Trending
Prev Story
Next Story

विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

Ekantipur •
November 02, 2026 • 05:32 PM
1
1 reads 0 reactions

ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ।

विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ।

युरोप र दक्षिण अमेरिकी महादेशमा बढ्दो दक्षिणपन्थी लोकप्रियतावादको पारोलाई ब्राजिलको हालै सम्पन्न चुनावले तत्कालका लागि ठन्डा पारिदिएको छ । त्यहाँ लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् । यो निर्वाचन परिणामले लोकतन्त्रको अर्थ, अर्बपति प्रविधि कम्पनीहरूको राजनीतिक शक्ति, अमेरिकी दबाब र वामपन्थी राजनीतिका सीमाबारे विश्वव्यापी बहसमा नयाँ अध्याय थपेको छ । साथै, विश्व राजनीतिमा सन्देश दिएको छ– लोकतन्त्रको भविष्यबारे निर्णय गर्ने अधिकार अन्तत: जनताको हो, शक्तिशाली सरकार, अर्बपति वा सामाजिक सञ्जालका कम्पनीहरूको होइन ।

विश्वभर पुस्तान्तरण राँको दन्किरहेका बेला ब्राजिलमा ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय युवा दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । अर्थशास्त्री तथा राजनीतिक टिप्पणीकार पल क्रुगम्यानले यस परिणामलाई ‘ब्राजिल दबाबसामु झुकेन’ भनेका छन् । त्यस्तै, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसले ‘लुलाको विजय ब्राजिलको सीमाभन्दा बाहिरसम्म प्रतिध्वनित हुने र यो ग्लोबल साउथ तथा विश्वभरका प्रगतिशील शक्तिहरूको विजय’ भन्दै खुसी प्रकट गरेका छन् ।  त्यसो त भर्खरै मध्यावधि चुनाव घोषणा गरेका स्पेनका वामपन्थी प्रधानमन्त्री प्रद्रो सान्चेजले लुलाको विजयलाई प्रगतिशील राजनीतिक पुनरागमनको सुरुवातका भन्दै ‘ब्राजिलमा भएको राजनीतिक परिवर्तन स्पेनमा पनि सम्भव हुन सक्ने’ आशा राखेका छन् ।

तर अमेरिकी राष्ट्रपति ट्रम्प र उनकै अनुयायी अर्जेन्टिनी राष्ट्रपति मिलेईको प्रतिक्रियाले ब्राजिलको निर्वाचनले ल्याटिन अमेरिकाको वैचारिक विभाजनलाई सतहमा ल्याएको छ । ट्रम्पले बोल्सोनारोको शैलीमै नतिजामाथि प्रश्न उठाए भने मिलेईले तत्काल बधाई नदिएर मौनता साँधे । यसले वैश्विक राजनीतिक ध्रुवीकरणलाई मज्जैले प्रतिबिम्बित गरेको मान्न सकिन्छ ।

यदि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको नेतृत्व गर्ने अमेरिकी प्रशासनले अर्को देशको आन्तरिक राजनीतिक प्रक्रियामा दबाब दिन्छ, यदि सामाजिक सञ्जालका विशाल कम्पनीहरूले राजनीतिक सामग्रीको पहुँच निर्धारण गर्छन् र यदि शक्तिशाली राजनीतिक परिवारहरू निर्वाचन परिणामलाई आफ्नो अनुकूल बनाउन खोज्छन् भने लोकतन्त्रको वास्तविक अर्थ के रहन्छ भन्ने गम्भीर प्रश्नको ब्राजिलले गतिलो जवाफ दिएको छ ।

लुलाको जीवनकथा असाधारण छ । सन् १९४५ मा ब्राजिलको गरिब किसान परिवारमा जन्मिएका उनी बाल्यकालमै राम्रो जीवनको खोजीमा परिवारसँग साओ पाउलो पुगे । दुई कक्षाबाटै पढाइ छाडेर जुत्ता पालिस गरे, सडकमा सामान बेचे र कारखानामा काम गरे ।

धातु उद्योगमा काम गर्ने क्रममा उनले एउटा औंला गुमाए । तर यही औद्योगिक श्रमको यातनाको हैरानीले उनलाई श्रमिक अधिकार, सुरक्षित कार्यस्थल र उचित पारिश्रमिकको संघर्षसँग जोड्यो । सन् १९७० को दशकमा उनी धातु कामदारहरूको ट्रेड युनियन नेतृत्वको अग्रभागमा उभिए । देश सैनिक तानाशाहीको अधीनमा जोतिइरहेका बेला हडताल र श्रमिक आन्दोलनको नेतृत्व गर्दै सन् १९८० मा वर्कर्स पार्टी (पीटी) स्थापना गर्न पुगे ।

