विजयादशमी महोत्सवअन्तर्गत तिलोत्तमामा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी ४४ जना पहलमानको सहभागिता थियो ।
पाल्पा — रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सागरहवा रोहिणी किनारामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत मध्यप्रदेशका रामकान्त मिश्र पहिलो भएका छन् ।
नेपाल र भारतका पहलमानहरुको सहभागितामा भएको प्रतियोगितामा रुपन्देहीका धर्मेन्द्र यादव दोस्रो भए भने गुल्मी घर भएर रुपन्देही बसोवास गर्ने विशाल थापा तेस्रो भए ।
विजयादशमी महोत्सव २०८३ अन्तर्गत दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी ४४ जना पहलमानको सहभागिता रहेको थियो । संगम सहारा युवा क्लब तिलोत्तमा नगरपालिका–१० ले प्रतियोगिता आयोजना गरेको हो । पहिलो भएका मिश्रलाई ५१ हजार रुपैयाा नगद पुरस्कार प्रदान गरिएको छ ।
दोस्रो भएका यादव र तेस्रो थापालाई क्रमशः ३१ हजार र २१ हजार नगद पुरस्कार प्रदान गरिएको क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक चन्दन चौधरीले जानकारी दिए । विजेताहरुलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरी, क्लबका अध्यक्ष कन्हाई थारु लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा भारतको अयोध्या, गोरखपुर, बिहार, मध्यप्रदेश लगायत विभिन्न सहरका पहलमानका साथै नेपालका रुपन्देही, नवलपरासी, गुल्मी लागयतका जिल्लाबाट सहभागिता रहेको थियो ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।