सबैभन्दा कमजोर त उही मुख्य चरित्र नै देखिन्छ । क्लाइमेक्सले दर्शकमा जुन तरंग ल्याउनुपर्ने हो, त्यो पड्काउनुअघि नै ओसिएको पटाकाजस्तो भइदिन्छ ।
काठमाडौँ — महाभारतका कथा र पात्रलाई मानक मानेर अभिनेता दीपकराज गिरीले ‘छ माया छपक्कै २’को पटकथा लेखे । ‘छ माया छपक्कै’ले व्यावसायिक सफलताको उचाई चुमेपछि दीपेन्द्र लामाको निर्देशन सहकार्य सिक्वेलमा पनि दोहोरियो । तर फिल्म हेरिसकेपछि एउटा प्रश्न बोकेरै हलबाहिर निस्किएँ- के सिक्वेल आवश्यक थियो त ?
फिल्मले व्यापार राम्रो गरेपछि सिक्वेल बनाउने नेपाली प्रवृत्ति केलाउँदा निर्माता गलत नहोलान्, तर लेखक र निर्देशक भने जिम्मेवार हुनैपर्छ । पहिलो भागमा दीपकराज गिरीको पात्र बीपीको गाउँ पानीको समस्यासँग जुधिरहेको थियो ।
कम्युनिस्ट पार्टीबाट राजनीति गरिरहेको बीपी राजनीतिक लडाइँसँगै गाउँमा पानी ल्याउने संघर्षमा दत्तचित्त थियो । राजनीतिको छक्का पञ्जासँग जुधेर उसले गाउँको अभावलाई कसरी परास्त गर्ला ? एउटा बलियो द्वन्द्वले कथा अगाडि बढेको थियो ।
बलिउड फिल्म ‘दृश्यम ३’ले यतिबेलै तेस्रो शृंखलामा पनि कसिलो कथा भनिरहेको बेला नेपाली फिल्मको सिक्वेल भने कथाका कारण कम र व्यावसायिक स्वार्थका कारण बढी बन्छ भन्ने कुरा प्रमाणित गर्न यसले प्रशस्तै ठाउँ राखेको छ । किनभने यो फिल्ममा कथाको मूल द्वन्द्व पहिलो शृंखला भन्दा निकै कमजोर छ ।
फिल्ममा दीपकराजको पात्र मुरलीधर पठाओ चलाउँछ । मुरलीधरको बाइकले लिने पिकअपभन्दा फिल्म धेरै सुस्त छ । फिल्मले हिँड्ने मूल बाटो कुन हो ? त्यसमा लेखक र निर्देशक प्रस्ट छैनन् । किनकि कथामा मूल द्वन्द्व आइपुग्दासम्म त दर्शकको पात्रहरूसँगको सम्बन्ध नै टुन्न थालिसकेको हुन्छ । तर मूल द्वन्द्वपछि पनि कथाले कहाँ कौतुहलता बचाउँछ र ! मध्यान्तरपछि कथा मूलबाटोबाट भड्किएर अन्तैतिर पुग्छ । कथाले लय गुमाएपछि संवेदनशील मुद्दालाई सतही तथा क्लिसे शैलीमा बुन्दै फिल्म अगाडि बढ्छ । त्यसपछि आउने द्वन्द्वलाई मूल कथासँग जोड्न दर्शकलाई हम्मेहम्मे पर्छ ।
फिल्मलाई सारमा बुझ्नुअघि हामी अघिल्लो भागमा फर्किनुपर्छ । दीपकराजको पात्र बीपी कम्युनिस्ट बाको मार्गदर्शन पछ्याउँदै राजनीतिमा लाग्छ । गाउँमा उसको प्रभाव बलियो देखिन्छ । कथाको अन्त्यमा उसको विवाह आफूभन्दा २० वर्ष कम उमेरकी युवतीसँग हुन्छ ।
