उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि यान्त्रिकीकरण र उद्योगलाई जोडेर आफूले आर्थिक गतिविधिको महत्त्वपूर्ण आधार बनाउन चाहेको बताएका छन् ।
काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि उत्पादन वृद्धि र मुलुकको आर्थिक समृद्धिका लागि किसानलाई आश्वासनभन्दा आधुनिक प्रविधि र उत्पादनका साधन आवश्यक रहेको बताएका छन्।
कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा भृकुटीमण्डपमा आयोजित आठौँ कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ को उद्घाटन गर्दै मन्त्री शाहले नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशमै उत्पादन वृद्धि गरेर सम्भव हुने बताए। उनले २०८२/८३ मा खाद्यान्न, मेसिनरी तथा कच्चा पदार्थलगायतका वस्तुमा ४ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको आयात भएको उल्लेख गर्दै आयातमा निर्भरता घटाउन स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
‘अहिले आयत कम गर्न कृषि यान्त्रीकरणा जरूरी छ किसानलाई आश्वासन होइन प्रविधि चाहिएको छ,' उनले भने, 'उत्पादन बढाउन आश्वासनभन्दा उत्पादनका साधन र प्रविधि आवश्यक छन् ।'
उद्योगमन्त्रीका रूपमा उनले कृषि यान्त्रिकीकरण र उद्योगलाई जोडेर आर्थिक गतिविधिको महत्त्वपूर्ण आधार बनाउन चाहेको बताए। मन्त्रालयले स्वदेशी कृषि यान्त्रिकीकरणका उपकरण उत्पादनलाई प्राथमिकता दिने र उद्योग सञ्चालन तथा प्रवर्द्धनका प्रक्रियागत नीतिमा सहजीकरण गर्ने उनको भनाइ छ।
शुक्रबारदेखि सुरु प्रदर्शनी ६ गतेसम्म चल्नेछ । प्रदर्शनीमा १४४ स्टलमा ७२ वटा कम्पनीका कृषि यन्त्र, कृषि प्रविधि तथा पोस्ट हार्भेस्ट (बाली भित्र्याएपछिको प्रशोधन र भण्डारण) सम्बन्धी सामग्री लगायतका सामान राखिएका छन्। प्रदर्शनीमा ‘मेड इन नेपाल’ अन्तर्गत स्वदेशमै उत्पादित कृषि यन्त्र तथा उपकरणमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।