Trending
Prev Story
Next Story

कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

Ekantipur •
November 13, 2026 • 02:31 PM
1
1 reads 0 reactions

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको वार्ता अन्तिम चरणमा प्रवेश गरेसँगै नेपाल र भुटानले सम्मेलनको निष्कर्ष दस्तावेजमा हिमाली मुद्दा समेट्न अन्तिम कूटनीतिक प्रयास तीव्र पारेका छन् ।

वार्तामा संलग्न नेपाली अधिकारीहरूका अनुसार दुवै देशका प्रतिनिधिले हिमाली मुलुकका जोखिम र संवेदनशीलतासँग सम्बन्धित कम्तीमा चारवटा प्राथमिकता समेट्न प्रमुख वार्ता समूहहरूसँग समर्थन मागिरहेका छन् ।

कोप–३१ सुरु हुनुअघि नेपाल र भुटानले संयुक्त रूपमा पाँचवटा प्रस्ताव पेस गरेका थिए । ती प्रस्तावप्रति समर्थन जुटाउन दुवै देशले प्रमुख वार्ता समूहसँगको कूटनीतिक संवादलाई तीव्रता दिएका थिए ।

'हाम्रो एजेन्डा निष्कर्ष दस्तावेजमा समेटिनेमा आशावादी छौं,' परराष्ट्रमन्त्री शिशिर खनालले अन्ताल्याबाट कान्तिपुरसँग भने । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि मन्त्री खनाल शुक्रबार काठमाडौं फर्किंदै छन् ।

तर, प्रारम्भिक वार्ताका क्रममा हिमाली मुद्दाले अवरोध सामना गर्नुपरेको थियो । प्रभावशाली वार्ता समूहहरूले यसलाई औपचारिक निष्कर्षको रूपरेखामा समेट्न विरोध गरेका थिए । यसले जलवायु परिवर्तनका कारण झन् गम्भीर विपद् सामना गरिरहेका हिमाली मुलुकका विशिष्ट जोखिमले पर्याप्त ध्यान नपाउने चिन्ता बढाएको थियो ।

'हाम्रो एजेन्डा अझै वार्ताको टेबलमै छ । वार्ता जारी छ र सम्मेलनको अन्त्यसम्म चल्नेछ । अन्तिम निष्कर्षको प्रतीक्षामा छौं । के सम्बोधन हुन्छ र के हुँदैन भन्ने हेर्न बाँकी छ । अहिलेसम्म हामीले हासिल गरेका उपलब्धिबाट सन्तुष्ट छौं,' खनालले भने ।

कान्तिपुरले प्राप्त गरेको प्रस्तावअनुसार नेपाल र भुटानले हिमालका लागि छुट्टै कार्ययोजना, अनुकूलनका लागि थप वित्तीय सहायता, पूर्वानुमानयोग्य अनुदानमा आधारित जलवायु वित्त र उत्सर्जन न्यूनीकरण तथा जलवायु विज्ञानमा थप प्रभावकारी विश्वव्यापी कदम चाल्नुपर्ने माग गरेका छन् ।

जलवायु परिवर्तनका कारण बाढी, हिमनदी विस्फोट, खडेरी, पानीको अभाव र हिमाली पारिस्थितिक प्रणालीको जोखिम बढ्दै गएको चिन्ताका बीच यी प्रस्ताव अघि सारिएका हुन् ।

प्रमुख मागमध्ये एउटा हिमालका लागि छुट्टै कार्ययोजना बनाउनु हो । यसले वित्तीय सहायता र क्षमता विकासमा देखिएका कमी सम्बोधन गर्ने, जलवायु परिवर्तनका प्रभावबारे वैज्ञानिक बुझाइ बढाउने र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमनदी तीव्र गतिमा पग्लिनेजस्ता समग्र प्रभावको सामना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

दुवै देशले हिमाली पारिस्थितिक प्रणालीको विशिष्ट संवेदनशीलता र नाजुक अवस्थासँगै यी क्षेत्रमा अनुकूलनका सीमितताबारे पनि जोड दिएका छन् ।

उनीहरूले प्रमुख विकसित अर्थतन्त्र भएका मुलुकलाई विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यअनुरूप उत्सर्जन कटौती तीव्र बनाउन, कालो कार्बनजस्ता छोटो समयसम्म वायुमण्डलमा रहने जलवायु प्रदूषक नियन्त्रण गर्न र संवेदनशील हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न आह्वान गरेका छन् । अर्को प्रस्तावमा जलवायु कार्य र विज्ञानसम्बन्धी वार्षिक विश्वव्यापी संवाद आयोजना गर्नुपर्ने उल्लेख छ ।