कृषि सुधार, सामाजिक सुरक्षा, सार्वजनिक सेवाको विस्तार र आर्थिक असमानता घटाउनु पीटीका प्रमुख माग थिए । तर राष्ट्रपतीय निर्वाचनमा लगातार तीन पटक पराजित भएपछि लुलाले आफ्नो राजनीतिक रणनीति परिवर्तन गर्दै सन् २००२ को निर्वाचनमा व्यवसायी, मध्यमवर्ग र मध्यमार्गी राजनीतिक शक्तिसँग सहकार्य गर्दै व्यापक गठबन्धन निर्माण गर्न सफल भए । त्यसपछि उनको यात्रा विश्वकै चर्चित राजनीतिक पुनरागमनमध्ये एक बन्यो ।

सन् २००२ र २००६ मा राष्ट्रपति निर्वाचित भएका लुलाले सामाजिक कल्याणका कार्यक्रम विस्तार गरे, गरिबी घटाउने नीतिलाई प्राथमिकता दिए र ब्राजिलको अन्तर्राष्ट्रिय भूमिका बलियो बनाएको श्रेय पाए । उनको सरकारले अघि बढाएको ‘बोल्सा फामिलिया’ कार्यक्रमले विपन्न परिवारलाई नगद सहायता उपलब्ध गराउँदा बालबालिकाको विद्यालय उपस्थिति, खोपको पहुँच र गरिब परिवारको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्‍यो । उनले गरिबी घटाउने उल्लेखनीय काम गरिरहँदा, जमिनको स्वामित्व, सम्पत्तिको असमान वितरण र आर्थिक शक्तिको केन्द्रीकरणजस्ता संरचनात्मक समस्यालाई आमूल रूपमा बदल्न नसक्ने विरोधाभास झेलिरहेका छन् । यद्यपि उनको पहिलो अवधिका ८ वर्षे कार्यकालमा झन्डै २२ करोड बढी जनसंख्या भएको देशका चार करोड बढी जनसंख्या गरिबीको रेखामुनिबाट माथि उठ्न सफल भएको विश्व बैंकको तथ्यांकले बताउँछ ।

ब्राजिलको निर्वाचनको अन्तर्राष्ट्रिय महत्त्व बुझ्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापार नीतिलाई बेवास्ता गर्न सकिँदैन । जुलाई २०२५ मा ट्रम्प प्रशासनले ब्राजिलबाट आयात हुने धेरै वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गर्‍यो । ट्रम्पले उक्त निर्णयलाई ब्राजिलमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि भइरहेको कानुनी प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडेका थिए । रोयटर्सका अनुसार ट्रम्पले बोल्सोनारोमाथिको मुद्दालाई राजनीतिक उत्पीडनका रूपमा चित्रण गर्दै ब्राजिलको न्यायिक प्रक्रियाको आलोचना गरे । यो घटनाले व्यापारिक नीतिको राजनीतिक प्रयोगको तमासा मञ्चन गर्‍यो ।

कुनै पनि लोकतान्त्रिक देशको अदालतले पूर्वराष्ट्रपतिमाथि कानुनी प्रक्रिया चलाउँदा बाह्य शक्तिले त्यसको परिणाम आफ्नो राजनीतिक प्राथमिकताअनुसार हुनुपर्ने माग गर्नु राष्ट्रिय सार्वभौमिकताको प्रश्न हो । यदि कुनै शक्तिशाली देशले आफूलाई मन नपरेको न्यायिक निर्णयका कारण अर्को देशका उद्योग, श्रमिक र निर्यातकर्तालाई आर्थिक दण्ड दिन सक्छ भने साना तथा मध्यम अर्थतन्त्र भएका देशहरूको राजनीतिक स्वतन्त्रता कति सुरक्षित रहन्छ ? यो प्रश्न दुनियाँभरका साना तथा मध्यम अर्थतन्त्र भएका देशहरूका लागि समेत गम्भीर छ ।

