मंसिर ६ गते हुने फाइनलका विजेताले तीन लाख दुई हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार पाउनेछन् ।
ताप्लेजुङ — मंसिर २ देखि हुने फङफङदेन झरना पर्यटन फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, आयोजक फङफङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष बिजय साँवा, सल्लाहकार नुपु शेर्पाले बिहीबार खेल तालिका सार्वजनिक गरेका हुन् ।
आठ टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेल आयोजक र अपर मेवा काठमाडौं बीच हुने भएको छ । मंसिर २ गते दिउँसो ३ बजेबाट प्रतियोगिता प्रारम्भ हुने आयोजकले जनाएको छ ।
यस्तै मंसिर ३ गते फेदाप गाउँपालिका तेहृथुम र सैनिक युथ क्लब झापा तथा खोक्लिङ सामाजिक युथ क्लब मिक्वाखोला र कुम्यायक कुसायक गाउँपालिका पाँचथर बीच हुनेछ । योदिन बिहान १२ र दिउँसो ३ बजेदेखि गरी दुई खेल हुनेछन् ।
पहिलो चरणको अन्तिम क्वाटर फाइनल खेल ग्रीन भ्याली युथ क्लब मेरिङदेन, नाल्बु र मरिक एफसि धरान बीच मध्यान्ह १२ बजेदेखि खेल हुनेछ । कात्तिक ५ गते सेमिफाइनल र ६ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।
विकास समितिका अध्यक्ष साँवाका अनुसार उपाधि विजेताले ३ लाख २ हजार ८३ र उपविजेताले १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार प्राप्त गर्नेछन् । बिधागत पुरस्कार, अतिथिलाई मायाको चिनो स्वरुप यहाँको अलैंची प्रदान गर्ने उनले बताए ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।