Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

Nagarik News •
November 21, 2026 • 07:28 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पु¥याउन निजी क्षेत्रले माग गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पुर्‍याउन निजी क्षेत्रले माग गरेको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न भारतसँग हवाई प्रवेशमार्गमा सहमति जुटाउनुपर्ने उनीहरूको माग छ।

प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै छन्। भ्रमणका क्रममा नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण मानिएको प्रवेशमार्गको विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। लामो समयदेखि थाती रहेको यस विषयमा सकारात्मक नतिजा आउनेमा निजी क्षेत्र आशावादी देखिएको छ।

नेपालले भारतसँग महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुर गरी चारवटा हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको छ। अहिले नेपालबाट पाँचवटा मार्ग प्रयोग गरी जहाज बाहिरिने गरे पनि नेपाल प्रवेशका लागि अधिकांश अन्तर्राष्ट्रिय वायुसेवाले सिमरा क्षेत्रको आकाश प्रयोग गर्नुपर्ने बाध्यता छ। भुटान एयरलाइन्सले मात्र संखुवासभातर्फको प्रवेशमार्ग प्रयोग गर्दै आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका क्रममा भएको छलफलमा महेन्द्रनगर हवाई मार्ग उपलब्ध हुने सम्भावना देखिएको छ।

उक्त मार्गबाट सीमित उचाइमा मात्रै प्रवेश अनुमति पाए पनि उडान व्यवस्थापनमा सहजता आउने उनको भनाइ छ। महेन्द्रनगर मार्ग उपलब्ध भए उडान समय १५ देखि २० मिनेटसम्म बचत हुन सक्ने र इन्धन तथा सञ्चालन खर्च घट्ने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले हवाई प्रवेशमार्गलगायतका विषयमा सहमति जुटाउन नेपाल–भारतबीचको राजनीतिक सम्बन्ध र आपसी विश्वास सुदृढ गर्नुपर्ने बताए। ‘भूपरिवेष्टित तथा सार्वभौम मुलुकका रूपमा नेपालले पाउनुपर्ने न्यूनतम अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘थप हवाई प्रवेशमार्ग खुल्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न प्रमुख सहरमा सिधा उडान सञ्चालन गर्ने बाटो खुल्नेछ।’

पर्यटन व्यवसायीले पोखरा–दिल्ली सिधा उडान सञ्चालनका लागि समेत भारतसँग पहल गर्न सरकारलाई आग्रह गरेका छन्। गत असोज ७ गतेदेखि फ्लाई दुबईले पोखरा–दुबई सिधा उडान सुरु गरेपछि पर्यटन व्यवसायी उत्साहित छन्। यसले पोखरामा विदेशी पर्यटकको आगमन बढाउन सहयोग पुग्ने उनीहरूको अपेक्षा छ।

नेपाल प्रवेशका लागि सिमराको आकाश प्रयोग गर्नुपर्ने बाध्यताले पश्चिम नेपालका विमानस्थलमा हुने उडान लामो र खर्चिलो बनेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पश्चिमतर्फबाट भैरहवा आउने विमानले सिमरा हुँदै प्रवेश गर्दा करिब तीन सय किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्छ। पोखरा आउने विमानले पनि करिब एक सय ८५ किलोमिटर थप दूरी तय गर्नुपर्ने अवस्था छ। यसले इन्धन खपत, उडान समय र सञ्चालन खर्च बढाएको छ।

जनकपुर प्रवेशमार्ग उपलब्ध भए पूर्वबाट आउने विमानले सिमरा घुम्नुपर्ने अवस्था अन्त्य हुने र पाँचदेखि सात मिनेट उडान समय बचत हुन सक्ने हवाई क्षेत्रका विज्ञहरूको भनाइ छ।

भैरहवा प्रवेशमार्गका विषयमा भारतले गोरखपुरस्थित सैनिक हवाई आधारका कारण सुरक्षा तथा प्राविधिक समस्या देखाउँदै आएको छ। त्यसैले महेन्द्रनगर मार्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूको सुझाव छ।

नेपालले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा महेन्द्रनगर हवाई प्रवेशमार्गको विषय उठाएको थियो। त्यतिबेला मोदीले उक्त मार्ग ६ महिनाभित्र कार्यान्वयनमा आउने बताएका थिए तर १२ वर्ष बितिसक्दा पनि नेपालले अनुमति पाउन सकेको छैन।

सन् २०२३ जुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि एउटा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको बताइएको थियो तर त्यसले पनि मूर्तरूप लिन सकेन।

लुम्बिनी तथा आसपासका बौद्ध तीर्थस्थलमा अन्तर्राष्ट्रिय पर्यटकको पहुँच सहज बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने उद्देश्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको थियो तर सन् २०२२ मा उद्घाटन भएको चार वर्ष बितिसक्दा पनि उक्त विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि उस्तै छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जग्गा अधिग्रहणबाहेक सात करोड ६१ लाख अमेरिकी डलर खर्च भएको थियो। विमानस्थल सञ्चालन हुने अपेक्षामा भैरहवा क्षेत्रमा निजी क्षेत्रले होटल तथा अन्य पर्यटन व्यवसायमा करिब ७० अर्ब रुपैयाँ लगानी गरिसकेको छ। निर्माणाधीन परियोजना पूरा हुँदा लगानी एक खर्ब रुपैयाँसम्म पुग्ने अनुमान छ। विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा निजी क्षेत्रको लगानी जोखिममा परेको सरोकारवालाको भनाइ छ।

भैरहवा विमानस्थलबाट जजिरा एयरवेजले उद्घाटनपछि अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । त्यसपछि नेपाल वायुसेवा निगम, फ्लाई दुबई, थाई एयर एसिया, हिमालय एयरलाइन्स र कतार एयरवेजले विभिन्न समयमा उडान गरेका थिए।

सन् २०२५ अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका क्रममा चारवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले करिब एक महिनासम्म भैरहवाबाट उडान गरेका थिए। यात्रुको मागअनुसार उडान सम्भव भए पनि अपेक्षाअनुसार यात्रु नपाउनु र सञ्चालन खर्च बढी हुनुका कारण वायुसेवा कम्पनीले भैरहवा र पोखराका उडान घटाएको सरोकारवालाको भनाइ छ। त्यसैले प्रवेशमार्गको समस्या समाधानसँगै यात्रु संख्या बढाउने र आवश्यक सेवा विस्तार गर्नुपर्ने उनीहरूको सुझाव छ ।

निजगढभन्दा पहिले पोखरा र भैरहवा सञ्चालनमा जोड

सरोकारवालाले पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआउँदासम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा हतार गर्न नहुने सुझाव दिएका छन्।

भारतले निजगढ नजिकै आफ्नै भूमिमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जोड दिइरहेको अवस्थामा नेपालले पनि आवश्यक हवाई प्रवेशमार्गको सुनिश्चितता गर्नुपर्ने उनीहरूको तर्क छ।

भारतले निजगढका लागि आवश्यक हवाई मार्ग उपलब्ध नगराए विमानस्थल निर्माण गरे पनि उपयोगमा समस्या आउन सक्ने उनीहरूको चिन्ता छ। त्यसैले अहिले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने तथा यात्रु र वायुसेवा कम्पनी आकर्षित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ।

प्रकाशित: ५ मंसिर २०८३ १३:१३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै सुनिता न्हेम्हाफुकी पनि सहभागी हुने

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै सुनिता न्हेम्हाफुकी पनि सहभागी हुने

× काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष एवं नेपाल उद्योग वाण...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
4h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612