२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका हुन् ।
जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने भएको छ ।
त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइने निर्णयमा उल्लेख छ ।
यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनहरूको अवस्थाको पूर्ण रुपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्ने पनि निर्णय भएको छ ।
काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटहरूले ( ट्राफिक प्रहरी समेत) कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।