Trending
Prev Story
Next Story

किसानलाई सुन्तला निकासी गर्न भ्याइनभ्याई

Ekantipur •
November 22, 2026 • 04:32 AM
2
2 reads 0 reactions

परिवारको साथ र निरन्तर मेहनतले सुरु भएको बगैंचा अहिले घरखर्च, छोराछोरीको शिक्षा र किसानको भविष्यको भरोसा बनेको छ।

किसानलाई सुन्तला निकासी गर्न भ्याइनभ्याई

परिवारको साथ र निरन्तर मेहनतले सुरु भएको बगैंचा अहिले घरखर्च, छोराछोरीको शिक्षा र किसानको भविष्यको भरोसा बनेको छ।

पाल्पा — चार वर्ष मलेसियामा बिताएका रिब्दीकोट गाउँपालिका–५, पालुङमैनादीका लुमबहादुर कुँवरलाई पछिल्ला दिनमा सुन्तला टिप्न, ग्रेडिङ गर्न, बजार निकासी गर्न भ्याइनभ्याई छ । विदेशमा पसिना बगाएर फर्किएका उनले गाउँमै केही गर्ने सोच बनाएर सुन्तला खेती सुरु गरे ।

सुरुमा थोरै बोटबाट थालेको खेती अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ । आठ सयभन्दा बढी सुन्तलाका बोट लगाएका ५८ वर्षीय कुँवरका बारीमा यस वर्ष पनि लटरम्म सुन्तला फलेका छन् । फल्न थालेका डेढ सय बोटबाटै राम्रो आम्दानी हुने भएपछि उनी खेती विस्तार गर्दै अघि बढेका छन् ।

पालुङ्मैनादीमा सुन्तला अन्यत्रभन्दा केही छिटो निकाल्ने भएकाले अहिले काममा आतुर रहेको उनले बताए । तर यसको स्वादमा भने कुनै परिवर्तन छैन । चिसो ठाउँ भएकाले यहाँको सुन्तलाको मिठासपन हुन्छ । ‘छिटो निकासी भएजस्तो देखिएको छ,’ उनले भने, ‘तर सुन्तलाको मिठासमा कुनै कमी छैन ।’ २०७१ सालमा मलेसियाबाट घर फर्किएका कुँवरले २०७३ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्न थालेका हुन् ।

यसवर्ष २६ क्विन्टल निकासी भइसकेको छ भने अझै १५ क्विन्टल भन्दा बढी बाँकी नै छ । अहिले बोटबाटै प्रतिकिलो ८० रुपैयाँ भाउ पाएको उनले बताए । विदेशमा काम गरेर कमाएको अनुभव र गाउँमै बसेर केही गर्ने इच्छाले आफूलाई कृषितर्फ आकर्षित गरेको उनले बताए । सुरुमा खेतीबाट कति आम्दानी होला भन्ने निश्चित थिएन । तर, निरन्तरको मेहनत र अनुभवले अहिले उनको बगैंचा आम्दानीको भरपर्दो आधार बनेको छ ।

उनले सुन्तलासँगै गोलभोडा, काँक्रो र खुर्सानी खेती पनि गर्दै आएका छन् । करिब पाँच हजार खुर्सानीका बोटबाट यस वर्ष १२ क्विन्टल उत्पादन भएको छ । तरकारी खेतीले पनि घरखर्च चलाउन सहयोग पुगेको छ । सुन्तलाका बोट हुर्काउने, रोगकिराबाट जोगाउने, मलजल गर्ने र फल टिप्ने काममा परिवारको साथ पाएका छन् । खेतीमा परिवारका सदस्यको सक्रियताले उनलाई थप हौसला दिएको छ । ‘निरन्तरको मिहिनेतले गाउँमै बसेर पनि आम्दानी राम्रै गर्न सकिन्छ भन्ने लाग्छ,’ उनले भने ।

