Trending
Prev Story
Next Story

बालेन्द्र शाहका ४३२ अभिव्यक्ति: सुशासन र आक्रोशको डिजिटल ऐना

Nagarik News •
November 21, 2026 • 06:55 AM
3
3 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह सार्वजनिक ठाउँमा देखा पर्न, सम्बोधन गर्न त्यति रुचाउँदैनन्। जनताको मुद्दासँग सम्बन्धित प्रश्नसँग सधैं डराउँछन्।

बालेन्द्र शाहका ४३२ अभिव्यक्ति: सुशासन र आक्रोशको डिजिटल ऐना

प्रधानमन्त्री बालेन्द्र शाह सार्वजनिक ठाउँमा देखा पर्न, सम्बोधन गर्न त्यति रुचाउँदैनन्। जनताको मुद्दासँग सम्बन्धित प्रश्नसँग सधैं डराउँछन्। उनी जे गर्छन्, आफ्नै टिमभित्रै बसेर गर्छन्। यद्यपि सामाजिक सञ्जालमा भने उनको सक्रियता लोभलाग्दो नै छ। सामाजिक सञ्जाललाई राजनीतिक सञ्चारको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने नेताहरूमध्ये बालेन्द्र अग्रणी छन्। यहाँ उनले सामाजकि सञ्जालमा पोस्ट गरिएका केही अभिव्यक्तिको विश्लेषण गर्ने प्रयास गरिएको छ। त्यसका लागि उनको एक्स (यसअघि ट्विटर) ह्यान्डलबाट सामग्री लिइएको हो।

सन् २०२१ देखि २०२६ अगस्टसम्मको अवधिमा उनको एक्स ह्यान्डलबाट चार सय ३२ वटा पोस्ट गरिएको तथ्यांकले देखाउँछ। केही विवादास्पद अभिव्यक्ति भएका पोस्ट भने उनले तत्काल हटाएकाले यहाँ विश्लेषणमा समावेश गरिएको छैन। साथै फेसबुकमा पोस्ट भएका सामग्रीलाई पनि यहाँ समेटिएको छैन। बालेन्द्रका पोस्टहरूको विश्लेषण गर्दा उनको सञ्चार शैली, राजनीतिक प्राथमिकता, भावनात्मक प्रवृत्ति, रणनीतिक सोच र जनसंलग्नताको चित्र देखिन्छ। त्यसैले उनका पोस्टहरू एउटा युवा नेताको राजनीतिक यात्रा, सामाजिक सरोकार, भावनात्मक उतारचढाव र सत्ता संघर्षको दस्ताबेजका रूपमा रहेका देखिन्छन्।

बालेन्द्रको पोस्टिङको प्रवृत्ति हेर्दा सबैभन्दा धेरै पोस्ट सन् २०२२ मा गरिएको छ, जुन स्थानीय तह निर्वाचनको वर्ष थियो। उनको ह्यान्डलबाट त्यस वर्ष एक सय ४६ वटा पोस्ट गरिएका छन्, जुन कुल पोस्टको करिब ३४ प्रतिशत हो।

बालेन्द्रले सन् २०२३ मा एक सय सात, २०२४ मा ८७, २०२५ मा ६१ र २०२६ को अगस्टसम्म २८ पोस्ट गरेका छन्। यसले उनको सञ्चार गतिविधि राजनीतिक घटनाक्रमसँगै परिवर्तन हुने गरेको देखाउँछ। बालेन्द्रले मुलुकको कार्यकारी तहमा पुगेपछि कम पोस्ट गर्न थालेका छन्।

काठमाडौं महानगरपालिकाको मेयर कार्यकालमा उनले स्थानीय विकास, सम्पदा, सरसफाइजस्ता विषयमा निरन्तर पोस्ट गरेका थिए भने २०२५ पछि राष्ट्रिय राजनीति, विपद् व्यवस्थापन र नेतृत्वमा केन्द्रित भएका छन्। यो परिवर्तन उनको राजनीतिक भूमिका र जिम्मेवारीसँगै सञ्चार प्राथमिकता पनि फेरिएको संकेत हो। उनको पोस्टिङ प्रवृत्तिमा देखिएको ढाँचालाई तीन चरणमा बाँड्न सकिन्छ।

