यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
हेटौंडा — जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारित समयतालिका तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । शुक्रबार जारी सूचनामार्फत यात्रु सुरक्षालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जनाइएको छ ।
पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौंडा सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको प्रशासनले जनाएको छ ।
साँघुरा सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको समयमा अँध्यारो सडकमा यात्रा तथा चालकको अत्यधिक कार्यबोझ र अनिद्रालाई दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ ।
मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ । प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।
यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।
फर्पिङबाट बिहीबार बिहान ४ बजे हेटौंडाका लागि छुटेको यात्रुवाहक माइक्रोबस भीमफेदीको चिसापानीगढीमा पौने ६ बजे दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले उक्त सूचना जारी गरेको हो ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।