डेभिड वार्नर हेलिकोप्टर चढेर हिमाल पुगे, सर्वोच्च शिखर सगरमाथा नियाल्दै बिहानको खाजा खाए
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सुरु भएयता क्रिकेट प्रशंसकहरूको एउटा सपना पूरा भएको छ, विश्वका स्टार खेलाडीको खेल आफ्नै आँखाले प्रत्यक्ष हेर्ने । अनि जति यो प्रतियोगिता खेल्न नेपाल आए, ती ठूला नाम पनि नेपालको मायामा उत्तिकै रमाएका छन् ।
कीर्तिपुरको टीयू क्रिकेट मैदानभन्दा धेरै पर यी स्टार नेपालको सुन्दरबाट उत्तिकै मोहित पनि भएका छन् । प्रतियोगिताको तेस्रो संस्करण खेल्न अस्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका साकिब अल हसन काठमाडौं आए ।
उनीहरूले नेपालको खुलेर प्रशंसा गरे, यस्तोमा यो प्रतियोगिता नेपालको पयर्टन प्रवर्द्धनका लागि एउटा राम्रो माध्यम पनि भएको छ । फ्लडलाइट्समुनि रोमाञ्चक खेलसँगै यी पाहुना खेलाडी काठमाडौं र बाहिर आफ्ना जर्सी खोलेर अनौपचारिक पोसाकमा मज्जाले घुमिरहेका छन् । ‘ओहो, कति राम्रो अनुभव,’ वार्नरले नोभेम्बर ४ मा हिमालको काखबाट आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेको सेल्फी भिडियोमा भनेका छन् । उनको यो इन्स्ट्राग्राम भिडियोमा ४ लाख ७७ हजारभन्दा बढीको प्रतिक्रिया आइसकेको छ ।
वार्नर हेलिकोप्टर चढेर हिमाल पुगेका थिए र विश्वको सर्वोच्च शिखर सगरमाथा नियाल्दै बिहानको खाजा पनि खाए । नोभेम्बर १ मा काठमाडौं ओर्लेका वार्नरले त्यसको भोलिपल्ट काठमान्डु गोर्खाजका लागि आफ्नो पहिलो खेल पनि खेले । त्यसमा उनी १६ रन मात्र बनाएर आउट भए । त्यो कर्णाली याक्सविरुद्धको खेल थियो । त्यसपछि विराटनगर किंग्सविरुद्ध ४४ र लुम्बिनी लायन्सविरुद्ध ५५ रन बनाए । यी दुवै खेलमा उनको प्रदर्शन निर्णायक जस्तै रह्यो ।
चितवन राइनोजविरुद्धको खेल भने उनको अन्तिम रह्यो र उनले त्यसमा एकै रन मात्र बनाउन सके । उनी संलग्न चारै खेलमा काठमान्डु विजयी पनि रह्यो । त्यस प्रदर्शनको मद्दतले काठमान्डु एक समय लिग तालिकाको शीर्ष स्थान कब्जा गर्न पनि सफल रहेको थियो । वार्नरले बिहीबार
आफ्नो इन्स्ट्राग्राममा फेरि लेखेका छन्, ‘नेपालले मेरो मन जित्यो । मन जित्ने आतिथ्य सत्कारदेखि क्रिकेटप्रतिको जोस, मनमोहक प्राकृतिक दृश्य अनि सबैभन्दा महत्त्वपूर्ण, यहाँका मिलनसार मान्छेहरू । यो मेरा लागि कहिल्यै नबिर्सिने अनुभव बनेको छ ।’
नेपालभित्र खिचेका तस्बिर र भिडियोका रियल सेयर गर्दै क्रिकेटका तीनै ढाँचामा विश्व च्याम्पियन भएका वार्नरले थपे, ‘मलाई खुला हातले स्वागत गरेकामा धन्यवाद । फेरि अर्कोपल्ट भेटौंला ।’ काठमान्डुका विदेशी खेलाडी पनि हिमाल पुगेका थिए । जहानदाद खानले सगरमाथा पृष्ठभूमिमा राखेर आफ्नो र सहकर्मीको तस्बिर पोस्ट गरे । काठमान्डु टिमका अपरेसन हेड श्रवणकुमार सिंह भन्छन्, ‘विदेशी खेलाडी बाहिर जान अगाडि राम्रोसँग अनुसन्धान गर्दारहेछन्, वार्नरलाई सगरमाथाबारे धेरै जानकारी थियो । हामी पनि उनलाई त्यहाँ लान चाहन्थ्यौं ।’