यो फिल्मको सुरुवात भने सहरको दृश्यबाट छ । यो फिल्ममा बीपी मुरलीधरमा बदलिएको छ । ऊ बाको सिद्धान्त छाडेर धार्मिक आमाको मार्ग पछ्याउँछ । विवाहपछि राजनीति छाडेको विपी पारिवारिक सुखभोगमा रमाउन चाहन्छ । तर बीपीको बा उसलाई राजनीतिमा फिर्ता ल्याउन चाहन्छ । राजनीतिमा फिर्ता हुन नचाहने विपी र उसलाई फर्किन बाध्य बनाउने बा र परिस्थित । यही क्यानभासमा कथा बुनिएको छ । तर सुरुदेखि नै जबर्जस्ती तन्क्याएका दृश्य र हाबी भएका सब प्लटले मूल द्व्न्दवलाई थप कमजोर बनाउँदै लान्छन् ।
फिल्ममा निर्माण भएका परिस्थितिहरू नाटकीय लाग्छन् । जस्तो कि मुरलीधरलाई राजनीतिमा फर्काउन गाउँलेहरू जम्मा गरेर गरिएको पारिवारिक भोट स्वभाविक लाग्दैन । कारण, गाउँमा न बीपीको पार्टीको प्रभाव छ, न उनीहरूको परिवार नै राजनीतिमा छ । अर्कै पार्टीको वर्चस्व भएको समयमा त्यतिधेरै जनमत त्यो भोटको साक्षी किन बस्छ ? पछिल्लो समय पार्टीप्रतिको वितृष्णा नेताहरूमा पनि पोखिएको बेला त्यो परिवार उनीहरूका लागि त्यति महत्वपूर्ण कसरी हुन्छ ? यदि हुन्थ्यो भने पनि त्यो कुरा स्थापित गर्न सक्नुपर्थ्यो ।
मध्यान्तरपछि कथामा नयाँ ट्वीस्ट आउँछ । तर ट्वीस्टले लिएर आउने पात्र, उनीहरूको सम्बन्ध र कथाले फिल्मलाई अर्कै लयमा लैजान्छ । अन्तरजातीय प्रेमको कुरालाई यति हल्का रुपमा भन्नु निर्देशकको अर्को कमजोरी हो । त्यसमाथि दर्शकहरूको लागि त्यो कथा र परिस्थिति नयाँ लाग्नै सक्दैन । ‘घुमीफिरी रुम्जाटार’ भनेझैं अनेक फन्को लगाएर मूल कथाको धरातलमा अवतरण गर्दा कुनै पात्रको पनि प्रभावकारी रुपान्तरण देखिन्न ।
सबैभन्दा कमजोर त उही मुख्य चरित्र नै देखिन्छ । क्लाइमेक्सले दर्शकमा जुन तरङ्ग ल्याउनुपर्ने हो, त्यो पड्काउनु अघिनै ओसिएको पटाका जस्तो भइदिन्छ । बरु फिल्मले सन्देश दिन थाल्छ ।
मुरलीधरको लागि एन्टागोनिस्ट उसकै बा बनाउन खोजिएको छ । तर बाको चरित्र प्रभावशाली बनाउन सकिएको छैन । क्लाइमेक्स हुनका लागि बाको जुन भूमिका देखिन्छ, त्यसको आधारभूमि पनि राम्रोसँग बनाइएको छैन ।
फिल्ममा मुख्य पात्रको चरित्र चित्रण नै कमजोर छ । मूल उद्देश्यका लागि उसले गर्ने संघर्ष नै कमजोर छ । उसले जे जे प्रयत्न गर्छ । त्यो कथामा स्वभाविक नै देखिन्न ।
मुरलीधरको श्रीमती केकी अधिकारीको पात्र जललाई नकारात्मक भार थोपरिएको छ । परिवारप्रति कम उत्तरदायी तर श्रीमान् र आफ्नै करिअरमा उसको स्वार्थ केन्द्रित देखिन्छ । फिल्ममा ‘बिहे अघिको लोग्ने मान्छे, बिहे पछिको लोग्ने मान्छे’ भन्ने संवादहरूबा महिला प्रवृत्तिबारे गलत भाष्य निर्माण गरिएको छ ।
