Trending
Prev Story
Next Story

आबाट आमा-२ ‍: आँसुको व्यापार, भावनाको अतिरञ्जना

Ekantipur •
October 23, 2026 • 08:00 AM
1
1 reads 0 reactions

आमालाई आँसुको आहालमा डुबाएर, निरीह र कमजोर चित्रण गर्दै ‘महान्’ बनाउने नेपाली न्यारेटिभको म्याद अब गुज्रिसकेको छ । आमालाई महान बनाउनका लागि जे-जे अस्त्र प्रयोग गर्ने गरिन्छ, ती अस्त्र महिलालाई कमजोर बनाउने दृष्टिकोण हुन् ।

आबाट आमा-२ ‍: आँसुको व्यापार, भावनाको अतिरञ्जना

आमालाई आँसुको आहालमा डुबाएर, निरीह र कमजोर चित्रण गर्दै ‘महान्’ बनाउने नेपाली न्यारेटिभको म्याद अब गुज्रिसकेको छ । आमालाई महान बनाउनका लागि जे-जे अस्त्र प्रयोग गर्ने गरिन्छ, ती अस्त्र महिलालाई कमजोर बनाउने दृष्टिकोण हुन् ।

काठमाडौँ — फिल्म हेरिरहँदा त्यतिबेला आनन्द आउँछ-जहाँ क्यामेराले कथा भनिरहेको होस्, कथाको लयलाई संगीतले बगाइरहेको होस् । रङका धागोले कथाको ग्राफलाई उनिरहेका होस् ।

फिल्मका पात्रहरू कथा र परिस्थितले डोहोर्‍यारहेका हुन् । कहिलेकाहीँ संवादलेभन्दा आँखाले कथा भनुन्, पात्रका सुक्ष्म क्रियाकलापले कथा भनुन् । तर यी सबै कुराबाट दर्शक निराश हुनुपर्छ भने त्यो फिल्मबाट के अपेक्षा राख्ने ? सुस्त पटकथा, क्लिसे संवादको थुप्रो, कलाकारको चर्को अभिनय र भावनात्मक अत्याचार गराउने कर्कशलाग्दो ब्यागराउन्ड म्युजिकयुक्त फिल्म हेरेर फर्किँदा कस्तो महसुस होला ? पारिवारिक कथामा बनेको चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा २’ हेर्दा त्यस्तै बेस्वादको अनुभूति भयो ।

सबैभन्दा पहिला त फिल्ममा आमाको कुरा गरौँ । आमालाई आँसुको आहालमा डुबाएर, निरीह र कमजोर चित्रण गर्दै ‘महान’ बनाउने नेपाली न्यारेटिभको म्याद अब गुज्रिसकेको छ । आमालाई महान बनाउनका लागि जे-जे अस्त्रहरू प्रयोग गर्ने गरिन्छ, ती अस्त्र महिलालाई कमजोर बनाउने दृष्टिकोण हुन् ।

यो फिल्मले त्यही दृष्टिकोणलाई बलजफ्ती स्थापित गर्न खोजेको छ । यो फिल्ममा सबैभन्दा कमजोर र निरीह पात्र आमा हो । हरेक परिस्थितिमा आमाले आत्मसमर्पण गरेकी छन् । फिल्मको सुरुदेखि अन्तिमसम्म एकाध दृश्यबाहेक उनको आँखामा आँसुमात्र भरिन्छ । नेपाली ग्रामीण समाजमा गृहिणी महिलाहरूको प्रतिबिम्ब यो फिल्मको आमा पात्र देबकीलाई मान्न सकिन्न ।

सबैभन्दा अफ्ठ्यारो परिस्थितमा सबैभन्दा बलियो कदम चाल्ने गृहिणी आमाहरूको भूमिका नपत्याउँदा हुन्छन् । आशाको सञ्चार गर्ने प्रशस्त उदाहरण र ठाउँ हुँदा–हुँदै पनि निराश र आँसुको व्यापार गर्नु फिल्ममेकरको खास नियत नै देखिन्छ ।

यो फिल्ममा हरेक पात्रहरू जुनै परिस्थितमा पनि रुन्छन्, त्यो पनि चर्कोसँग । कथाको आवश्कयताभन्दा बढी उनीहरू किन रुन्छन् ? त्यो त कलाकार र निर्देशकलाई नै थाहा होला । विपना थापा फेरि नेपाली फिल्ममा केही वर्षयता छाइरहेकी छन् । ‘आ बाट आमा’मा आमा बनेर फर्किएकी विपनाको यो फिल्म हेर्दा लाग्छ- अभिनय ‍चाहिँ कतै बिसाएरै आइन् ।

