काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ। स्थानीयवासीले छाडेर गएका पुराना घरलाई आकर्षक पर्यटकीय आवासमा रूपान्तरण गरिएपछि भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको हो।
त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजारबाट करिब चार किलोमिटरको दूरीमा रहेको सुपिङ गाउँ केही वर्षअघिसम्म बसाइँसराइको मारमा थियो। रोजगारी, शिक्षा र अन्य अवसरको खोजीमा स्थानीयवासी हेटौँडा र काठमाण्डौलागायतका सहरतर्फ लागेपछि गाउँका कतिपय घर खाली भएका थिए। खेतबारी बाँझिन थालेका थिए भने गाउँको आर्थिक गतिविधि पनि खुम्चिँदै गएको थियो।
तर, अहिले त्यही गाउँको परिचय फेरिँदै छ। खाली रहेका पुराना घरलाई मौलिक स्वरूपमै संरक्षण तथा सजावट गरेर सञ्चालनमा ल्याइएको ‘सुपिङ गोर्ज क्याम्प’ले गाउँमा पर्यटनको नयाँ सम्भावना देखाएको छ।
पर्यटन व्यवसायी देवेन्द्र नेपालले स्थानीयका नौवटा पुराना घर भाडामा लिएर करिब एक वर्षअघि यो व्यवसाय सुरु गरेका हुन्। उनले गाउँ छाडेर गएका मानिसका खाली घरलाई पुनः प्रयोगमा ल्याउने ‘रिनेष्ट टुरिजम’ अवधारणाअन्तर्गत पर्यटन व्यवसाय अघि बढाएका हुन्।
उनका अनुसार जसरी एउटा चराले छाडेको गुँडमा अर्को चरा आएर बस्छ, त्यसैगरी मानिसले छाडेका घरलाई नयाँ प्रयोजनमा ल्याएर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ।
नेपालले यसअघि करिब १५ वर्षपहिले मकवानपुरकै चित्लाङमा यस्तै अवधारणामा पर्यटन व्यवसाय सुरु गरेका थिए। सुपिङमा पनि पुराना घरको मौलिकता जोगाउँदै आधुनिक सुविधासहित पर्यटकलाई ग्रामीण जीवनको अनुभव गराउने उनको उद्देश्य छ।
पुराना घरको नयाँ रूप, पर्यटकको आकर्षण
सुपिङ गोर्ज क्याम्पमा परम्परागत घरलाई रातो माटो र कमेरोले लिपपोत गरिएको छ। पुराना सन्दुक, ठेकी, जाँतो, हलो तथा अन्य मौलिक सामग्रीले सजाइएका घरमा आधुनिक सुविधासमेत उपलब्ध छन्।
आकर्षक बत्ती, ढुङ्गेधाराको झल्को दिने पानीका धारा, सुविधासम्पन्न स्नान कक्ष, सानो पौडी पोखरी र व्यवस्थित आवासका कारण यहाँ आउने पर्यटकले ग्रामीण परिवेशसँगै रिसोर्टस्तरको सुविधा अनुभव गर्न पाउँछन्।
साँझपख बत्तीको सजावटले समग्र परिसरलाई थप आकर्षक बनाउने गरेको छ। गाउँ वरपरका हरियाली डाँडाकाँडा, स्वच्छ हावापानी र शान्त वातावरणले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ।
नजिकै रहेका ऐतिहासिक भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी र हात्तीसारजस्ता स्थलले सुपिङको पर्यटकीय सम्भावनालाई थप बलियो बनाएका छन्। यहाँ आउने पर्यटकले छोटो दूरीको पदयात्रासमेत गर्न सक्छन्।
क्याम्पका व्यवस्थापक सन्देश जोशीका अनुसार काठमाण्डौ र हेटौँडाबाट आउने आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि आकर्षण देखिएको छ। यद्यपि, रसुवा बाढीपछि विदेशी पर्यटकको आगमनमा केही कमी आएको उनले बताएका छन्।
२६ रोपनी जमिनमा खेती, पर्यटकलाई आफ्नै उत्पादनको स्वाद
सुपिङ गोर्ज क्याम्पको विशेषता आवासमा मात्र सीमित छैन। यहाँ पर्यटकलाई स्थानीय उत्पादनबाट तयार पारिएका मौलिक परिकार खुवाउने व्यवस्था गरिएको छ।
व्यवसायका लागि वार्षिक एक लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरी २६ रोपनी जग्गा लिइएको छ। त्यसमध्ये १५ रोपनीमा कृषि उत्पादन भइरहेको छ।
यसअघि सूर्यमुखी फूल खेती गरिएको जमिनमा अहिले तोरी लगाइएको छ। क्याम्पमा आउने पर्यटकलाई यहीँ उत्पादन भएको सूर्यमुखी तेलमा पकाइएका परिकार खुवाइने गरिएको छ। तोरी उत्पादन भएपछि त्यसकै तेल प्रयोग गर्ने योजना छ।
स्थानीय ढिँडो, गुन्द्रुक, सिस्नो, लोकल कुखुरा, स्थानीय चामल र मौसमी सागसब्जी यहाँका मुख्य आकर्षण हुन्।
भविष्यमा पर्यटकलाई आफ्नै बगैँचामा उत्पादित फलफूल खुवाउने उद्देश्यले एभोकाडो, नासपाती, अम्बालगायतका बिरुवा पनि रोपिएका छन्।
