विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।
तिहार आउँदा गाउँका ती पुराना दिन सम्झनामा आउँछन् । घरआँगनमा ढकमक्क फुलेका सयपत्री र मखमली, भान्साबाट निस्कने सेलरोटीको बास्ना, दिदीबहिनीको आगमन, फुपूहरूको माया अनि साथीभाइसँगको देउसीभैलो । ती दिनहरू अहिले आँखाअगाडि छैनन्, तर मनभित्र भने कहिल्यै पुराना भएका छैनन् ।
समयले धेरै कुरा बदलिदिएको छ । गाउँका बाटाहरू फेरिएका छन्, जीवनशैली आधुनिक बनेको छ र चाडपर्व मनाउने तरिका पनि बदलिएको छ । तर बाल्यकालमा परिवार र आफन्तसँग बिताएका तिहारका क्षणहरू सम्झिँदा आज पनि मन त्यही पुरानो घरआँगनमा पुग्छ ।
तिहार मेरो लागि केवल पाँच दिनको पर्व होइन । यो त बाल्यकालको सम्झना, दिदीबहिनीको माया, फुपूहरूको आशीर्वाद, गाउँलेहरूको आत्मीयता र परदेशमा अधुरो रहने पारिवारिक खुसीको कथा हो ।
मेरो बाल्यकाल आजको जस्तो सुविधासम्पन्न थिएन। त्यही भएर होला, तिहार नजिकिँदै गर्दा घरमा छुट्टै उत्साह छाउँथ्यो । थकने रोटी, सेलरोटी, झिलिङ्गा, फिनी रोटी, पोपरा, चिनी रोटी र बटुकको स्वादले घरको वातावरण नै रमाइलो बनाउँथ्यो । आज बजारमा चाहेजति परिकार पाइन्छन् । तर त्यतिबेला घरमै मेहनत गरेर बनाइएका ती रोटीको स्वाद र त्यसमा मिसिएको परिवारको मायाको तुलना कुनै आधुनिक परिकारसँग हुन सक्दैन ।
तिहारको कुरा गर्दा मेरा मनमा सबैभन्दा पहिले फुपूहरूको सम्झना आउँछ । मेरी जेठी फुपू तिहारको समयमा थुन्सोभरि विभिन्न प्रकारका रोटी तथा परिकार बोकेर हाम्रो घरमा आउनुहुन्थ्यो । उहाँको आगमनमा केवल खानेकुरा मात्र हुँदैनथ्यो, माइतीप्रतिको माया, आत्मीयता र पारिवारिक सम्बन्धको गहिरो अनुभूति पनि सँगै आएको हुन्थ्यो ।
आजका पुस्तालाई धेरै विषय सामान्य लाग्न सक्छन्। तर हाम्रो पुस्ताका लागि साना अनुभव जीवनका ठूला खुसी थिए । अभाव थियो, सुविधा थिएन, तर सम्बन्धमा आत्मीयता र जीवनमा सन्तुष्टि थियो ।
तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको विशेष महत्त्व हुन्थ्यो । गाउँघरकै बारी र आँगनमा फुलेका फूल टिपेर माला उन्ने, टीकाको तयारी गर्ने र घर सजाउने गरिन्थ्यो । हाम्रो गाउँमा तिहारको रमाइलो काग तिहारबाट मात्र सुरु हुँदैनथ्यो। त्यसअघि नै साथीभाइबीच भेटघाट र रमाइलो गर्ने वातावरण बनिसकेको हुन्थ्यो ।
गाईबाख्रा चराउन वनजंगलमा जाँदा साथीहरूसँग बसेनी वनमा जुवा खेल्ने र रमाइलो गर्ने चलन थियो । कुकुर तिहारदेखि भाइटीकासम्म गाउँका साथीभाइ मिलेर देउसीभैलो खेल्न निस्कन्थ्यौँ ।
गाउँका घरघरमा पुगेर देउसी खेल्दा कतै पैसा पाइन्थ्यो त कतै सेलरोटी र अन्य परिकार खान पाइन्थ्यो । रातको चिसोमा ठाउँठाउँमा आगो ताप्दै गीत गाउने, मादल बजाउने र रमाइलो गर्ने गर्थ्यौं ।
आजको जस्तो आधुनिक मनोरञ्जनका साधन थिएनन् । तर साथीभाइको साथ, गाउँलेहरूको माया र सामूहिक सहभागिताले तिहारलाई अविस्मरणीय बनाउँथ्यो । त्यो जमघट केवल खेलकुद र मनोरञ्जनमा सीमित थिएन । गाउँका मानिसहरूबीच भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अवसर पनि थियो ।
अहिले ती दृश्य सम्झिँदा लाग्छ, हाम्रो गाउँको तिहार केवल एउटा धार्मिक तथा सांस्कृतिक पर्व थिएन, त्यो सामूहिक जीवनशैली र सामाजिक एकताको सुन्दर उदाहरण पनि थियो ।
२०६० सालतिर रोजगारीको सिलसिलामा विदेश यात्रा सुरु भएपछि मेरो जीवनसँगै तिहार मनाउने शैली पनि बदलियो । गाउँघर, परिवार, आफन्त र जन्मभूमिबाट टाढा रहेर चाडपर्व मनाउनुपर्ने अवस्था त्यही समयदेखि सुरु भयो । परदेशको जीवनमा काम र जिम्मेवारी पहिलो प्राथमिकतामा पर्छन् । घरमा दसैँतिहारको चहलपहल सुरु हुँदा हामी भने कामको समयतालिका र परिस्थितिसँग बाँधिएका हुन्छौँ ।
केही वर्षअघि नेपाल गएको समयमा पनि दिदीबहिनीसँग पारिवारिक भेटघाट र खानपिनसहित तिहार मनाउने अवसर मिलेको थियो । फुपूहरूसँग भेटघाट गर्ने र उहाँहरूमध्ये एक जनाको हातबाट टीका लगाउने सौभाग्य पनि प्राप्त भएको थियो । तर यस्ता अवसर सधैँ जुट्दैनन् । परदेशको व्यस्तताले कहिलेकाहीँ आफ्नै चाडपर्वलाई पनि टाढाबाट हेरेर चित्त बुझाउनुपर्ने बनाउँदो रहेछ ।
विदेशमा रहे पनि नेपालीहरूले आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । कतारमा पनि विभिन्न सामाजिक संघसंस्था तथा नेपाली समुदायले देउसीभैलो, भेटघाट र शुभकामना आदानप्रदानमार्फत तिहार मनाउने गर्छन् ।
यहाँ पनि कहिलेकाहीँ गाउँघरकै दिदीबहिनीहरूको हातबाट टीका ग्रहण गर्ने अवसर मिलेको छ । तर विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।
टीकाको दिन सामाजिक सञ्जालमा दिदीबहिनीको हातबाट टीका लगाएका आफन्त र साथीभाइका तस्बिर देख्दा मन भावुक हुन्छ । कसैको निधारमा सप्तरङ्गी टीका, गलामा सयपत्री र मखमलीको माला, वरिपरि परिवारका सदस्य र अनुहारमा खुसी देख्दा आफ्नै गाउँघरको सम्झनाले मन भरिएर आउँछ ।
त्यतिबेला लाग्छ, परदेशमा कमाइ गर्न सकिएला, आवश्यक सुविधाहरू जुटाउन सकिएला, तर चाडपर्वको दिन आफ्ना प्रियजनको साथ र आशीर्वादको न्यानोपन पैसाले किन्न सकिँदैन ।