पहिलो चरण सन् २०२१–२०२२ को हो, जुन उनको राजनीतिक उदय र चुनावी अभियानको समय थियो। त्यसबेला उनका पोस्टहरूमा आक्रोश, व्यङ्ग्य, विद्रोह र परिवर्तनको हुटहुटी प्रबल थियो। यो चरणका पोस्टमा पुराना दल, भ्रष्टाचार, मिटरब्याज, सहकारी ठगी, फोहोर व्यवस्थापन, बाढीपहिरोजस्ता विषयमा कडा टिप्पणी भेटिन्छ।

उनले ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनवटै सरकारमा’ जस्ता पोस्ट गरेर पुरानो राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए। यस चरणमा उनको भाषा आक्रामक, प्रत्यक्ष र कहिलेकाहीं साहसिक थियो। उनले आफूलाई ‘सत्ताको होइन, जनताको’ नेताका रूपमा प्रस्तुत गर्न खोजेका थिए।

दोस्रो चरण सन् २०२३–२०२४ को हो, जुन उनको मेयर कार्यकालको समय थियो। यस चरणमा उनका पोस्टहरूको स्वर पूर्ण रूपमा बदलियो। आक्रोशको ठाउँमा कामको अपडेट, विकासको जानकारी र सेवा प्रवाहको विवरण थपियो। सडक, फुटपाथ, पार्क, हरियाली, सम्पदा पुनर्निर्माण, फोहोर व्यवस्थापन, छात्रवृत्ति, स्वास्थ्य शिविर, सार्वजनिक यातायात, प्रदूषण नियन्त्रणजस्ता विषयमा उनले निरन्तर पोस्ट गरे। यस चरणमा उनले आफूलाई ‘काम गर्ने मेयर’का रूपमा प्रस्तुत गर्न खोजेका थिए। उनका पोस्टहरूमा तथ्यांक, लागत, समयसीमा र उपलब्धिको विवरण हुन्थ्यो। यसले उनको कार्यशैली पारदर्शी र जवाफदेही बनाउन मद्दत गर्‍यो तर यस चरणमा उनले राजनीतिक आलोचना जारी राखे, विशेष गरी केन्द्र सरकार र पुराना दलहरूप्रति।

तेस्रो चरण सन् २०२५–२०२६ को हो। यस चरणमा उनका पोस्टहरूले राष्ट्रिय नेतृत्व, विपद् व्यवस्थापन, निर्वाचन र संविधान संशोधनजस्ता विषय समेटेका छन्।

उनले गत वर्षको बाढीपहिरो, रसुवाको बाढी, सुनसरीको घटनाजस्ता विषयमा चिन्ता व्यक्त गरे। साथै उनले निर्वाचनपछिको राजनीतिक परिदृश्य, गठबन्धन र प्रधानमन्त्रीको भूमिकामा केन्द्रित पोस्ट गरे। यस चरणमा आइपुग्दा उनको भाषा परिपक्व, सन्तुलित र जिम्मेवार बन्दै गएको देखिन्छ। उनले आफूलाई ‘राष्ट्रिय नेता’का रूपमा स्थापित गर्न खोजेका छन्।

बालेनका पोस्टहरूलाई विषयगत रूपमा मुख्यतः चार भागमा बाँड्न सकिन्छ। पहिलो, सहरी शासन र सेवा प्रवाहसँग सम्बन्धित पोस्टहरू। यसमा सडक, फुटपाथ, पार्क, हरियाली, सम्पदा पुनर्निर्माण, फोहोर व्यवस्थापन, छात्रवृत्ति, स्वास्थ्य शिविर, सार्वजनिक यातायात, प्रदूषण नियन्त्रणजस्ता विषय समेटिएका छन्। यी पोस्टहरूले उनको कार्यशैली झल्काउँछन् र उनलाई ‘डेलिभरी मेयर’का रूपमा प्रस्तुत गर्छन्।

दोस्रो, संस्कृति र राष्ट्रिय गौरवसँग जोडिएका पोस्टहरू। दसैं, तिहार, छठ, बुद्ध जयन्ती, इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ, नेपाल संवत्, खेलकुद, सगरमाथाजस्ता विषयमा उनले शुभकामना र गौरव व्यक्त गरेका छन्।

