Trending
Prev Story
Next Story

विचार | अर्थतन्त्रमा अन्नबालीको घट्दो योगदान

Ekantipur •
November 22, 2026 • 03:03 AM
3
3 reads 0 reactions

किसान वा उत्पादकलाई राज्यले कृषिमा विविधीकरणको अवधारणा बुझाउन नसकेकै कारण अन्य बालीमा किसानको चाहना नबढेको हुन सक्छ । यसले गर्दा अन्नभन्दा अन्नबाहेकका कृषि उत्पादनबाट अर्थतन्त्रमा राम्रो योगदान भएको पाइन्छ ।

विचार | अर्थतन्त्रमा अन्नबालीको घट्दो योगदान

किसान वा उत्पादकलाई राज्यले कृषिमा विविधीकरणको अवधारणा बुझाउन नसकेकै कारण अन्य बालीमा किसानको चाहना नबढेको हुन सक्छ । यसले गर्दा अन्नभन्दा अन्नबाहेकका कृषि उत्पादनबाट अर्थतन्त्रमा राम्रो योगदान भएको पाइन्छ ।

सिन्धुलीको मरिण गाउँपालिकाको कात्तिके गाउँ पुग्दा एक महिला पिठ्युँमा बच्चालाई सलले बाँधेर बारीमा कोदो रोप्दै थिइन् । कुराकानीकै क्रममा उनले कोदो खेती सजिलो रहेको र लागत तथा सिँचाइ पनि धेरै नलाग्ने बताइन् । ‘न त धेरै मल चाहियो, न त धेरै पानी । कोदोको भाउ पनि राम्रो छ, दसैंताका त झन् बढ्छ,’ उनले भनिन् ।

यस भेगको दक्षिणतिर मरिण खोला बग्छ । यही खोलाको नामबाट गाउँपालिकाको नाम राखिएको हो । मरिण खोलाबाट सिँचाइ हुने तल्लो भेगमा धान र गहुँ प्रशस्त फल्छ भने माथिल्लो भेगका भिरालो जमिनमा कोदो र मकै खेतीको प्रचुरता छ । यहाँका उत्पादनका बजार कपिलाकोट, सिन्धुली बजार तथा सर्लाहीका लालबन्दी र हरिवन हुन् ।

डिसेम्बर २०२३ मा नेपाल सरकार, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र विश्व खाद्य संगठनले संयुक्त रूपमा ‘नेपालका कोदोजन्य रैथाने बालीहरू : परम्परा, विज्ञान र प्रविधि’ शीर्षकको पुस्तक प्रकाशन गरेका छन् । पुस्तकमा कोदो बालीलाई परम्परा र भूगोलमा आधारित खाद्यान्नका रूपमा मात्र नभई राष्ट्रिय चिनारी बनाउने, जैविक विविधतामा महत्त्वपूर्ण योगदान गर्ने र अर्थतन्त्रलाई टेवा पुर्‍याउने दिगो बालीका रूपमा प्रस्तुत गरिएको छ ।

कोदो र अन्य रैथाने उत्पादनलाई व्यावसायिकीकरण गरी आधुनिक खाद्य शृंखलासँग जोड्न सके एकातिर रैथाने बालीको प्रवद्र्धन हुन्छ भने अर्कोतिर किसानको आम्दानी बढ्ने, ग्रामीण रोजगारी सिर्जना हुने र नेपालको खाद्य प्रणाली आत्मनिर्भर बन्ने बाटो खुल्न सक्छ ।

पूर्वअर्थमन्त्री रामशरण महतको पुस्तक ‘ट्रायल्स, ट्रेमर्स एन्ड होप : द पोलिटिकल इकोनोमी अफ कन्टेम्पोररी नेपाल’ (सन् २०२०) मा सन् १९९० र २००० पछि नेपाली समाजमा आएको वैश्विक परिवर्तनले पारेको प्रभाव तथा रेमिट्यान्स प्रवाहका कारण खेतबारी बाँझो रहन पुगेको व्यावहारिक पक्षलाई तथ्यांकसहित प्रस्तुत गरिएको छ ।

