नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कात्तिक १५ गतेदेखि सडक उपभोग शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सूचना जारी गर्दै सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको जानकारी दिएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ गते गरेको निर्णय र नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन लागिएको हो। नयाँ व्यवस्थाअनुसार काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि फरक दर तोकिएको छ।
निर्धारित शुल्कअनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, वर्ग २ अन्तर्गतका मिनी बस, मिनी टिपर तथा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वर्ग ३ मा पर्ने बस तथा ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ।
वर्ग ४ मा पर्ने मल्टी एक्सल ट्रक, अन्य सवारीसाधन तथा भारी उपकरणले भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।
यस व्यवस्थासँगै कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनले आफ्नो वर्ग र यात्राको दिशाअनुसार तोकिएको शुल्क बुझाउनुपर्नेछ।