जलवायु वित्त पनि दुवै देशले उठाएको अर्को प्रमुख चासो हो । उनीहरूको धारणा पत्रमा विकासशील देशहरूले उत्सर्जन न्यूनीकरण, जलवायु अनुकूलन र हानि तथा नोक्सानीका लागि आवश्यक वित्तीय स्रोत जुटाउन अझै ठूलो अभाव सामना गरिरहेको उल्लेख छ । जलवायु प्रतिबद्धता कार्यान्वयनका लागि आवश्यक समग्र स्रोतसाधनमा समेत कमी रहेको उनीहरूको भनाइ छ ।

विशेषगरी विकासशील देशहरूले उच्च ब्याजदरमा ऋण लिनुपर्ने र अन्तर्राष्ट्रिय जलवायु कोषमा पहुँच कठिन हुने अवस्था रहेकाले पूर्वानुमानयोग्य, पर्याप्त, सहुलियतपूर्ण र अनुदानमा आधारित वित्तीय सहायता उपलब्ध गराउन प्रस्तावमा माग गरिएको छ ।

'अहिलेका वित्तीय प्रतिबद्धता पनि पूरा नभइरहेको र सार्वजनिक स्रोतहरू अन्य प्रतिस्पर्धी प्राथमिकतामा बढ्दो रूपमा विनियोजन भइरहेको विषयमा समेत चिन्ता छ,' प्रस्तावमा भनिएको छ ।

दुवै देशले अनुकूलनका लागि वित्तीय सहायता उल्लेख्य रूपमा बढाउन माग गरेका छन् । साथै, ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिटी, हानि तथा नोक्सानी सम्बोधन कोष, अति कम विकसित राष्ट्र कोष र अनुकूलन कोषलगायत विद्यमान संयन्त्रबाट उपलब्ध हुने रकम पर्याप्त भए–नभएको प्रश्न उठाएका छन् ।

जलवायु जोखिमबारे बुझाइ बढाउन र पूर्वसूचना तथा अनुकूलन क्षमता सुदृढ गर्न जलवायु अवलोकन र तथ्यांकमा पनि थप लगानी आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा विश्वव्यापी ऊर्जा रूपान्तरणबाट प्राप्त हुन सक्ने आर्थिक अवसरलाई पनि उजागर गरिएको छ । यसमा ऊर्जा सुरक्षामा सुधार, सस्तो ऊर्जामा पहुँच विस्तार र स्वच्छ ऊर्जाको लागत घट्दै जाँदा प्रविधिमा भएको प्रगतिबाट लाभ लिन सकिने विषय समेटिएका छन् ।

स्वच्छ ऊर्जातर्फको रूपान्तरणले ऊर्जा सुरक्षासम्बन्धी बढ्दो चिन्ता र परनिर्भरता सम्बोधन गर्दै प्रतिस्पर्धात्मक क्षमता तथा नवप्रवर्तनलाई बलियो बनाउन सक्ने प्रस्तावमा उल्लेख छ ।

वार्तामा संलग्न एक नेपाली अधिकारीका अनुसार नेपालजस्ता जोखिममा रहेका हिमाली मुलुकका लागि छुट्टै कार्ययोजना विशेष महत्त्वपूर्ण हुनेछ । नेपालका प्रमुख चासोमा हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल विस्फोटजन्य बाढी, पानीको उपलब्धतामा परिवर्तन र जलवायुजन्य विपद्का कारण बढ्दो आर्थिक भार छन् ।

हिमाली क्षेत्रका जोखिमलाई थप प्राथमिकता दिनुपर्ने मागले कोप–३१ मा गति लिएको भए पनि औपचारिक जलवायु वार्ता प्रक्रियामा हिमाली मुद्दाका लागि छुट्टै स्थान सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण रहेको ती अधिकारीले बताए ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #हिमाली #कोप
Compare →
Hamro Patro News
11h ago
मुस्ताङको जलवायु पीडा सुनाउन घरपझोङ नेतृत्व कोप–३१ मा

मुस्ताङको जलवायु पीडा सुनाउन घरपझोङ नेतृत्व कोप–३१ मा

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र स्थानीयवासीले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख ...

#जलवायु #हिमाली #कोप
Compare →
Nagarik News
14h ago
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#जलवायु #हिमाली
Compare →
Onlinekhabar
1h ago
कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् । नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न …

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2611