उत्तर अमेरिकाको आर्थिक समृद्धिमा युरोप र अफ्रिकाबाट मानिस बसाइँ सरेर गएको योगदान रहेको मानिन्छ । बसाइँसराइसँगै उनीहरूले आफ्नो धर्म, संस्कृति र रैथाने बालीसमेत त्यहाँ लगेका थिए । तर, मकै उत्तर अमेरिकामा युरोप वा अफ्रिकाबाट लगिएको बाली होइन । यसको उत्पत्ति मेक्सिकोमा भएको हो र अमेरिकी महादेशका आदिवासी समुदायले हजारौं वर्षदेखि खेती गर्दै आएका थिए । पछि मकै विश्वका अन्य महादेशमा फैलियो । आधुनिक कृषि प्रविधि, जात विकास, औद्योगिक प्रयोग तथा निर्यात व्यापारले उत्तर अमेरिकामा मकैको आर्थिक महत्त्व बढाएको छ । यसै हिसाबमा मदिरा उत्पादन, ढिँडो संस्कृतिको विकास तथा विविध स्वास्थ्य दृष्टिकोणले उपयुक्त कोदोले नेपालको अर्थ व्यवस्थामा पनि राम्रै योगदान गर्न सक्ने देखिन्छ ।

गाउँमा युवा नबस्नु वा उमेर पुगेपछि नेपालमा रोजगारी खोज्नुभन्दा विदेश जाने प्रयास गर्नु ठूलो कुरा रहेन । तर, रेमिट्यान्समुखी अर्थ व्यवस्थाका कारण गाउँघरका जग्गाजमिन बाँझो बस्नु विकराल समस्याका रूपमा देखा पर्न थालेको छ । विदेश जाने प्रक्रियालाई रोक्नु विकास वा विश्वव्यापीकरणको विपरीत मानिन्छ । तर, आफ्नै मुलुकमा रहेको खेतबारी बाँझो छाडेर विदेश जानु भने राम्रो कुरा होइन । सरकारले नीतिगत व्यवस्था गरेर युवा वर्गलाई नेपालमै टिकाउने उपाय नखोजेसम्म यो क्रम नरोकिने लगभग पक्का छ । माओवादी द्वन्द्वकालकै समकालीन अवधिमा नेपालमा विश्वव्यापीकरणको अवधारणा भित्रिनु तथा माओवादी युद्धमा बाँच्नका लागि पनि विदेश पलायनको क्रम बढेको हुन सक्छ ।

नेपालको आर्थिक वृद्धि करिब चार प्रतिशत हुँदा कृषि क्षेत्रको वृद्धिदर करिब दुई प्रतिशत रहेको पाइन्छ । यो समग्र आर्थिक वृद्धिदरको आधा हो । यस्तो अवस्था अर्थतन्त्रका लागि उत्साहजनक मानिँदैन । तर, आ.व. २०८१/८२ मा यसमा सुधार भएको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयको संशोधित अनुमानअनुसार उक्त वर्ष नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत र कृषि (वन तथा मत्स्यसहित) क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत रहेको छ । समग्र आर्थिक वृद्धिदरभन्दा कृषिको वृद्धिदर १.३८ प्रतिशत बिन्दुले कम हो । कृषिलाई जनजीविकाको आधार मान्ने मुलुकमा कृषि क्षेत्रको वृद्धिदर समग्र अर्थतन्त्रको भन्दा कम हुनु अपेक्षित अवस्था होइन । यद्यपि, कृषि क्षेत्रको वृद्धिदरमा भएको सुधारले कृषक समुदायको हितमा सकारात्मक योगदान पुर्‍याउन सक्छ । यसबाट कृषि र कृषक दुवै समृद्ध हुन सक्छन् ।

वर्तमान समयमा कुल रोजगारीको ठूलो हिस्सा कृषि क्षेत्रले नै दिलाएको पाइन्छ । तैपनि नेपाल सरकारले कृषि क्षेत्रमा गरेको लगानी र त्यसको प्रतिफल हेर्दा उदेकलाग्दो देखिन्छ । के यही हो त कृषिलाई रोजगारी तथा उत्पादनसँग जोड्ने सेतुको आधार ?