लुलाले अमेरिकी निर्णयको विरोध गर्दै ब्राजिलको सार्वभौमिकता र न्यायिक स्वतन्त्रताको रक्षा गर्न दृढतापूर्वक उभिँदै अन्तर्राष्ट्रिय बहुपक्षीयता र विविधीकरणलाई अघि बढाएको घटना अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक डिपार्चरको उल्लेखनीय वैश्विक उपक्रमसमेत मानिन्छ । यद्यपि ब्राजिलको निर्वाचन परिणामलाई ट्रम्पको नीतिविरुद्धको जनमतसंग्रह मात्र भन्न मिल्दैन । मतदाताले आर्थिक अवस्था, सामाजिक कार्यक्रम, सुरक्षा, नेतृत्व र घरेलु राजनीतिसम्बन्धी अनेक कारणका आधारमा मतदान गरेका हुन्छन् । तथापि, अमेरिकी दबाबको पृष्ठभूमिमा आएको लुलाको विजयले राष्ट्रिय स्वायत्ततासम्बन्धी बहसलाई थप बल दिएको छ ।

सञ्जाल अर्बपति र अदृश्य राजनीतिक शक्ति

ब्राजिलको चुनावमा सबैभन्दा महत्त्वपूर्ण पक्ष सामाजिक सञ्जालका ठूला कम्पनीहरूको भूमिकाबारे उठाइएको प्रश्न हो । डिजिटल प्लाटफर्महरू सार्वजनिक बहसको संरचना निर्धारण गर्ने शक्तिशाली संस्थाहरू बनेका छन् । ब्राजिलको निर्वाचनअघि मेटाका आन्तरिक सन्देशबारे प्रकाशित रिपोर्टले यही चिन्ता बढाएको ब्राजिलका मिडियाहरूले प्रमुखताका साथ उठाउँदै आएका छन् ।

रोयटर्सका अनुसार ब्राजिलको अखबार फोल्हा दे साओ पाउलोले समीक्षा गरेका आन्तरिक सन्देशहरूमा मेटाका कर्मचारीहरूले लुलाका इन्स्टाग्राम खातामा लगाइएका प्रतिबन्धले ती खातालाई प्रतिकूल असर पारेको स्वीकार गरेका छन् । रिपोर्टअनुसार प्लाटफर्मले फ्लाभियो बोल्सोनारोको प्रोफाइल र उनको ह्वाट्सएप च्यानललाई पनि सिफारिस गरेको थियो ।

प्रविधि ओलीगार्कहरूको धोखाधडीका कारण कुनै प्लाटफर्ममा एउटा उम्मेदवारको सामग्रीको पहुँच घट्छ र अर्को उम्मेदवारको सामग्री स्वत: बढी सिफारिस हुन्छ भने त्यसको राजनीतिक प्रभाव के हुन्छ ? यस्तो प्रभाव जानाजानी सिर्जना गरिएको थियो कि प्राविधिक प्रणालीको असफलता थियो ? त्यसको स्वतन्त्र परीक्षण कसरी गर्न सकिन्छ ? मेटाले जानाजानी बोल्सोनारोलाई जिताउन खोजेको प्रमाणित भइसकेको दाबी गर्नुभन्दा पनि, एउटै दिशामा बारम्बार देखिने प्राविधिक समस्यालाई सहजै संयोग मानेर बेवास्ता गर्न नहुने अमेरिकी मिडिया सम्पादकीयहरूले समेत गम्भीरताका साथ उठाउनुले नै वैश्विक लोकतान्त्रिक वातावरणप्रतिको चिन्ताको स्तर मापन गर्न सकिन्छ ।

यदि निजी कम्पनीहरूले कुनै कानुनी आदेश वा सार्वजनिक जवाफदेहिताबिना राजनीतिक सामग्रीको पहुँच नियन्त्रण गर्न सक्छन् भने भविष्यमा कुनै पनि देशको निर्वाचन प्रभावित हुन सक्छ । यसैले निजी डिजिटल शक्तिलाई पनि सार्वजनिक उत्तरदायित्वको दायराभित्र ल्याउनुपर्ने गम्भीर र जटिल चुनौती खडा भएको छ ।

मेटाले लुलाको खातामा देखिएका समस्या प्राविधिक भएको भनिरहँदा सम्भव छ, कुनै समस्या साँच्चै प्राविधिक नै होस् । ठूला डिजिटल प्लाटफर्ममा स्वचालित प्रणाली, सामग्री नियन्त्रण र सिफारिस एल्गोरिदम जटिल हुन्छन् । तर प्राविधिक गल्तीको प्रभाव राजनीतिक रूपमा निष्पक्ष हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

