Trending
Prev Story
Next Story

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

Ekantipur •
November 09, 2026 • 04:31 PM
1
1 reads 0 reactions

धार्मिक कथा नभएकाले यो फिल्मलाई धार्मिक चस्माबाट हेर्दा पनि अन्यायपूर्ण हुन्छ । बरु अन्याय, अत्याचार, लडाइँ र षड्यन्त्रको अन्त्य जीवनपर्यन्त सकिँदैन भन्ने कुरा फिल्मले भन्छ ।

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

धार्मिक कथा नभएकाले यो फिल्मलाई धार्मिक चस्माबाट हेर्दा पनि अन्यायपूर्ण हुन्छ । बरु अन्याय, अत्याचार, लडाइँ र षड्यन्त्रको अन्त्य जीवनपर्यन्त सकिँदैन भन्ने कुरा फिल्मले भन्छ ।

काठमाडौँ — पौराणिक कथा—महाभारतका पात्र युधिष्ठिरलाई पाँच हजार वर्षपछि अचानक चार भाइहरूको सम्झना आयो। उनी स्वर्गलोकबाट इन्द्रसँग अनुमति लिएर भाइहरू भेट्न पृथ्वीलोकको यात्रामा हिँडे। कलियुग सुरु भएको यतिका वर्षपछि भ्राताहरू खोज्दै नेपाल ओर्लिएका युधिष्ठिरले कस्ता आरोह र अवरोह सामना गर्लान्?

सुशील पौडेलद्वारा लिखित र वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’ हेर्नुअघि लेखकको कल्पनाशीलता र मेकरको दृश्यान्तरण कल्पँदै पनि उत्सुकता बढेको थियो। नाम ‘पाँच पाण्डव’ भए पनि यो महाभारतको दर्शनबाट प्रभावित मात्र हो, न कि महाभारतका पात्रहरूको हुबहु कथा। धार्मिक कथा नभएकाले यसलाई धार्मिक चस्माबाट हेर्दा पनि अन्यायपूर्ण हुन्छ। बरु अन्याय, अत्याचार, लडाइँ र षड्यन्त्रको अन्त्य जीवनपर्यन्त सकिँदैन भन्ने कुरा यो कथाले भन्छ।

कुरा गरौँ कथावाचनबारे। जुन उत्सुकता बोकेर हलमा गइन्छ, त्यो उत्सुकतालाई फिल्मले तृप्त बनाउन सक्छ त? अपेक्षालाई हल बाहिरै थन्क्याएर जाने हो भने फिल्म रमाइलो लाग्न सक्ला। बेलाबेलामा आउने सिचुएसनल कमेडीहरूले टुटिसकेको ध्यानलाई पुनः पर्दामा फर्काउन सक्लान्। तर फिल्मको कथा कसिलो नहुनाले ध्यानको डोरी जतिबेलै चुडिन सक्छ।

युधिष्ठिर जे उद्देश्य बोकेर पृथ्वीलोकमा ओर्लन्छन्, त्यो उद्देश्यमा उनी दृढ देखिन्नन्। मानौँ कथा रथ हो भने फिल्मका मुख्य पात्र युधिष्ठिर हुन्। जब सेटअप निर्माण गरेर कथा द्वन्द्वमा प्रवेश गर्न थाल्छ, त्यहीँबाट युधिष्ठिरको ‘रथ’ले नियन्त्रण गुमाउँछ। युधिष्ठिरको यात्रामा संघर्षभन्दा पनि संयोग हाबी हुन्छ। कथालाई रोचक बनाउने बहानामा संयोगहरूले यसको स्वाभाविकतालाई नै मारेको त छैन भन्ने प्रश्न फिल्म हेर्दा उत्पन्न हुन्छ। युधिष्ठिरले आफ्ना भ्राताहरूलाई जसरी भेट्छन्, त्यसले कुनै तरङ्ग पैदा गर्दैन। आफूले भेट्न र खोज्न चाहेका पात्रहरू सजिलै भेटिने कुरालाई विश्वसनीय बनाउने मामिलामा निर्देशक चुकेको महसुस हुन्छ अनि। युधिष्ठिरले विश्वास दिलाउन चाहेको कुरालाई अरू पात्रहरूले सजिलै स्वीकार नगर्ने कुराचाहिँ रोचक लाग्छ, यद्यपि कथा त्यो बाटोमा हिँड्दैन।