नेपालको धान उत्पादन भारत र बंगलादेशको भन्दा कम छ । यी मुलुकले धान तथा चामलको उत्पादन र व्यापारबाट ठूलो आम्दानी गर्छन् । तर, २०१५ सालसम्म धान निर्यात गर्ने मुलुक नेपालले चामल तथा धान आयात गर्न थालेको दशकौं भइसकेको छ । नेपाली कृषि प्रणालीले किन धानलाई प्रमुख अन्न मान्दछ ? धानको अर्थतन्त्रमा धेरै योगदान भएर हो कि सम्पूर्ण नेपालीले यसलाई बिहान–बेलुका खानाका रूपमा उपयोग गरेर हो ? के यसको विकल्प कोदो तथा अन्य बाली हुन सक्दैनन् ? किसान वा उत्पादकलाई राज्यले कृषिमा विविधीकरणको अवधारणा बुझाउन नसकेकै कारण अन्य बालीमा किसानको चाहना नबढेको हुन सक्छ ।

माथिको प्रसंगमा उत्तर अमेरिकाको अर्थतन्त्रमा मकैजस्ता रैथाने बालीले योगदान गर्न सक्दा हाम्रा नेपाली रैथाने बालीले नेपाली अर्थतन्त्रमा कति योगदान गरे भन्ने प्रश्न आउँछ । यसमा सरकार, समाज हुँदै व्यक्तिमा आएर कुरा अड्किन्छ । त्यस कारण पनि वर्तमान सरकारले निर्वाहमुखी कृषिप्रणालीभन्दा व्यावसायिक र वैज्ञानिक कृषि प्रणालीमा ध्यान दिन आवश्यक छ । तर, वर्तमान सरकारसमेत विगतका सरकारझैं मल, सिँचाइ, ग्यास आदिमा अल्झिएर बस्दा जनतामा एक प्रकारको निराशापन छाइसकेको अनुभव ग्रामीण तहमा भएको छ । समयमा रासायनिक मल दिन नसक्ने सरकारबाट कृषिमा आर्थिक सहयोगको आस नागरिक जीवनमा पर्न छाडेको छ ।

तुलनात्मक रूपमा तथ्यांकहरूको अध्ययन र विश्लेषण गर्दा नेपालमा अन्नबालीजन्य कृषि उत्पादनभन्दा गैरअन्न उत्पादनहरू जस्तै: डेरी उत्पादन, चिया, कफी, पोल्ट्री, तरकारी, मसला, हर्बल उत्पादन तथा मत्स्यपालनमा बढी आम्दानी हुने गरेको पाइन्छ । समग्रमा, अन्नभन्दा अन्नबाहेकका कृषि उत्पादन बढी लाभकारी हुन सक्ने र यिनको योगदान अर्थतन्त्रमा पनि राम्रै भएको पाइन्छ । पछिल्लो समय बढ्दै गएको कफी संस्कृति, फार्महाउस अवधारणा र होमस्टे यसकै परिणाम हुन सक्छन् । पहिले चियाको स्थान हिजोआज कफीले लिएको पाइन्छ । यसका कारण उत्पादनमा विविधता ल्याउने काम सरकारले भन्दा किसान तथा उत्पादक स्वयंले गर्न थालेको पाइन्छ ।

सादेशमणि लेखक त्रिभुवन विश्वविद्यालय, सिन्धुली वहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन् ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612