कुँवरको जस्तै मेहनतले पालुङमैनादीका अन्य किसानको जीवनशैली पनि फेरिँदै गएको छ । गाउँका धेरै किसानले मकै, कोदो र गहुँ लगाउने बारीमा सुन्तलाका बोट हुर्काएका छन् । अहिले बारीका बोटमा पहेँलपुर सुन्तला देखिन्छन् । कतिपय किसानका लागि सुन्तला खेती नियमित आम्दानीको माध्यम बनेको छ । घरखर्च, छोराछोरीको पढाइदेखि जग्गा र घरघडेरी जोड्नेसम्मको आधार सुन्तलाको आम्दानी बनेको छ । रिब्दीकोट गाउँपालिका–७ कै अर्का किसान जनक आचार्यको बगैंचामा पनि यस वर्ष सुन्तला लटरम्म फलेका छन् । अकबरे खुर्सानीका साथै सुन्तला लगाएका आचार्यका सक्रिय ४ सय ३० र सानासमेत गरी झण्डै ७ सय भन्दा बढी बोट छन् । गत वर्ष १६ लाख ३५ हजार रुपैयाँको सुन्तला बिक्री गरेका उनले यसवर्ष कम्तीमा १८ लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य राखेका छन् ।

‘गतवर्ष भन्दा भाउ पाइएको छ,’ उनले भने, ‘बोटमा राम्रो फलेको छ । विगतका वर्षभन्दा यसपटक उत्पादन राम्रो छ ।’ बोट पहेँलो हुने र माथिबाट सुक्दै जाने समस्या सुरु भएको छ । कतिपयको बोट मर्ने समस्या छ । केही वर्ष बोट मरेर चिन्तित बनेका आचार्यले अहिले तीनै बोटबाट आम्दानी लिन थालेका छन् । मरेका र कमजोर भएका ठानिएका केही बोटमा समेत राम्रो फल लागेको उनले बताए ।

रिब्दीकोट–७ पालुङमैनादी तुलबहादुर कुँवरले पनि २ सयभन्दा बढी बोटबाट राम्रो आम्दानी लिएका छ्न् । किसानको बजारिकरणका लागि जगदीश कुावरले सहयोग गरेका छन् । उनले बुटवल, भैरहवा, कपिलवस्तु लगायतका स्थानमा बिक्री गर्दै सघाएका छन् । पालुङमैनादी मात्र होइन, रैनादेवी छहराको अमलावास, मुझुङ, सोमादी र भुवनपोखरीका किसान पनि व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । ती गाउँमा गहुँ, मकै र कोदो लगाउने बारीमा सुन्तलाका बोट विस्तार भएका छन् । कतिपय किसानले सुन्तलासँगै आलु तथा मौसमी तरकारी खेती पनि गर्छन् । यसले एउटै बारीबाट फरक–फरक समयमा आम्दानी लिन सहयोग पुगेको छ ।

पश्चिम भेगमा बढी चिसो हुने भएकाले यहाँका सुन्तला अन्य ठाउँको तुलनामा ढिलो पाक्ने भएकाले माघको अन्तिमसम्म पनि बोटमै फल रहन्छ । बजारमा एकैपटक धेरै सुन्तला पुग्दा मूल्य घट्ने भएकाले ढिलो उत्पादन हुने यहाँको सुन्तलाले बजारमा छुट्टै पहिचान बनाएको किसानको भनाइ छ । पोखरा, नेपालगन्ज, भैरहवा, नारायणगढ र आसपासका बजारबाट व्यापारी बगैंचामै पुगेर सुन्तला खरिद गर्ने प्रचलन रहेको रैनादेवी छहरा–४, अमलावासका कमल घिमिरेले बताए ।

कतिपयले किलोका आधारमा तौल गरेर लैजान्छन् भने धेरैजसोले बगैंचै ठेक्कामा लिन्छन् । सुन्तला खेतीबाट किसानको जीवनमा आएको परिवर्तनलाई नजिकबाट देखेका सुन्तला जोन सञ्चालक समिति अध्यक्ष नित्यानन्द पोखरेल यसलाई गाउँको आर्थिक अवस्था सुधार्ने खेतीका रूपमा लिन्छन् । उनका अनुसार २०५३ सालतिरबाट सुन्तलाका बोट लगाउन सुरु गरेका किसानले अहिले एउटै सिजनमा लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

‘सुरुमा सुन्तला लगाउँदा धेरैले गाली पनि गरेका थिए,’ अमलावासका किसानसमेत रहेका पोखरेलले भने, ‘अहिले भने किसानलाई पेन्सनजस्तै भएको छ । फल लागेपछि थोरै बोट हुनेले पनि १५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । धेरै किसानले वार्षिक ५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्न थालेका छन् ।’