यी पोस्टहरूले उनको सांस्कृतिक जरा र राष्ट्रिय भावनालाई देखाउँछन्। तेस्रो, राजनीतिक आलोचना र भ्रष्टाचारविरुद्धका पोस्टहरू। पुराना दल, नेतृत्व, भारतीय हस्तक्षेप, विपद् व्यवस्थापनको कमजोरी, मिटरब्याज, सहकारी ठगीजस्ता विषयमा बालेनले कडा आलोचना गरेका छन्। यी पोस्टहरूले उनको राजनीतिक अजेन्डा र लडाकु स्वभावलाई देखाउँछन्। चौथो, कविता, संगीत र व्यक्तिगत अभिव्यक्ति। छोटा कविता, गीत, पारिवारिक स्मृति, प्रेरणादायी भनाइहरूले उनको संवेदनशील पक्ष देखाउँछन्। यी पोस्टहरूले उनलाई ‘कठोर नेता’भन्दा पनि ‘भावुक मान्छे’का रूपमा चित्रण गर्छन्।

भावनात्मक प्रवृत्तिको विश्लेषण गर्दा कुल पोस्टमध्ये करिब ३८ प्रतिशत सकारात्मक वा उत्सवमूलक देखिन्छन्। यी पोस्टहरूमा चाडपर्व, खेलकुद, सांस्कृतिक कार्यक्रम, व्यक्तिगत उपलब्धि र जनताप्रतिको कृतज्ञता समेटिएका छन्।

करिब २८ प्रतिशत पोस्ट तटस्थ वा सूचनात्मक छन्, जसमा लिंक, कार्यक्रमको जानकारी, कामको अपडेट हुन्छन्। करिब २४ प्रतिशत पोस्ट आलोचनात्मक वा नकारात्मक छन्, जुन राजनीतिक जवाफदेहिता, भ्रष्टाचार, अन्याय र विपद्प्रतिको आक्रोशमा केन्द्रित छन्। करिब १० प्रतिशत पोस्ट प्रेरणादायी वा काव्यात्मक छन्। यसरी उनले सकारात्मक भावना संस्कृति र राष्ट्रिय गौरवमा र नकारात्मक भावना राजनीतिक असफलता र अन्यायमा प्रयोग गरेका छन्। यो भावनात्मक सन्तुलन उनको सञ्चार रणनीतिको महत्त्वपूर्ण हिस्सा देखिन्छ।

संलग्नताका हिसाबले सबैभन्दा धेरै लाइक पाएका पोस्टहरूमा संस्कृति, संगीत, व्यक्तिगत भावना र प्रेरणा समेटिएका छन्। जस्तै, ‘जय महाकाली आउट नाउ’ले आठ हजार ५९ लाइक पाएको छ। ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’ले ६ हजार नौ सय ७८ लाइक, ‘सर्वे भवन्तु सुखिनः’ ले ६ हजार चार सय ९० लाइक पाएको छ।

यसैगरी सबैभन्दा धेरै फेरि पोस्ट पाएका पोस्टहरू राजनीतिक आक्रोश, भ्रष्टाचार र विवादसँग सम्बन्धित छन्। ‘तेरो भरौटेहरूको पो बा भइस्’ले तीन हजार दुई सय २३ पटक रिपोस्ट पाएको छ। ‘आदिपुरुष’ विवादमा गरिएको पोस्टले दुई हजार तीन सय ४० रिपोस्ट, ‘प्रचण्डज्यू’ पोस्ट दुई हजार १० पटक पुनः पोस्ट भएका छन्।

बालेनका सकारात्मक पोस्टले माया र लोकप्रियता बढाउँछन् भने राजनीतिक विषयमा गरिएका पोस्टले व्यापक पहुँच र परिचालन गर्छन्। लाइक र पुनः पोस्टको यो भिन्नता उनको सञ्चार रणनीतिको महत्त्वपूर्ण पक्ष हो।

भाषाशैलीका दृष्टिले बालेनको पोस्टको भाषा मुख्यतः नेपाली छ। अंग्रेजी प्रायः छोटा घोषणा, संगीत, प्राविधिक विषय वा अन्तर्राष्ट्रिय सन्दर्भमा मात्र देखिन्छ। पोस्टहरू छोटा, सोझा र प्रभावकारी छन्। प्रश्नवाचक, विस्मयादिबोधक चिह्नको प्रयोग बढी छ। भावनात्मक तथा काव्यात्मक शैली कहिलेकाहीं लामो हुन्छ। उनी जनतालाई सिधा सम्बोधन गर्ने,  व्यङ्ग्य गर्ने र नैतिक अपिल गर्ने शैलीमा लेख्छन्। बालेनका पोस्टहरूमा औपचारिक भाषाभन्दा पनि सरल, प्रत्यक्ष र कहिलेकाहीं आक्रामक भाषा देखिन्छ। यसले उनलाई परम्परागत नेताहरूभन्दा भिन्न बनाएको छ। उनको भाषामा ‘हामी’ भन्दा ‘म’ को प्रयोग बढी छ, जसले उनको व्यक्तिगत नेतृत्व शैलीलाई देखाउँछ।

