन घटिरहेको छ । ‘दुःख र खर्च बढ्यो गयो, उत्पादन घट्यो,’ अगुवा किसान पाण्डेले भने, ‘त्यसैले सदरमुकाम आसपास मार्सीको सट्टा अन्य जातका धानको खेती बढेको छ ।’ गत वर्ष भित्र्याउने तयारीमा रहेको धानबाली असिनाले नष्ट गर्दा आफूहरूको दुःखसमेत नउठेको उनले गुनासो गरे ।

जुम्लामा पाँच वर्षअघिसम्म प्रतिरोपनी डेढदेखि दुई क्विन्टल मार्सी उत्पादन हुने गरेको थियो । अहिले मल, बीउ, रोगकिराको प्रकोप र सिँचाइलगायतका समस्याका कारण बढीमा प्रतिरोपनी एक क्विन्टल मात्रै उत्पादन हुने गरेको कृषि प्राविधिक बुढथापाले बताए । ‘जुम्लाका अधिकांश खेत ठूला भएकाले धेरै जनशक्ति लगाउनुपर्छ,’ उनले भने, ‘त्यसमा मल, बीउ, गोडमेललगायत खर्च जोड्दा किसानलाई आर्थिक भार परेको हो । २/३ वर्षयता ब्लास्ट रोगले यसको उत्पादन घट्दै गयो ।’ उनका अनुसार औसतमा किसानले एक रोपनी क्षेत्रफलमा मार्सी उत्पादन गर्न चार हजार नौ सय ६५ रुपैयाँ खर्च गर्छन् ।

कृषि प्राविधिकका अनुसार पछिल्लो दुई–तीन वर्षयता मार्सीमा नेक ब्लास्ट (घाँटी मरुवा) को प्रकोप देखिएको छ । ‘नेक ब्लास्टले धानबालीको उत्पादनमा ठूलो गिरावट ल्याएको छ, यो म्याग्नाप्रोथे ग्रेसिया नामक ढुसीका कारण लाग्छ,’ बुढथापाले भने, ‘यो ढुसीले जमिनको सतहभन्दा माथि रहेको धानका सबै भागमा क्षति पुर्‍याउँछ । यो रोग लाग्दा पातमा ससाना सेता टीका बीचमा भएका लाम्चा खैरा थोप्ला देखा पर्दछन् र क्रमशः बोट सुक्दै जान्छ । यो रोग लागिसकेपछि खैरो भएको आाख्लाबाट बाला भााचिएजस्तो देखिने र बाला सुकेर सेतो या खैरो हुने गर्छ ।’ यसले धानको उत्पादनमा गिरावट ल्याउने र उत्पादित धानको गुणस्तरसमेत घटाउने उनले बताए । रोगकिराको प्रकोपका कारण मार्सी खेतीप्रति किसानको आकर्षण घटिरहेको उनको भनाइ छ ।

मार्सी धान संकटमा पर्न थालेपछि जुम्लाका किसानले बिमा गर्न थालेका छन् । यसअघि स्याउमा गरिएको बिमा सफल भएपछि बिमा कम्पनीले कृषि विकास कार्यालयमार्फत २०७९ सालदेखि मार्सीको बिमा गर्न थालेका हुन् । ‘दुःख धेरै हुने तर उत्पादन घट्दै गएपछि मार्सीको खेती छाडेका थियौं,’ पातारासीका किसान कृष्णबहादुर महताराले भने, ‘बिमाले रोग, असिना, खडेरी, सुक्खा, धान झर्नेलगायत समस्याबाट राहत दिएको छ ।’

महताराले साढे पाँच रोपनी जग्गामा मार्सी धान रोपेका छन् । ६ महिनाअघि नै प्रिमियमबापत तीन सय ३५ रुपैयाा तिरेर धानखेतको बिमा गरेको उनले बताए । मार्सी धान नभित्र्युाउँदासम्म कुनै क्षति भए २६ हजार पाँच सय रुपैयाँ क्षतिपूर्ति पाउने उनको भनाइ छ । उनका छिमेकी जोखबहादुर महताराले झन्डै चार रोपनी जग्गामा लगाएको मार्सी धानको बिमा गरेका छन् । दुई सय ६० रुपैयाा प्रिमियम तिरेर बिमा गरेका उनले धानमा केही समस्या आए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउने जानकारी दिए । ‘अहिले बाली काटिरहेका छौं, बाली नभित्र्याउँदासम्म असिनापानी परेर वा केही भएर क्षति पुर्‍याए पनि केही समस्या छैन,’ उनले भने, ‘केही भए बिमाले क्षतिपूर्ति दिइहाल्छ ।’

