नेपालसहित सात देशका वैज्ञानिक सहभागी सम्मेलनमा अक्टोबर ३१ सम्म न्यानो प्रविधि, हरित ऊर्जा र जैविक पदार्थबारे १४३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुनेछन्।
ललितपुर — पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एड्भान्स्ड मटेरियल्स (कासाम–२०२६)’ बुधबारदेखि ललितपुरको कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा सुरु भएको छ ।
नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पस (पोखरा) र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा हुने सम्मेलन अक्टोबर ३१ सम्म चल्नेछ । विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा आयोजित सम्मेलनमा स्वदेश तथा विदेशका वैज्ञानिकका १४३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछन् ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि सम्मेलनका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीको अध्यक्षतामा ‘दिगो भविष्यका लागि स्मार्ट तथा बहुउपयोगी पदार्थ’ विषयक विशेष सत्र सञ्चालन हुने सम्मेलन संयोजक डा. हरिशरण अधिकारीले जानकारी दिए ।
सम्मेलनमा पाँचवटा प्रमुख सम्बोधन, ३५ वटा आमन्त्रित कार्यपत्र, ६ वटा विषयगत व्याख्यान र २७ वटा अनुसन्धानमूलक प्रस्तुतिसहित ७३ वटा मौखिक कार्यपत्र प्रस्तुत गरिनेछन् । त्यस्तै, नवोदित वैज्ञानिकका ७० वटा पोस्टर शोधपत्र पनि प्रस्तुत हुनेछन् ।
विदेशी वैज्ञानिक प्रा. डा. असा ब्राडम्यान, प्रा. डा. पिटर टिमासेभ र प्रा. डा. सातोरु सुकादासहित नेपाली वैज्ञानिक प्रा. डा. हेमराज पन्त, प्रा. डा. अमरप्रसाद यादव र डा. सुरेशकुमार ढुङ्गेलले विभिन्न विषयमा अनुसन्धानका नवीनतम उपलब्धि प्रस्तुत गर्नेछन् । न्यानो तथा जैविक प्रविधि, हरित ऊर्जा, आधुनिक ऊर्जा भण्डारण प्रणाली, सिमुलेसन र जैविक पदार्थसम्बन्धी अनुसन्धान सम्मेलनका प्रमुख विषय रहेको सहसंयोजक डा. शंकर खतिवडाले जानकारी दिए ।
सम्मेलनमा युवा वैज्ञानिकको भूमिका, दिगो सहर निर्माणका प्रविधि र बाँसजस्ता स्थानीय स्रोतलाई आधुनिक विज्ञानसँग जोड्ने विषयमा तीनवटा गोलमेच छलफलसमेत गरिनेछ ।
उत्कृष्ट अनुसन्धान तथा पोस्टर प्रस्तुतकर्तालाई पुरस्कृत गरिने सम्मेलनका अर्का सहसंयोजक डा. केदार ढकालले बताए । सम्मेलन सकिएपछि सहभागी वैज्ञानिकलाई मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अध्ययन भ्रमण गराइने कार्यक्रम पनि छ ।
नेपालसहित भारत, अमेरिका, जापान, रुस, जर्मनी र अस्ट्रेलियाका वैज्ञानिक सहभागी हुने सम्मेलनले नेपालमा न्यानो तथा जैविक प्रविधिसम्बन्धी अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यलाई थप विस्तार गर्ने आयोजकको विश्वास छ ।