अब केही अन्तर्दृष्टितर्फ लागौं। पहिलो, उनको एक्स ह्यान्डल एउटा ‘राजनीतिक टाइमलाइन’ हो, जसले उनको उदय, सत्ता र राष्ट्रिय भूमिकालाई क्रमबद्ध रूपमा देखाउँछ। दोस्रो, उनले सामाजिक सञ्जाललाई ‘जनमत परीक्षण’ र ‘जनसम्पर्क’को हतियारका रूपमा प्रयोग गरेका छन्।

तेस्रो, उनका पोस्टहरूमा ‘हामीले के ग¥यौं’ भन्दा ‘उनीहरूले के गरेनन्’ भन्ने प्रवृत्ति बढी देखिन्छ, जसले उनको आलोचनात्मक राजनीतिक शैलीलाई देखाउँछ।

चौथो, उनले संस्कृति र राष्ट्रिय गौरवलाई सधैं सकारात्मक ढंगले उठाएका छन्, जसले उनको सांस्कृतिक जरालाई बलियो बनाएको छ। पाँचौं, उनको भाषामा ‘हामी सबै’भन्दा ‘म’ र ‘तपाईं’को प्रयोग बढी छ, जसले उनको व्यक्तिगत नेतृत्व शैलीलाई देखाउँछ।

छैटौं, उनले आफ्ना आलोचकलाई सिधा जवाफ दिने र कहिलेकाहीं आक्रामक हुने प्रवृत्ति देखाएका छन्, जुन उनको ‘नन–कन्भेन्सनल’ राजनीतिक शैलीको हिस्सा हो।

अतः बालेन्द्र शाहको एक्स ह्यान्डल परम्परागत नेताको जस्तो औपचारिक प्रचार माध्यम होइन। यो तीन चरणको डिजिटल डायरी हो– २०२२ को आन्दोलन र चुनाव, २०२३–२०२४ को मेयर कार्यकाल र २०२५–२०२६ को राष्ट्रिय नेतृत्व। उनको सञ्चार शैलीले सांस्कृतिक गौरव र राजनीतिक जवाफदेहितालाई जोड्दै जनतासँग सिधा संवाद गर्छ। प्रधानमन्त्रीका रूपमा उनको डिजिटल सञ्चार अझ महत्त्वपूर्ण हुनेछ, जसले एकैचोटि जनसमर्थन र विवाद दुवै उत्पन्न गर्न सक्छन्। उनको एक्स ह्यान्डल व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र नभई राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण दस्ताबेज बनिसकेको छ।

प्रकाशित: ५ मंसिर २०८३ १२:४० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
‘बालेन्द्र सरकारका आठ महिना प्रतिशोध र अनुत्तरदायी शासनमा बिते’

‘बालेन्द्र सरकारका आठ महिना प्रतिशोध र अनुत्तरदायी शासनमा बिते’

३ मंसिर, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलाले बालेन्द्र शाह नेतृत्वको सरकारका आठ महिना राजनीतिक प्रतिशोध र अनुत्तरदायी शासनमा बितेको टिप्पणी गरेको छ । बिहीबार भेलाको समापनपछि एमाले प्रचार–प्रसार तथा प्रकाशन समितिका प्रमुख निरज आचार्यद्वारा जारी …

#बालेन-शाह #बालेन्द्र
Compare →
Hamro Patro News
4h ago
बालेनको भारत भ्रमणमा लगानी सम्मेलन, भारतीय मन्त्रीको सहभागिता नहुने

बालेनको भारत भ्रमणमा लगानी सम्मेलन, भारतीय मन्त्रीको सहभागिता नहुने

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत व्यापारिक गोलमेच छलफलमा भारतीय सरकारका कुनै पनि मन्त्री सहभागी नहुने भएका छन् । भारतीय लगानी आकर्षित ग...

#बालेन-शाह #बालेन्द्र
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३...

#बालेन-शाह #शाह
Compare →

Related Stories

Opinion & Editorial
Build #2612