लुलाको विजयलाई सबै समस्या समाधान गर्ने राजनीतिक चमत्कारभन्दा पनि उनको निर्णायक चुनावी अभियानले आफ्नै संगठनात्मक क्षमता, सडकस्तरको परिचालन र डिजिटल संवाद विस्तार गरेर मतदातालाई आकर्षित गरेको थियो । अगेंसिया ब्राजिल नामक मिडियाका अनुसार ‘लुलाज आर्मी’ नामको ह्वाट्सएप समूहमा एक करोडभन्दा बढी समर्थक जोडिएका थिए ।

लुलाको पुनरागमनले वामपन्थी राजनीतिलाई अवश्य नै नयाँ ऊर्जा दिन सक्छ । तर उनको राजनीतिक जीवनको एउटा असहज सत्य पनि छ– निर्वाचन जित्नु र आर्थिक शक्तिको संरचना बदल्नु एउटै विषय होइन । उनको पहिलो दुई कार्यकालमा गरिबी घटाउने र सामाजिक सहायता विस्तार गर्ने काम भए । तर भूमि सुधार, सम्पत्तिको पुनर्वितरण र धनी वर्गलाई अत्यधिक लाभ पुर्‍याउने आर्थिक संरचनामा आमूल परिवर्तन हुन भने सकेको छैन । यही अन्तर्यको विवादले लुलाको पार्टीसमेत विभाजन भएको थियो ।

लुलाका समर्थकहरूका अनुसार क्रमिक सुधारले लाखौं मानिसको जीवनमा वास्तविक परिवर्तन गराइरहेको दाबीको जवाफमा आलोचकहरूले सम्झौतामुखी राजनीतिले गहिरो संरचनात्मक परिवर्तनको सम्भावनालाई सीमित गरेको भन्छन् । ब्राजिलजस्तो ठूलो र विविध समाजमा व्यापक गठबन्धन निर्माण नगरी सत्ता प्राप्त गर्न कठिन हुने स्पष्ट छ । तर सत्ता प्राप्त गरेपछि पनि पुराना आर्थिक शक्तिसँग अत्यधिक सम्झौता गर्दा सुधारको गति कमजोर हुँदोरहेछ भन्ने पनि उजागर भइरहेको छ ।

लुलाको चौथो कार्यकालमा उनले सामाजिक सुरक्षा विस्तार गर्न, श्रमिकको जीवनस्तर सुधार गर्न, सार्वजनिक शिक्षा र स्वास्थ्यमा लगानी बढाउन तथा असमानताको संरचनात्मक कारणलाई सम्बोधन गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न निर्णायक हुनेछ । उनको नयाँ कार्यकालको सफलताको मापन केवल ट्रम्प वा बोल्सोनारोविरुद्ध उभिनुमा सीमित हुनु हुँदैन । बरु ब्राजिलका साधारण नागरिकको जीवनमा आउने ठोस परिवर्तनबाट मापन हुन पुगेमा वैश्विक वामपन्थलाई समेत उज्यालो क्षितिज बन्नेछ ।

लोकतन्त्रमा मतदाताले आफ्नो निर्णय गर्ने अधिकार राख्छन् । कुनै शक्तिशाली विदेशी सरकारले आर्थिक दबाब सिर्जना गर्न सक्छ, कुनै राजनीतिक परिवारले आफ्नो प्रभाव प्रयोग गर्न सक्छ र कुनै डिजिटल प्लाटफर्मले सार्वजनिक बहसको स्वरूप प्रभावित गर्न सक्छ । ब्राजिलको निर्वाचनले यस्तो दबाबका बीच पनि मतदाताले फरक निर्णय गर्न सक्ने देखाएको छ । यसको अर्थ ब्राजिलले सबै बाह्य प्रभावलाई पराजित गरिसकेको छ भन्ने होइन । न त त्यहाँको लोकतन्त्र सबै जोखिमबाट मुक्त भएको छ । तर निर्वाचन परिणामले एउटा आधारभूत सिद्धान्तलाई पुन: पुष्टि गरेको छ— राजनीतिक वैधता जनताको मतबाट आउँछ, अर्बपति वा विदेशी नेताको अनुमोदनबाट होइन ।