फिल्ममा नकारात्मक चित्रण गर्नुभन्दा उनले भोगिरहेको समस्या र सामना गरिरहेको परिस्थितिलाई स्थापित गर्न सक्नुपर्थ्यो । जल नर्सिङ कलेजमा पढाउँछिन् । श्रीमान्लाई माया र शंका बरोबर गर्छिन् । उनको पात्रलाई यसरी स्थापित गर्न खोजिएको छ कि पुरुषहरू भनेको विहेपछि श्रीमतीकै चंगुलमा फस्छन् । पुरुषको पीओभीबाट कथा भनिए पनि आफ्नो समाजको संरचना र मनोविज्ञानलाई गहिरिएर केलाएको भए जलले सोच्ने कुरा र गर्ने व्यवहार फिल्ममा देखिएको भन्दा धेरै फरक हुनसक्थे ।
सनिशा भट्टराईको पात्र फिल्मलाई तन्क्याउन र अनावश्यक द्वन्द्व सिर्जना गर्न हाजिर गराइएको छ । बरु यो पात्रमार्फत् फिल्मले दर्शकहरूको संवेदना बटुल्न खोजे पनि त्यो त्यति स्वभाविक र न्यायसँगत देखिन्न ।
फिल्ममा बेला बेलामा आउने संवादहरूले भने दर्शकलाई हसाउँछन् । जस्तो कि पार्टीमा फर्किनका लागि मुरलीधरको बालाई भेट्न आएको नेतालाई मुरलीधरको आमाले मीठो व्यंग्य गर्छे, ‘तपाईंको हातमा घडी औंठी कस्तो सुहाएको ? टिभीमा देखिएको त्यो घर तपाईंले नै बनाउनुभएको हो ?’ उनको व्यंग्य र नेतालाई भएको अफ्ठ्यारो अनुभूति रमाइलोसँग प्रस्तुत गरिएको छ । फिल्ममा रविन्द्र झाको उपस्थितिले दर्शकलाई हँसाइरहन सक्छ ।
फिल्ममा पात्रहरूको अभिनय भने स्वभाविक लाग्छन् । कथामा अतिरञ्जित कुरा भए पनि मुख्य पात्रबाहेक कलाकारको डाइलग डेलिबरी र हाउभाउ निधार खुम्च्याउनु पर्ने किसिमका छैनन् । बरु मुख्य पात्रले नै फिल्मको भार बोक्नुपर्ने भए पनि दीपककै अभिनय भने अरुको तुलनामा स्वभाविक देखिन्न । उनको पात्रको संवाद डेलिबरी सुस्त लाग्छ । उनले आफ्नो चरित्रका लागि गर्नुपर्ने ट्रिटमेन्ट अझै पुगेको छैन भन्ने प्रष्टै देखिन्छ ।
फिल्ममा कलाकार कार्मको काम भने सबैभन्दा तारिफयोग्य छ । उनको पात्रमा आउने आवेग र देखिने रियाक्सन यति स्वभाविक र रोचक लाग्छ कि त्यो पात्र हाम्रै समाजमा छ । उनको बडी ल्यांग्वेज र गतिविधिले पात्रलाई सम्झनलायक बनाएको छ ।
यसपटक छ ‘माया छपक्कै २’ पटकथा र सिन ट्रिटमेन्ट मात्र हैन सम्पादनमा पनि हतारिएको देखिन्छ । कतिपय दृश्यहरूले फिल्मको कथामा असर नगर्दा नगर्दै पनि यथावत् छन्, कतिपय दृश्यले भनिसकेका कुरा पनि दोहोर्याएर भन्न खोज्छन् । दृश्यले भन्दा संवादले धेरै कुरा भन्छन् ।
यो फिल्मको तेस्रो शृंखला अर्को दशैंमा आउने घोषणा अन्तिममा गरिएको छ । कामना छ, दोस्रो शृंखला कथामा मुरलीधरले बासँग चेस खेल्दा चालेको गोटीजस्तै कमजोर भए पनि तेस्रोमा भने दीपक र दिपेन्द्रका यिनै गल्ती दोहोरिन नपाउन् ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।