बिहीबार राति धरान रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले उपाधि भिडन्त पक्का गरेको हो ।
सुनसरी — नेपाल पुलिस क्लब रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति धरान–१६ स्थित धरान रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले उपाधि भिडन्त पक्का गरेको हो।
पुलिसको एकपक्षीय जितमा मीना देउवा र रेखा पौडेलले दुई–दुई गोल गरिन्। त्यस्तै, बिर्षणा चौधरी र अनुष्का शेर्पाले एक–एक गोल थपिन्।
खेलको सुरुदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै तीन गोल गरेको थियो। खेलको पाँचौँ मिनेटमा मीना देउबाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। त्यसपछि ३०औँ मिनेटमा रेखा पौडेलले गोल थपिन्। पहिलो हाफको ३४औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा पनि पुलिसको आक्रमण रोकिएन। खेलको ५५औँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता ४–० पुर्याइन्। त्यसको छ मिनेटपछि ६१औँ मिनेटमा बिर्षणा चौधरीले गोल थपेपछि पुलिसले ५–० को अग्रता कायम गर्यो।
खेलको ७८औँ मिनेटमा अनुष्का शेर्पाले थप एक गोल गरेपछि पुलिसले आयोजक स्वर्णिममाथि ६–० को फराकिलो जित सुनिश्चित गर्यो। घरेलु मैदानमा समर्थकको साथ पाएको आयोजक टोलीले भने पुलिसविरुद्ध कुनै गोल फर्काउन सकेन।
यस जितसँगै पुलिसले फाइनलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँगको भेट पक्का गरेको छ। यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
एपीएफ र पुलिसबीचको फाइनल भिडन्त मंसिर ५ गते धरान रंगशालामा हुनेछ। दुवै टोली विभागीय संरचनामा रहेर महिला फुटबलमा प्रतिस्पर्धा गर्दै आएका हुन्। अब उपाधिका लागि हुने प्रतिस्पर्धामा दुई विभागीय टोलीबीचको भिडन्तले प्रतियोगिताको रोमाञ्चकता थप्ने अपेक्षा गरिएको छ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।