काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ (मंसिर ६ देखि ७ गते) सम्म भारतको राजकीय भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले भ्रमण हुन परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।