तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, ३९ प्रतिशत बढ्यो आयात
काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिना (साउन–असोज) सम्ममा मुलुकको बाह्य क्षेत्रसँगै आन्तरिक क्षेत्रमा पनि सुधारको संकेत देखिन थालेको छ ।
लामो समयदेखि मुलुकको भुक्तानी सन्तुलन र चालु खातामा सुधार देखिए पनि आयात–निर्यात एवं कर्जा विस्तारमा सुधार देखिन सकेको थिएन । यसमा अहिले भने केही सुधारको संकेत देखिएको हो ।
‘समग्रमा हेर्दा अर्थतन्त्र सुधारोन्मुख देखिन्छ । भुक्तानी सन्तुलन, चालु खातामा सुधार छैन, आयात, कर्जा बढेकाले आन्तरिक मागमा पनि सुधार आइरहेको मान्न सकिन्छ,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिनाले भने । विशेषगरी आयतामा वृद्धि हुँदा पनि यो तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम अझै ३ खर्ब ३ अर्बले धेरै छ ।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानीलगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो । यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचतसमेत भनिन्छ । आयात बढे पनि रेमिट्यान्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधारलगायतले मुलुकको आम्दानी बढेको हो ।
लामो समयदेखि मुलुकको भुक्तानी सन्तुलन र चालु खातामा सुधार देखिए पनि आयात–निर्यात एवं कर्जा विस्तारमा सुधार देखिन सकेको थिएन, यसमा अहिले भने केही सुधारको संकेत देखिएको हो । आयात अघिल्लो पटकको यही अवधिभन्दा ३८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । त्यसअघि ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यात पनि ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । यसअघि १ खर्ब १४ अर्बको वस्तु तथा सेवा निर्यात भएको थियो ।
दसैंतिहारलगायत चाडपर्वअघिको समय भएकाले पनि आयात बढेको सरोकारवाला बताउँछन् । यस अवधिमा कुल ७ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअघि यही अवधिमा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । २७ प्रतिशतले धेरै रेमिट्यान्स भित्रिएको हो ।
असोजमा मात्रै करिब २ खर्ब ६७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । करिब ३९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । पछिल्लो ७ महिनादेखि निरन्तर मासिक दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । दसैंतिहारजस्ता चाडपर्व नजिकिँदासमेत तुलनात्मक रूपमा अन्य महिनामा भन्दा रेमिट्यान्स भित्रिने दर बढ्ने गर्छ ।
यस अवधिमा २ अर्ब ६९ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत वर्षको यही अवधिमा ३ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो । ३ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने १.७५ प्रतिशतले बढेको छ । यसअघि २ लाख ७ सय १६ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकामा यस वर्ष यो अवधिमा २ लाख ४ हजारले यस्तो स्वीकृति लिएका छन् ।
रेमिट्यान्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ । विदेशी मुद्राको सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । हालको सञ्चिति ऐतिहासिक उच्च हो । डलरका आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च छ । यस्तो सञ्चिति २७ अर्ब ३८ करोड डलर छ ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १७ महिना ६ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ । नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त मानिन्छ । तर, पछिल्लो समय यस्तो सञ्चिति सूचक घट्ने क्रममा छ । गत असारमा १९ महिनाभन्दा बढीको आयात धान्ने अवस्था रहेकामा अहिले केही घटेको हो ।
मुलुकको चालु खाता पनि २ खर्ब ७९ अर्ब रुपैयाँ नाफामा देखिएको छ । वार्षिक रूपमा भने आर्थिक वर्ष २०८०/८१ देखि यस्तो खाता नाफामा छ । चालु खातालाई मुलुकको खुद आम्दानीका रूपमा समेत हेरिन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन–असोजमा औसत मूल्यवृद्धि ६.२२ प्रतिशत छ । गत आर्थिक वर्ष २०८२/८३ को यही अवधिमा औसत मूल्य वृद्धि १.६७ प्रतिशत थियो । मासिक आधारमा असोजमा मात्रै ६.३७ प्रतिशतले मूल्यवृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा औसत ५.५ प्रतिशतमा मूल्यवृद्धि सीमित राख्ने लक्ष्य राखेको छ ।
अघिल्लो वर्ष यही समयमा मूल्यवृद्धि कम भएकाले पनि त्यसका आधारमा अहिले धेरै देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तिमिल्सिना बताउँछन् । तर, वर्षको अन्त्यसम्ममा मूल्यवृद्धिमा सुधार हुँदै जाने र लक्ष्यभित्रै रहने उनको प्रक्षेपण छ ।
यी तीन महिनामा घिउ–तेलमा सबैभन्दा धेरै १६.६८, फलफूलमा १५.९९, चिनी र चिनीले बनेका सामग्रीमा १२.१४ र माछा–मासुमा ७.३४ प्रतिशतले महँगी बढेको हो । तरकारीमा ७.०७ र मरमसलामा ६.७१ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
गैरखाद्य तथा सेवाअन्तर्गत यातायातमा १२.७७, मदिरा तथा पेय पदार्थमा ८.८३ र कपडाजन्य तथा जुत्ताचप्पलमा ७.०७ प्रतिशतले मूल्यवृद्धि भएको छ । फर्निसिङ तथा घरायसी उपकरणमा ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले मूल्य बढेको हो ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।