उनका अनुसार गाउँमा सुन्तला खेती गर्ने किसानको संख्या बढ्दो छ । विदेश गएका कतिपय युवा फर्किएर यही खेतीमा लागेका छन् । थोरै जग्गामा पनि दीर्घकालीन आम्दानी लिन सकिने भएकाले किसानको आकर्षण बढेको हो । खेतीले नगद आम्दानी दिन थालेपछि गाउँमै बसेर परिवारसँगै काम गर्ने वातावरणसमेत बनेको छ ।

तर, किसानका समस्या भने उस्तै छन् । रोगकिराको प्रकोप, बोट मर्ने समस्या, मलखादको अभाव, सिँचाइ र कामदार नपाउने समस्याले उत्पादनमा असर पार्ने गरेको छ । उत्पादन राम्रो भए पनि बजार मूल्यमा एकरूपता नहुँदा किसानले अपेक्षित आम्दानी लिन सकेका छैनन् । कतिपयले व्यापारीले भनेको मूल्यमा बगैंचा नै ठेक्कामा दिनुपर्ने बाध्यता छ । उचित मूल्यको प्रतीक्षामा बोटमै सुन्तला राख्दा अर्को वर्षको उत्पादनमा असर पर्ने चिन्ता पनि छ ।

किसानले उत्पादनको आधारमा अनुदान र प्रोत्साहन दिनुपर्ने माग गर्दै आएका छन् । सबै किसानलाई एकै प्रकारको अनुदान दिनुभन्दा वास्तविक उत्पादन, खेतीको क्षेत्रफल र किसानको मेहनतका आधारमा सहयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । रोगकिरा नियन्त्रणका लागि नियमित प्राविधिक सेवा, गुणस्तरीय बिरुवा, मलखाद, सिँचाइ र बजार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने छहरा, अमलावासका टिकाराम पोखरेलले बताए ।

सुन्तला भण्डारणको समस्या पनि किसानका लागि चुनौती बनेको छ । माघसम्म बोटमै रहने सुन्तला उचित मूल्य नपाए पनि अर्को बालीका लागि समयमै टिप्नुपर्ने अवस्था आउँछ । बोटमा धेरै समय फल राख्दा अर्को वर्षको उत्पादन घट्न सक्ने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको सुन्तला जोन सञ्चालक समिति अध्यक्ष पोखरेल बताउँछन् । कोल्डरुम र कोल्डस्टोरको व्यवस्था भए किसानले केही समय सुन्तला भण्डारण गरेर बजार मूल्यअनुसार बिक्री गर्न सक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सुन्तला जोन कार्यक्रमले पछिल्ला वर्षमा किसानलाई प्राविधिक तथा भौतिक सहयोग गर्दै आएको छ । जोन कार्यालय प्रमुख सन्तोषकुमार चौधरीका अनुसार क्षेत्र विस्तार, थोपा सिँचाइ, यान्त्रिकीकरण, पावर स्प्रेयर, माइक्रोन्युट्रिन्ट, बगैंचा सुदृढीकरण र कोल्डरुम निर्माणमा सहयोग गरिएको छ । यसवर्ष १५ हेक्टर अर्थात् तीन सय रोपनीमा क्षेत्र विस्तार भएको छ । चालु आर्थिक वर्षमा एक हजार रोपनी अर्थात् ५० हेक्टरसम्म विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । ‘किसानलाई प्राविधिक सहयोग र यान्त्रिकीकरणसँगै यसवर्ष प्याकेजिङमा पनि सहयोग गर्ने कार्यक्रम छ,’ उनले भने ।

गतवर्ष जिल्लामा आठ हजार सात सय ३० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष जिल्लामा सुन्तलाको कारोबार ५८ करोड रुपैयाँ बराबर भएको थियो । जिल्लाको चापपानी, छहरा, मुझुङ, पालुङमैनादी, भुवनपोखरी, जल्पा, बन्दीपोखरा र नायरनमतलेसमा सुन्तला खेती हुँदै आएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
प्राङ्गारिक खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

प्राङ्गारिक खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेती प्रवर्द्धनका लागि किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ । कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक ख...

#किसान
Compare →
Nagarik News
1d ago
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्।

#किसान
Compare →
Onlinekhabar
1d ago
दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

५ मंसिर, काठमाडौं । दूधको भाउ कम्तीमा लिटरको ७५ रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्दै चितवनका दुग्ध किसानले ३० कात्तिकमा  सडक आन्दोलन चेतावनी सहित विज्ञप्ति निकाले । दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन गरी ५५ प्रतिशत …

#किसान
Compare →
Bizshala
3d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612