चर्को स्वरले रुनु, कथाको मागविना आँसु मात्र खसालिरहनु र पुरानै शैलीको अस्वभाविक अभिनयलाई निरन्तरता दिनु उनको फितलो पुनरागमन मात्र हो । पात्रभित्र चलिरहेको आन्तरिक द्वन्द्वलाई सबटेक्स्टमा भन्न र गर्न सकिने ठाउँहरू प्रशस्त थिए । पात्रको मनस्थिति र उसले गर्ने व्यवहार विपनाको लाउड अभिनयले छोपिएको छ । दुखद् कुरा, उनले फिल्ममा आमाको भूमिका त निर्वाह गरिन् । तर आमा चरित्रमा बाँच्न भने सकिनन् । दृश्यमा उनको चरित्र कहीँ कतै पनि स्वभाविक देखिन्न ।

यो फिल्म भद्दा देखिनुको मुख्य कारण नै कलाकारको अभिनय हो । विपनाको श्रीमान्‌को भूमिकामा देखिएका भारतीय कलाकार प्रदीप रावतको पनि काम अलग देखिन पाइन्न । उनको संवाद अर्कैको आवाजमा डबिङ गरेर होला, फिल्ममा बा पात्रसँग कनेक्ट हुनै समय लाग्छ । उनको बडी ल्यांग्वेज र संवादबीचको तालमेल नै असन्तुलित देखिन्छ । बाँकी त उनको पनि अभिनय भन्दा बढी चर्को रोदन नै देख्नुपर्दा खल्लोपना जरुर हुन्छ ।

अभिनेता पल शाहको त संवाद नै प्रष्ट बुझिन्न । उनी संवाद बोल्न पनि हतारिएझैं सुनिन्छन् । उनको पात्र कृष्णको भावनात्मक ग्राफलाई केलाएर हेर्ने हो भने केही परिवर्तन देखिन्न । उनको हकमा पनि रोएर, चिच्याएर, अतिरञ्जित गतिविधि देखिँदैमा त्यो अभिनय हुँदैन भन्ने कुरा लागू हुन्छ । बाहिरी आवरण बदलेर मात्र पात्र बदलिन्न भन्ने कुरा भान हुन्छ । कलाकारले पात्रभित्रको अन्तर्यमा नगई सतही काम गर्यो भने अस्वभाविक जरुर देखिन्छ । कृष्णको दाइ अर्थात् बलरामको भूमिका निर्वाह गरेका साइग्रेसको अभिनय हेर्दा लाग्छ- उनी संवादहरू भनिरहेका छैनन्, पढिरहेका छन् । नाटकीय आवाज र हाउभाउभन्दा माथि उनी उठ्न सकेका छैनन् ।बरु तुलनात्मक हिसाबमा निकिता आचार्य र मलिका महतको अभिनय स्वभाविक लाग्न सक्छ । तर फिल्म निर्देशकीय माध्यम भएकाले उनीहरूको अभिनयमा पनि निर्देशक हाबी भएका हुन् भन्ने लाग्छ ।

अब उधिनौँ फिल्मको कथा । देबकी आमाको दुई छोरा र श्रीमान् सहितको सुखी परिवारमा एकदिन जेठो छोरा अष्ट्रेलिया जान्छ । बलरामको श्रीमती गर्भवती भएपछि उसले आमालाई पनि उतै लिएर जान्छ । बा र आमबीचको विछोड नै कथाको धागो हो ।

तर फिल्म धेरै समयसम्म फर्स्ट एक्टमै अल्झिन्छ । देवकी आमाको महानता र परिवारको खुसी देखाउन फिल्म अनावश्यक तन्क्याइएको छ । कुनै कुनै दृश्यहरू हसाउनका लागि भनेर बीच बीचमा गाँसिएका छन् ।त्यो आउँदा लाग्छ- कुनै एउटा फिल्म हेरिरहँदा ‘सर्ट कमर्सियल ब्रेक आएजस्तो’ । ग्यारेजका मित ज्यूको दृश्यहरू आउँदा त्यस्तै लाग्छ । ठूला कुराहरू भन्न खोज्दा साना कुराहरू छुट्छन् । तर त्यस्ता कुराहरू छुट्छन् जसले फिल्मलाई जोगाउन सक्छन् ।

कतिपय ठाउँमा फिल्मले कथा भन्न भन्दा पनि दर्शकलाई पाठ पढाउनतर्फ लाग्छ । विना द्वन्द्व नै मध्यान्तरसम्म जाने फिल्ममा त्यसपछि मात्र मुख्य पात्रको संघर्ष अगाडि बढ्छ । यो फिल्म आमा र छोराको पिओभीबाट भनिएझैं लाग्छ । तर फेरि बा र आमाको सम्बन्धलाई बढी अतिरञ्जित प्रस्तुत गर्दा छोरासँगको सम्बन्धलाई बलियो गरी स्थापित गर्नै सकिँदैन ।

