परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार आइतबारदेखि हुने प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा आफ्नै खर्चमा थप ५२ जना पनि जाने भएका हुन् ।
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने भएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी गराएका हुन् ।
भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा काठमाडौंबाट ३४ सदस्य सहभागी हुने परराष्ट्र सचिव राईले प्रेस ब्रिफिङमा बताए । त्यस्तै, आफ्नै खर्चमा थप ५२ जना पनि भारत जाने भएका छन् । भ्रमण टोलीमा पत्रकारहरू पनि आफ्नै खर्चमा सहभागी हुनेछन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । उनी नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्ने तालिका छ ।
प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मुसँगको शिष्टाचार भेट गर्नेछन् भने समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन तथा केही परियोजनाको शिलान्यास गरिनेछ । साथै, विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र सचिव राईले जानकारी दिएका छन् । 'यो भ्रमणले दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन योगदान गर्ने अपेक्षा छ,' उनले भने ।
प्रधानमन्त्री शाह सोमाबार काठमाडौं फर्कने कार्यक्रम छ ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।