सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई मंसिर २ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो। यस निष्काशनको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ।
कुल निष्काशित इकाईमध्ये १ करोड ५० लाख इकाई योजना प्रवर्द्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। यो कुल निष्काशनको १५ प्रतिशत हो। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन्। निष्काशन छिटोमा मंसिर ७ गते बन्द हुनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर १६ गतेसम्म थपिने क्यापिटलले जनाएको छ।
सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड योजना हो। यस योजनाको अवधि १० वर्ष तोकिएको छ। योजनाका लागि कम्तीमा ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था छ, जुन कुल निष्काशनको ५० प्रतिशत हो।
न्यूनतम आवश्यक संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरिनेछ। त्यस अवस्थामा आवेदन दिएका लगानीकर्ताको रकम १५ दिनभित्र फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ।
यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।