यो फिल्मको पात्रलाई कथा र परिस्थितिले डोहोर्‍याएको छैन । यदि डोहोर्‍याएको हुन्थ्यो भने अष्ट्रेलियाको सिस्टम र कानुनलाई कथाले यसरी कुल्चन्न थियो होला । फिल्मले प्रस्तुत गरेजस्तो कमजोर त निश्चितै छैन त्यहाँको कानुन । डंकी रुढबाट अष्ट्रेलिया जानु नेपालबाट लुकेर, भागेर भारत जानुजस्तो होइन । त्यसमाथि भयंकर संघर्ष गरेजस्तो देखिने पात्रको बाटोलाई यति सजिलो बनाइएको छ कि उसलाई सहयोग गर्ने पात्रहरू चोक चोकमा पर्खेर बसिरहेका छन्‌झैं ।

आमा खोज्न कृष्णले गर्ने आन्तरिक संघर्ष निकै कमजोर र अविश्वसनीय छ । कथामा आउने नयाँ पात्रको फ्ल्यासब्ल्याकले दर्शकलाई थप सकस प्रदान हुन्छ । एउटा पात्रको विशाल दु:ख देखाएर त्यसलाई प्रस्तुत गर्न नसकिरहेको बेला अर्को पात्रको अर्को दर्दनाक कथा भन्न खोज्नु भनेको कथाको स्वभाविक लय हुँदै होइन । कथामा अस्पतालमा केही असंवेदनशील दृश्यहरू देखेर भावुक हुने भन्दा पनि निर्देशकको अनिरञ्जनामा प्रश्न गर्न मन लाग्छ ।

यो फिल्मले धेरै कुराको जवाफ दिँदैन । राधा र कृष्णको प्रेमलाई आदर्श बनाउँदा उनीहरूको सम्बन्धलाई स्थापित गर्न कुनै प्रयत्न गरेको छैन । अनि राधाको बाटोमा बाधा बन्ने अर्को पात्रको कथालाई पनि स्थापित गरेको छैन । तर सुरुमा नेगेटिभ देखाइएको त्यो पात्रको रुपान्तरण भने सकारात्मक लाग्छ ।

यो फिल्ममा अर्को गलत न्यारेटिभ छ, विदेश गएका छोराहरू बुहारीकै कारण स्वार्थी बन्छन् । पछिल्लो समय निर्माण भएका धेरै नेपाली फिल्मले यस्तै भाष्य बनाउन खोजेका छन् कि छोरा बुहारीकै कारण परिवर्तन हुन्छन् । निर्देशक यो कुरामा संवेदनशील हुनुपर्थ्यो कि !

यो फिल्ममा पात्रहरू हिन्दु धर्म मान्छन् । उनीहरू भक्तिभाव पनि राख्छन् । तर बाको मृत्युपछि पनि कृष्णको कपाल खौरिएको छैन । हिन्दु धर्मको मृत्यु संस्कारमा त्यो अनिवार्य हुन्छ, त्यो पनि यतिधेरै आस्था राख्ने परिवारमा । कि पात्र प्रगतिशील हुनुपर्यो, कि कुनै कारण फिल्ममा बलियोसँग स्थापित हुनुपर्यो । फिल्म फिक्सनल भए पनि तथ्यगत त्रुटि सुहाउँदिलो देखिन्न । फिल्ममा क्लाइमेक्सअघि आउने केही ट्वीस्टहरूले कथालाई केही रोचक बनाउन मद्दत भने गर्छन् । तर न्यायसंगतचाहिँ देखिन्नन् ।

‘दर्शक रुवाएर’ फिल्म चल्छ भन्ने प्रवृत्तिलाई निरन्तरता दिएको यो फिल्मले आँसुलाई बजारीकरण गर्छ । यही प्रवृत्तिका फिल्म संख्यात्मक हिसाबमा बढ्न थाले भने नेपाली सिनेमाको व्यापार उकासिएला नउकासिएला, तर स्तर अवश्य खस्किन्छ ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

२६ कात्तिक, सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया …

#आमा
Compare →
Hamro Patro News
2d ago
दोस्रो पटक आमा बन्न लागेकी कियाराको पहिरन चर्चामा, पुरानो तस्बिरसँग तुलना

दोस्रो पटक आमा बन्न लागेकी कियाराको पहिरन चर्चामा, पुरानो तस्बिरसँग तुलना

बलिउड अभिनेत्री कियारा आडवाणी दोस्रो पटक आमा बन्न लागेकी छन्। गर्भावस्था बेला उनले टेलिभिजन कार्यक्रममा लगाएको पहिरन अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ। निर्देशक तथा निर्माता करण जोहरको चर्चित ...

#आमा
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#आबाट #आमा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611