यी दुवै प्रतिनिधिमण्डलले भोटेकोशी बाढीमा केन्द्रित भएर स्थलगत अध्ययन गर्नुका साथै यससँग सम्बन्धित अन्य विषयमा नेपाल सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन् ।
काठमाडौँ — गत भदौ १० मा आएको विनाशकारी भोटेकोशी बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न स्विस र जर्मन प्रतिनिधिहरू काठमाडौं आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पिएर–आन्द्रे पेज संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नोभेम्बर २ मा नेपाल आउँदै छन् । काठमाडौंस्थित जर्मन दूतावासका अनुसार आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यमन्त्री बार्बेल कोफ्लर बुधबार चारदिने भ्रमणका लागि काठमाडौं आउँदै छिन् ।
यी दुवै प्रतिनिधिमण्डलले भोटेकोशी बाढीमा केन्द्रित भएर स्थलगत अध्ययन गर्नुका साथै यससँग सम्बन्धित अन्य विषयमा नेपाल सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पिएर–आन्द्रे पेजको संसदीय प्रतिनिधिमण्डलमा त्यहाँको राष्ट्रिय परिषद्का सदस्य रोलान्ड रिनो बुचेल, कोरिना ग्रेडिग र जर्जियो फोनियो तथा राष्ट्रिय परिषद्, संसदीय सेवाका सचिव पिएर–हर्भे फ्रेलेसो र संसदीय सेवाको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी राजनीतिक सल्लाहकार सारा पाल्मा रहेका छन् । उनीहरूले सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुका साथै हालैको बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न नुवाकोट पुग्ने कार्यतालिका छ ।
काठमाडौंस्थित जर्मनी दूतावासले जारी गरेको विज्ञप्तिअनुसार कोफ्लरको चारदिने भ्रमणमा जर्मनी र नेपालबीचको सहकार्यबारे विस्तृत जानकारी लिने तथा महिला अधिकार, स्वास्थ्य र भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा नेपाल सरकारका प्रतिनिधिहरूसँग कुराकानी गर्ने कार्यक्रम छ । जर्मन सरकारले भोटेकोशी बाढीलगत्तै नेपाल सरकारलाई १ करोड १० लाख ६१ हजार युरो उपलब्ध गराएको थियो ।
जर्मन दूतावासका अनुसार बाढीको प्रभाव र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन कोफ्लरले नुवाकोट जिल्लाको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ । भ्रमणका क्रममा उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी र प्रभावित व्यक्तिहरूसँग अन्तरक्रिया गर्नेछिन् । यसबाट स्थलगत रूपमा मानवीय सहायता र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने दूतावासको भनाइ छ । यसका अतिरिक्त, उनले नेपालका वर्तमान र भावी विकासक्रम तथा चुनौतीबारे विस्तृत जानकारी लिन विभिन्न छलफलमा सहभागी हुनेछिन् । छलफलका क्रममा गत वर्षका जेनजी प्रदर्शन र नेपालमा संक्रमणकालीन न्यायका विषय पनि समेटिनेछन् ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।