यसले पर्यटन र कृषिलाई एकैसाथ अघि बढाउने प्रयासलाई मूर्त रूप दिएको छ।
नौ जनालाई प्रत्यक्ष रोजगारी, किसानको उत्पादनले पाउन थाल्यो बजार
पर्यटन व्यवसाय विस्तारसँगै सुपिङका स्थानीयवासीले आर्थिक लाभ लिन थालेका छन्। क्याम्पमा हाल नौ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमध्ये अधिकांश स्थानीय हुन्।
गाउँकै युवा प्रमेश मगरका अनुसार आफ्नै ठाउँमा रोजगारी पाएपछि कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता घटेको छ।
क्याम्पले स्थानीय किसानबाट तरकारी, दाल, अन्न, गुन्द्रुकलगायतका खाद्यान्न खरिद गर्ने गरेको छ। यसले गाउँमा उत्पादित वस्तुले बजार पाउन थालेका छन्।
यसअघि बाँझिएका केही खेतबारीमा पुनः खेती सुरु भएको छ। स्थानीयलाई कृषि उत्पादन बढाउन प्रोत्साहन मिलेको छ भने घर भाडामा दिएका परिवारले नियमित आम्दानी गर्न थालेका छन्।
व्यवसायीले नौ घरको भाडाबापत मासिक २७ हजार ७०० रुपैयाँ तिर्ने गरेका छन्। यसरी बसोबासविहीन घरसमेत घरधनीका लागि आम्दानीको स्रोत बनेका छन्।
सुपिङ गोर्ज क्याम्पले आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ।
पाँच जनासम्मको समूहका लागि प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँको प्याकेज उपलब्ध छ। यसमा बेलुकाको खाना, रातको बसाइ र बिहानको नास्ता समावेश छन्।
दम्पतीका लागि कोठा, बेलुकाको खाना र बिहानको नास्तासहित ६ हजार रुपैयाँको प्याकेज निर्धारण गरिएको छ।
एक्लै आउने पर्यटकका लागि तीन हजार ५०० रुपैयाँको प्याकेज छ। त्यस्तै, पाँच जनाभन्दा बढीको समूहले काठमाण्डौ वा हेटौँडाबाट आवतजावतको यातायात सुविधासहित प्रतिव्यक्ति चार हजार ५०० रुपैयाँको प्याकेज लिन सक्छन्।
एक वर्षमै उत्साहजनक व्यवसाय, ६० प्रतिशत क्षमता उपयोग
व्यवस्थापक जोशीका अनुसार सुपिङ गोर्ज क्याम्पमा पाहुनाको प्रकृतिअनुसार दैनिक ४० देखि ७० जनासम्म राख्न सकिन्छ।
पारिवारिक समूहका लागि सामान्यतया ३५ देखि ४० जनासम्मको आवास व्यवस्थापन गरिन्छ भने विद्यार्थी समूहका हकमा ७० जनासम्म राख्न सकिन्छ।
सञ्चालनमा आएको एक वर्षको अवधिमा क्याम्पको क्षमता औसत करिब ६० प्रतिशत उपयोग भएको व्यवस्थापनको दाबी छ।
भाडामा लिइएका नौ घरमध्ये चारवटालाई पर्यटकको आवासका रूपमा सजाइएको छ। त्यसबाहेक थप छवटा कटेजसमेत प्रयोगमा छन्।
रित्तिँदै गएका गाउँका लागि पर्यटनको नयाँ सम्भावना
नेपालका पहाडी तथा ग्रामीण क्षेत्रमा बढ्दो बसाइँसराइका कारण ठूलो संख्यामा परम्परागत घर खाली हुँदै गएका छन्। कतिपय स्थानमा खेतीयोग्य जमिन बाँझिएको छ भने स्थानीय आर्थिक गतिविधि कमजोर बनेको छ।
यस्तो अवस्थामा सुपिङमा सुरु गरिएको पर्यटन व्यवसायले पुराना घर र स्थानीय स्रोतसाधनको व्यावसायिक उपयोगबाट ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्न सकिने सम्भावना देखाएको छ।
विशेषगरी नयाँ ठूला संरचना निर्माण गर्नुको साटो उपलब्ध घरहरूको संरक्षण र पुनः प्रयोग गरेर पर्यटन प्रवर्द्धन गर्ने यो अवधारणाले स्थानीय संस्कृति जोगाउनसमेत सहयोग पुर्याउन सक्छ।
पर्यटकको आगमनसँगै किसानको उत्पादन बिक्री हुने, स्थानीय युवाले रोजगारी पाउने र घरधनीले भाडाबाट आम्दानी गर्ने वातावरण सिर्जना भएको छ।
सुपिङको यो प्रयास अन्य ग्रामीण बस्तीका लागि पनि उपयोगी उदाहरण बन्न सक्छ। तर, यसलाई दीर्घकालीन र दिगो बनाउन पर्यटकको नियमित आगमन, पूर्वाधारको गुणस्तर, स्थानीय समुदायको सहभागिता र प्राकृतिक वातावरणको संरक्षणमा उत्तिकै ध्यान दिन आवश्यक देखिन्छ।
कुनै समय मानिसले छाडेर गएका घरहरू अहिले पर्यटकको रोजाइमा पर्न थालेका छन्। बसाइँसराइले सुनसान बनाएको सुपिङमा पर्यटनले ल्याएको यो परिवर्तनले एउटा सन्देश दिएको छ—गाउँका पुराना घर केवल विगतका सम्झना होइनन्, उचित योजना र लगानी भए भविष्यको आम्दानीका स्रोतसमेत बन्न सक्छन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।