फिल्ममा मुख्य पात्रले लिने अडान, गर्ने संघर्ष र उसले बाँध्ने सम्बन्धका धागाहरू जति बलियो हुनुपर्थ्यो, त्यहाँनेर केही कमजोरी महसुस हुन्छ। उनी त आफूले गर्ने जादु र चमत्कारमै अल्झिएका छन्, जसले कथालाई अल्मल्याउने र अल्झाउने सिवाय केही गर्दैन।

फिल्ममा प्रोटागोनिस्टभन्दा एन्टागोनिस्ट बलियो भयो भने कथा रोचक हुन्छ, तर एन्टागोनिस्ट बलियो बनाउन जुन परिस्थिति सिर्जना गरिएको छ, त्यसको जग नै कमजोर छ। फिल्ममा दुर्योधन भन्ने पात्र परम्परागत नेपाली फिल्मका खलपात्रहरूको स्टेरियोटाइपभन्दा माथि उठ्न सकेको छैन। फिल्म हेरिरहँदा लाग्छ—उही क्लिसे संवाद र गतिविधिको पुनरावृत्ति हो। कथामा आन्तरिक द्वन्द्व कमजोर बनाएर बाह्य द्वन्द्वलाई बढी प्राथमिकता दिन खोजेकै कारण कथावाचनको स्वाभाविक लय बिग्रँदै गएको हो।

‘पाँच पाण्डव’ले सम्बन्धको कथा भनिरहँदा पाँचै पात्रलाई प्रभावकारी रूपमा जोड्न सकेको जस्तो लाग्दैन। कोही पात्र हुनु र नहुनुले फिल्मका अन्य पात्रलाई कुनै असर पार्दैन भने त्यो अर्थपूर्ण हुँदैन। युधिष्ठिरका लागि नकुल र भीमसँग जुन सामीप्यता बन्छ, त्यो सहदेव र अर्जुनसम्म पुग्न नपाई फिल्म सकिएको भान हुन्छ। फिल्ममा अर्जुन मानिएका पात्रलाई स्थापित गर्न मिहिनेत नपुगेझैँ लाग्छ।

फिल्म आउनुअघि सामाजिक सञ्जालमा जितु नेपालले निर्वाह गरेको भीम चरित्रमाथि धेरै प्रश्न उठे, उनको चरित्रलाई लिएर मजाक पनि गरियो। तर फिल्ममा सबैभन्दा अर्थपूर्ण भूमिका भीमसेनको छ। महाभारतमा भीमसेनलाई शारीरिक हिसाबले बलवान्का रूपमा चित्रण गरिएको छ। तर अहिलेको समयमा बल शरीरमा मात्रै हुँदैन, उसले बोक्ने मुद्दा र आवाजहरूमा खाँदिएको हुन्छ। फिल्ममा यो कुरा निर्देशकले सबैभन्दा बलियो गरी प्रस्तुत गरेका छन्। फिल्ममा इमोसन भने भीमसेनको कथाले बोकेको छ।

जितुले निर्वाह गरेको मजदुर भीमसेनको चरित्र असरदार छ। भीमसेनका अनुहारका रेखाहरू र लवजले उनको पात्रलाई न्याय गरेको छ। उनी अभिनयमा स्वाभाविक देखिन्छन्। भीमकी श्रीमती बनेकी दीपाश्री निरौलाको पात्र फिल्ममा अस्वाभाविक लाग्दैन। उनको पात्रले निम्नमध्यमवर्गीय जीवन बाँचिरहेका महिलाहरूको अवस्था मात्र चित्रण गर्दैन, महिला सशक्तीकरणको प्रतिनिधित्वसमेत गर्छ। फिल्ममा दीपाको पात्रले आफ्नो उपस्थितिसँगै हाँसोको माहोल पनि बोकेर आउँछ, तर एउटा दृश्यमा उनले आफ्नै शरीरमाथि गरेको मजाकले भने बिझाउँछ।

फिल्ममा युट्युबर (नकुल) को पात्र रोचक लाग्छ। नेपाली युट्युबरहरूको आम प्रवृत्तिलाई यो पात्रले रमाइलो ढङ्गबाट प्रस्तुत गरेको छ। कथालाई अरू पात्रसँग जोड्ने कडी नै युट्युबर (नकुल) हो। यो भूमिका निर्वाह गरेका अभिनेता महेश त्रिपाठीले भाइरल कन्टेन्टको खोजी गर्ने आम युट्युबरको स्वभाव र मनोविज्ञानलाई टिपेर चरित्रलाई जीवन्त बनाउन सफल भएका छन्। उनको प्रस्तुतिले कथालाई कतै बिझाउँदैन, बरु गतिशील बनाउन सहयोग गर्छ।

