आनीको विगत र व्यक्तिगत विवरणसमेतलाई प्रश्न उठाउँदै नियुक्ति रद्द गर्न माग
लुम्बिनी र काठमाडौं — करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोष उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेलगत्तै विरोध सुरु भएको छ । आनीको विगत र व्यक्तिगत विवरणसमेतलाई प्रश्न उठाउँदै नियुक्ति रद्द गर्न एक पक्षले माग गरेको छ ।
आनीको नियुक्तिको विरोधमा रहेको पक्षले लुम्बिनी बचाउ महाअभियान नै गठन गरेर विरोध गरिरहेको छ । ३१ असोजबाटै विरोधका कार्यक्रम गर्दै आएको अभियानका संयोजक अकरम खानले बताए । नियुक्ति बदर नहुँदासम्म जनस्तरमा सभा, पत्रकार सम्मेलन, विरोध र्याली, धर्ना, घेराउका कार्यक्रम जारी रहने उनले जानकारी दिए । लुम्बिनीका स्थानीयसँगै विभिन्न क्षेत्रका अगुवाले निर्णयको विरोधका साथै निर्णय तत्काल खारेज गर्न मागसमेत गरेका छन् ।
आर्थिक पारदर्शिता नहुनु, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान र नागरिकताको वैधानिकताबारे सार्वजनिक भएका विषयले आनीको नियुक्ति बदरको माग गरेको उनीहरूको तर्क छ । अभियानले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान दिन सक्ने स्थानीय बुद्धिजीवी, बौद्ध धर्मका जानकार तथा योग्य व्यक्तित्वलाई नियुक्तिमा बेवास्ता गरिएको आरोपसमेत लगाएको छ ।
कोषको उपाध्यक्ष नियुक्तिको विरोध भएको यो पहिलो पटक होइन । यसअघिका नियुक्तिमा पनि विभिन्न अभियानले प्रश्न उठाउँदै विरोध गर्ने गरेको थियो । ल्याहारक्याल लामा र दीपक श्रेष्ठको नियुक्तिको समयमा पनि अभियानले विरोध गरेको थियो ।
शान्तिका अनुयायी, संस्थागत पारदर्शिता र स्थानीय भावनालाई ध्यानमा राखेर उपाध्यक्ष नियुक्ति गर्नुपर्नेमा सरकारले हुकुमी शैलीमा नियुक्ति गरेको भन्दै आफूहरू बाध्य भएर विरोधमा उत्रेको अभियानका सहसंयोजक रामविकास चौधरीले बताए । मन्त्री खडगराज पौडेल (गणेश) सँग पटक–पटक भेटघाट र वार्ता गरेर स्थानीयलाई उपाध्यक्षमा नियुक्ति गर्न माग गर्दै आए पनि आनीको नियुक्ति भएको भन्दै आफूहरू विरोधमा उत्रेको उनको तर्क छ ।
सहसंयोजक चौधरीले लुम्बिनीलाई बुझेको र चिनेको व्यक्ति पाउनुपर्ने मागलाई विगतदेखि नै बेवास्ता गरिएको बताए । ‘यस क्षेत्रमा धेरै योग्य र जानकार थिए तर सरकारले विवादास्पद व्यक्तिलाई फेरि लुम्बिनीमा पठाउन खोज्दा शंकामा अझ बल पुगेको छ,’ चौधरीले भने, ‘हामी उहाँलाई आउन दिँदैनौं । यो निर्णय सरकारले सच्याउनुपर्छ ।’
आनीको आत्मकथा ‘फूलको आँखामा’ उनका मातापिता तिब्बती शरणार्थीका रूपमा नेपाल आएको उल्लेख रहेको विषय उठाउँदै अभियानले नागरिकताको वैधानिकतामाथि पनि प्रश्न गरेको छ । नक्कली बुबा खडा गरी किर्ते विवरणका आधारमा वंशजको नागरिकता लिएको आरोपसमेत सार्वजनिक भएको भन्दै अभियानले यस विषयमा स्पष्टता आवश्यक रहेको जनाएको छ ।
नवनियुक्त उपाध्यक्ष आनीले छिट्टै लुम्बिनी गएर पदबहाली गर्ने बताइन् । आफू सत्कर्ममा विश्वास गर्ने भएकाले यस्ता सानातिना विरोधको कुनै अर्थ नभएको उनले बताइन् । ‘मेराबारेमा उठेका र उठाइएका सबै प्रश्न निराकरण भइसकेका छन्,’ उनले कान्तिपुरसँग भनिन्, ‘त्यही भएर सरकारले नियुक्ति गरेको हो । अब सबै मिलेर लुम्बिनी बनाउनुपर्छ, विरोधको अर्थ छैन ।’
आनीविरुद्ध विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरेकाले उनको नियुक्ति खारेज हुनुपर्ने लुम्बिनी बचाउ महाअभियानको तर्क छ । विभागले २०७५ मा आनीविरुद्ध अनुसन्धान गरेको थियो । एक चरण अनुसन्धानपछि उनको फाइल होल्डमा राखेको र अहिले कुनै पनि अनुसन्धान नभएको विभागका एक अधिकृतले बताए । ‘यो प्रकरण त तत्कालीन समयमै अनुसन्धान नगर्ने भनी होल्डमा राखेर तामेलीमा पठाइएको थियो,’ ती अधिकृतले भने, ‘त्यसपछि कुनै पनि छलफल नै भएको छैन ।’
२५ वैशाख २०७५ मा तत्कालीन मेगा बैंक लिमिटेडको खाता नम्बर ००१००५००३९४२४ मा आएको रकमको स्रोत नखुलेपछि विभागले आनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो । हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर उनको खातामा देखिएको
थियो । विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले एकै पटक अनुसन्धान गरेका थिए । विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोडभन्दा बढी रुपैयाँ भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंकले रोकिदिएको थियो ।
आनीको नियुक्तिको विरोध भइरहेका बेला पूर्वउपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्त (अवधेशकुमार त्रिपाठी) ले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै सरकारको निर्णयको समर्थन गरेका छन् । उनले सरकारको निर्णयलाई स्वागत गर्दै भगवान् बुद्धले भिक्षुणी संघको स्थापना गरी महिलालाई धर्ममार्गमा सम्मानजनक स्थान दिएकाले बुद्धकै जन्मभूमिको संरक्षण र विकासको जिम्मेवारी एक आनीले पाउनु आफैंमा अत्यन्त अर्थपूर्ण र प्रेरणादायी भएको उल्लेख गरेका छन् । उनले आनीको बौद्ध धर्मप्रतिको श्रद्धा र निष्ठामा शंका गर्ने ठाउँ छैन भन्दै शिक्षा, स्वास्थ्य र मानव सेवामा आनीले वर्षौंदेखि गर्दै आएको योगदान सबैसामु छर्लङ रहेको बताए । तर आनीबारे उठेका प्रश्नको छिटो, निष्पक्ष र पारदर्शी टुंगो लगाउन सरकार र सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन् ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।