काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न बैंकले आगामी मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारणसभा बोलाएको छ।
बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको ५१९औँ बैठकले साधारणसभा आयोजना गर्ने र लाभांश वितरण प्रस्ताव अघि बढाउने निर्णय गरेको हो।
बैंकले कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा लाभांश करसमेत समावेश रहेको बैंकले जनाएको छ।
त्यसैगरी, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई पनि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसबापत १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा वितरण गरिनेछ। उक्त लाभांश शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि १८० दिनको समानुपातिक आधारमा गणना गरिएको बैंकले जनाएको छ।
प्रस्तावित लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकको ३१औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेस हुनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
यसका अतिरिक्त एनएमबि क्यापिटल लिमिटेड, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबि सेक्युरिटिज लिमिटेडसमेत समेटिएको बैंकको एकीकृत वित्तीय विवरण पनि साधारणसभाबाट पारित गरिनेछ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।