राजनीतिक परिवर्तनका लागि व्यापक जनसमर्थन आवश्यक हुन्छ । ट्रेड युनियन, सामाजिक आन्दोलन र श्रमिक वर्गमा आधारित राजनीति महत्त्वपूर्ण भए पनि राष्ट्रिय सत्ता प्राप्त गर्न विभिन्न सामाजिक समूहसँग संवाद गर्नुपर्ने हुन्छ । लुलाले आफ्नो राजनीतिक आधार विस्तार नगरेको भए सन् २००२ को विजय र त्यसपछिको पुनरागमन कठिन हुन सक्थ्यो ।

सत्तामा पुग्नु र समाजको संरचना बदल्नु दुई अलग चुनौती बन्ने सन्दर्भमा निर्वाचन जितेपछि पनि संसद्, प्रशासन, आर्थिक शक्ति र पुराना संस्थागत सम्बन्धहरूले सुधारलाई सीमित गर्न सक्छन् । त्यसैले राजनीतिक आन्दोलनले चुनावी गठबन्धनसँगै दीर्घकालीन संगठनात्मक शक्ति पनि निर्माण गर्नुपर्छ ।

सामाजिक सुधारलाई संस्थागत बनाउन कुनै कार्यक्रम एक नेताको लोकप्रियतामा मात्र निर्भर भयो भने सत्ता परिवर्तनसँगै कमजोर हुन सक्छ । गरिबी न्यूनीकरण, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र श्रमिक अधिकारलाई स्थायी बनाउने कानुनी तथा संस्थागत आधार आवश्यक हुन्छ ।

लुलाको सफलता उनको गरिब पृष्ठभूमि र व्यक्तिगत दृढतामा मात्र सीमित छैन । उनको कथा लाखौं मानिसलाई संगठित गर्ने राजनीतिक आन्दोलनको कथा पनि हो । तर त्यस आन्दोलनको दीर्घकालीन सफलता उसले सत्ता प्राप्त गरेपछि कति प्रभावकारी रूपमा परिवर्तनलाई स्थायी बनाउन सक्छ भन्नेमा निर्भर हुनेछ ।

लुलाले एक पटक श्रमिक आन्दोलनको शक्ति प्रयोग गरेर ब्राजिलको राजनीतिक इतिहास बदल्ने बाटो खोलेका थिए । अब उनको अन्तिम राजनीतिक अध्यायले त्यो बाटोलाई कति टाढासम्म लैजान्छ भन्ने निर्णय गर्नेछ । उनको विजयले वामपन्थीहरूलाई फेरि आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ ।

शुभशंकर नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Arthasansar
2w ago
ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला विजयी

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला विजयी

ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक...

#ब्राजिल #लुला #राष्ट्रपतिमा
Compare →
Hamro Patro News
2w ago
ब्राजिलका राष्ट्रपति लुलाद्वारा फ्लाभियो बोल्सोनारोको देश छाड्ने निर्णयको आलोचना

ब्राजिलका राष्ट्रपति लुलाद्वारा फ्लाभियो बोल्सोनारोको देश छाड्ने निर्णयको आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोले देश छाडेको भन्ने खबरप्रति आलोचना गर्दै त्यसलाई ‘लज्जास्पद’ बताउनुभएको छ । मंगलवार रा...

#ब्राजिल #लुला
Compare →
Nagarik News
2w ago
ट्रम्पलाई चुनौती दिँदै लुलाको पुनरागमन

ट्रम्पलाई चुनौती दिँदै लुलाको पुनरागमन

करिब ४४ लाख मतान्तरले भएको यो जितले ब्राजिलको घरेलु राजनीतिसँगै ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव विस्तार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा पनि चुनौती थपेको छ।

#ब्राजिल #लुला
Compare →
Bizshala
2w ago
ब्राजिलको राष्ट्रपतिमा लुलाको पुनरागमन, चौथो कार्यकालका लागि निर्वाचित

ब्राजिलको राष्ट्रपतिमा लुलाको पुनरागमन, चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। दोस्रो चरणको...

#ब्राजिल #लुला
Compare →
Setopati
2w ago
लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित

लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।

#ब्राजिल #लुला
Compare →
Onlinekhabar
3w ago
लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ?

लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ?

११ कात्तिक, काठमाडौं । ब्राजिलमा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका सेनेटर फ्लाभियो बोल्सोनारो र उनको परिवारलाई ट्रम्प प्रशासनले अमेरिकी भिसा उपलब्ध गराउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयका …

#ब्राजिल #लुला
Compare →

Related Stories

Opinion & Editorial
Build #2611