उनी थप्छन्, ‘हामीले वार्नरमार्फत नेपालको प्रवर्द्धन गर्ने उद्देश्य राखेका थियौं । उनीजत्तिको खेलाडीको सामाजिक सञ्जालमा एक पोस्टले पनि धेरै काम गर्छ । वार्नरले अर्को वर्ष पनि नेपाल आउनेछु भनेका छन् । नेपालको हिमालसँग उनी लोभिएका छन् । त्यहाँबाट फर्केयता वार्नर असाध्यै खुसी थिए । नेपालजत्तिको सुन्दर देश अर्को नरहेको बताए ।’ यसपल्टको प्रतियोगिताका आठ टिममा ५० भन्दा बढी विदेशी खेलाडी खेलिरहेका छन् र ती सबैले हिमालको काखमै पुग्ने अवसर पाएनन् ।
धेरैले टाढाबाट भने, हेरे र उत्तिकै रमाए पनि । त्यसमै एक थिए, रसेल । उनी त्यस्तो होटलमा बसेका थिए, जहाँको कोठाबाट सगरमाथा देख्न सकिन्थ्यो । पछि उनले एक भिडियोमा भनेका छन्, ‘नतिजा जस्तोसुकै होस, म नेपाललाई माया गर्छु । म भन्न सक्छु, नेपाल अति नै शान्त ठाउँ हो । यहाँका मानिसमा न्यानो माया गर्ने बानी छ, मीठो स्वागतसहित । मेरो नजिक आएर उनीहरू रमाइरहेका छन् । उनीहरूको व्यवहारले मलाई क्यारेवियन भावको झझल्को दिएको छ ।’
यस्तै विश्वका नम्बर १ टी–२० अलराउन्डर सिकन्दर राजाले पनि चितवन राइनोजको टिमसँग नगरकोटमा एक रात बिताउने अवसर पाए । लुम्बिनी लायन्सले आफ्नो टिमलाई कुलेखानी लग्यो भने कर्णाली याक्सले लेले । धेरै खेलाडीले सामाजिक सञ्जाल, खेलपछिको पत्रकारसँग भेटघाट र अन्य अवसरमा पनि नेपालमा बिताएका मीठा क्षणको अनुभव बताएका छन् । यस्तै प्रतियोगिताकै क्रममा अन्य केही दिग्गज पनि नेपाल आए र यसले प्रतियोगिताको रौनकता अझ बढेको थियो ।
हिमालयन स्पोर्ट्सको अतिथिका रूपमा पूर्वफास्ट बलर शोएब अख्तर र पोखरा एभेन्जर्सका सद्भावदूत इरफान पठानले नेपाल आएयता यो देश आफूहरू सबैले मन पराएको बताए । नेपाल पर्यटन बोर्डले पनि ती स्टारको सामाजिक सञ्जालका प्रतिक्रिया सेयर गरेको छ । वार्नरको तस्बिर सेयर गर्दै उसले लेखेको छ, ‘जब विश्व खेलकुदका स्टार नेपाल आउँछन्, त्यसले मैदानमा उत्साह मात्र सिर्जना गर्दैन, यसले मानिस, संस्कति र देशलाई पनि एकआपसमा नजिक ल्याउँछ ।’
यस्तै काठमाडौंमा गल्फ खेल्न पाउँदा जिमी निसम र डेविड मिलरले निकै रमाइलो माने । निसमले गोकर्णको गल्फ कोर्समा खेल्न पाएकामा खुसी व्यक्त गरेका छन् । लुम्बिनीविरुद्धको खेलमा कर्णालीको कप्तानीसमेत गरेका मिलरले भनेका छन्, ‘नेपाल बसाइ सानदार रहेको छ । यहाँका मानिस अद्भुत छन् । मैदानमा उपस्थित
दर्शक पनि उत्कृष्ट छन् । अनि गल्फ कोर्स वरिपरिको दृश्य पनि सुन्दर छ । मैले यहाँको समयको भरपूर मज्जा लिएको छु ।’
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।