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले कालीमार्सी धानलाई सुरक्षित गर्न बिमा कार्यक्रम थालिएको र प्रभावकारी बन्दै गएको बताए । उनका अनुसार जुम्लामा प्रतिरोपनी मार्सी धान खेती गर्न किसानले औसतमा चार हजार नौ सय ६५ रुपैयाँ खर्च गर्छन् । ‘अन्तर्राष्ट्रिय बजारमा समेत माग बढेपछि मार्सी जोगाउनैपर्ने भयो,’ उनले भने, ‘अहिले कृषि कार्यालयमार्फत नै विभिन्न बिमा कम्पनीसँग सहकार्य गरेर बिमा कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं ।’ बिमाबापत सरकारले व्यहोर्ने रकम कटाएर किसानले प्रतिरोपनी ५० रुपैयाा तिर्नुपर्ने उनले जानकारी दिए ।

प्रदेश सरकार गठनपछि २०७४ फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको थियो । त्यसको कार्यान्वयनका लागि अर्गानिक कृषि मिसन कार्यक्रम सञ्चालन निर्देशिका–२०७६ जारी गरियो । उक्त निर्देशिकामा प्रदेशभित्र उत्पादन हुने रैथाने बालीको प्रवर्द्धन कार्यक्रमअन्तर्गत मार्सीको संरक्षण, सम्वर्द्धन तथा बजारीकरणसम्बन्धी व्यवस्था गरिएको छ । त्यसका लागि प्रत्येक वर्ष जिल्ला कृषि विकास कार्यालयमार्फत जुम्ला, मुगु र हुम्लामा मार्सी धानको खेती, विस्तार र प्राविधिक सहयोगका लागि एकदेखि डेढ करोड रुपैयाा खर्च भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णालीमा मात्रै पाइने नौ प्रकारका रैथाने बालीमध्ये मार्सी पनि एक हो । मार्सीको ब्रान्डिङ गरी ‘मूल्यवान’ लोगोसहित संरक्षण अभियान थालिएको मन्त्रालयका सचिव सञ्जीवकुमार कर्णले बताए । ‘ब्याड राख्दादेखि नभित्र्यात्याउँदासम्म किसानले प्राविधिक सहयोग पाइरहेका छन्, खेतीका लागि कृषि प्राविधिकलाई किसानकै बारीमा परिचालन गरिरहेका छौं,’ उनले भने, ‘किसानलाई बीउ र प्रांगारिक मलमा अनुदान दिइएको छ, कृषि उपकरण सहयोग पनि भइरहेको छ ।’ उनका अनुसार मन्त्रालयले मार्सी धानको खेती र बजारीकरणका लागि अहिलेसम्म १३ करोड रुपैयाा खर्च गरेको छ ।

मन्त्रालयका अनुसार कृषि विकास कार्यालयले तीन जिल्लाका १७ स्थानीय तहलाई पकेट क्षेत्र घोषणा गरी किसानलाई विभिन्न सहयोग गरिरहेको छ । मार्सी खेती र बजारीकरणका लागि यस वर्ष मन्त्रालयले चार करोड ३० लाख रुपैयाा विनियोजन गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि मार्सी चामलसहित कर्णालीका रैथाने बाली सिमी, चिनो, कागुनो र फापर खरिद गरी बिक्री गरिरहेको कम्पनीका प्रादेशिक प्रमुख केशव बुढाले बताए । उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष हुम्ला र जुम्लाबाट झन्डै तीन हजार क्विन्टल मार्सी खरिद गरेको थियो । बजारमा मार्सी चामलको मूल्य प्रतिकिलो तीन सय रुपैयाासम्म भए पनि खाद्य कम्पनीले दुई सय २५ रुपैयाामा बिक्री गरिरहेको उनले बताए । झन्डै एक हजार वर्षअघि दत्तात्रय चन्दननाथ मन्दिर स्थापना भएदेखि नै जुम्लामा चन्दननाथ बाबाले कालीमार्सी धान भिर्त्याएको विश्वास गरिन्छ । चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार विक्रम सम्वत् ११९८ सालदेखि चन्दननाथ बाबाले कालीमार्सी धान उत्पादन गरेको दिनको सम्झनामा चैत २० गते विशु पर्व मनाउने चलन छ । ‘राणाकालमा १९०४ सालदेखि २००७ सालसम्म हुलाकमार्फत प्रतिदिन एक माना चामल राजदरबारमा पठाइन्थ्यो,’ उनले भने, ‘त्यसबेलादेखि नै यसको लोकप्रियता अहिलेसम्म कायम छ ।’ अर्गानिक र स्वास्थ्यवर्द्धक मानिएकाले पनि यसको माग बढिरहेको उनको भनाइ छ ।

कृष्णप्रसाद गाैतम कान्तिपुरकाे सुर्खेत संवाददाता हुन् । उनी सुर्खेतमा बसेर कर्णाली प्रदेशका सामाजिक र राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्‍याएको छ । इरान युद्धका कारण मध्यप...

#उत्पादन
Compare →
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#उत्पादन
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#उत्पादन
Compare →

Related Stories

Business & Economy
Build #2611