प्रहरी इन्स्पेक्टर (अर्जुन) को भूमिका भने यो फिल्ममा नयाँ छैन। न डाइलग, न डाइलग डेलिभरी, न सिचुएसन, न त अभिनयमा नै—आर्यन सिग्देल यो फिल्ममा उही परम्परागत नेपाली फिल्मका प्रहरीले बोल्ने भाषा र निर्वाह गर्ने चरित्रभन्दा माथि उठ्न सकेका छैनन्। सहदेवको आफ्नै कथा छ, तर यो कथा मूल कथासँग राम्रोसँग जोडिन नपाउँदा खल्लो महसुस हुन्छ। यद्यपि, सहदेवको चरित्र निर्वाह गरेका सुशील सिटौलाले भने पात्रलाई न्याय गरेका छन्। प्रविधि जानेको तर नमीठो नियति भोगिरहेका शरणार्थी युवक, जसको भित्र आँधीहुरी र विवशता चलिरहेको छ, त्यसलाई उनले आफ्नो बडी ल्याङ्ग्वेजमा राम्ररी ढालेका छन्। कविताको भूमिका निर्वाह गरेकी पात्रको कथा नयाँ लाग्दैन, न त त्यो भूमिका बाँचेकी इभा गिरीको अभिनय नै स्वाभाविक लाग्छ।

युधिष्ठिरको भूमिकामा देखिएका हरिवंश आचार्यको संवाद र शारीरिक हाउभाउ यथार्थको कसीभन्दा पर लाग्छ। फिल्मको गतिभन्दा उनको आवाज केही सुस्त महसुस हुन्छ। उनको पात्र शान्त र सत्यवान् छ, तर हरिवंशको अनुहारमा त्यो चमक स्थिर देखिन्न र उनलाई मेकअपले पनि साथ नदिएको हो कि भन्ने लागिरहन्छ।

फिल्मको कथा र पात्रहरूको मुड तथा प्रस्तुतिअनुसार ब्याकग्राउन्ड म्युजिक भड्किएको भान हुन्छ। डराउनुपर्ने ठाउँमा डर अनुभूत गराउँदैन, हाँस्नुपर्ने ठाउँ वा अचम्मित पार्ने दृश्यमा ब्याकग्राउन्ड म्युजिकले जति स्वाभाविक बनाउन सहयोग गर्नुपर्ने हो, त्यो देखिएको छैन।

सामाजिक कथा भनिरहँदा यो फिल्ममा समाजको उपस्थिति पनि अनुभूत हुन्न। धेरैजसो कुरा सबटेक्स्टमार्फत देखाउनुपर्नेमा संवादमार्फत मात्रै भन्न खोजिएको छ।

भावनात्मक रूपले जोड्न नसके पनि हलमा दर्शकलाई टिकाउने फिल्मको सामर्थ्य भनेको सिचुएसनल कमेडी र केही तनावपूर्ण सिक्वेन्सहरू नै हुन्। अन्त्यमा, कथाकार र निर्देशकले यसपटक राख्न नसकेको ‘अर्जुनदृष्टि’ अर्को फिल्ममा पूरा होला भन्ने अपेक्षा छ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’ धार्मिक कथा नभएकाले यो फिल्मलाई धार्मिक चस्माबाट हेर्दा पनि अन्यायपूर्ण हुन्छ । बरु अन्याय, अत्याचार, लडाइँ र षड्यन्त्रको अन्त्य जीवनपर...

#फिल्म #धार्मिक #पाण्डव
Compare →
Nagarik News
6d ago
धार्मिक आवरणभित्र अल्झिएको ‘पाँच पाण्डव’ को धरातल

धार्मिक आवरणभित्र अल्झिएको ‘पाँच पाण्डव’ को धरातल

प्रदर्शनपूर्व नै विवादको घेरामा ताबनिएको चलचित्र ‘पाँच पाण्डव’ अन्ततः शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ।

#धार्मिक #पाण्डव
Compare →
Onlinekhabar
1d ago
ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

काठमाडौं । घरमै बसेर नयाँ फिल्म तथा सिरिज हेर्न रुचाउने दर्शकका लागि यो शुक्रबार ओटीटीमा मनोरञ्जनको नयाँ खुराक थपिँदैछ । नोभेम्बर १३ अर्थात् भोलि शुक्रबार विभिन्न ओटीटी प्लेटफर्ममा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन् …

#फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611