प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रमा मधेशी, थारू, आदिवासी जनजाति र दलितलगायत उत्पीडित समुदायका माग सम्बोधन गर्न आग्रह गरिएको छ ।
काठमाडौँ — ‘हुँकार मधेश’ले संविधान संशोधन, स्वायत्त प्रदेश निर्माण, नेपाललाई हिन्दु राष्ट्र घोषणा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत २३ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
संस्थाका केन्द्रीय सहजकर्ता राम कतार कश्यपले प्रधानमन्त्रीलाई सम्बोधन गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत बुझाएको ज्ञापनपत्रमा मधेशी, थारू, आदिवासी जनजाति, दलितलगायत उत्पीडित समुदायका माग सम्बोधन गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा मधेश आन्दोलनका क्रममा भएको राज्य दमनबारे गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न, अधिकारसम्पन्न स्वायत्त प्रदेश बनाउन र थरुहट–मधेशलाई एउटै प्रदेश कायम गर्न माग गरिएको छ ।
त्यस्तै, नेपाललाई ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’ घोषणा गर्न, नेपाल–भारतबीच विशेष सम्बन्ध स्थापित गर्न, चुरे संरक्षणका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न र हुलाकी राजमार्गलाई औद्योगिक करिडोरका रूपमा विकास गर्न पनि माग गरिएको छ ।
जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई आजीवन कारावासको व्यवस्था, बेरोजगार युवालाई रोजगारी वा भरणपोषण भत्ता, राज्यका निकायमा महिलाको समानुपातिक सहभागिता र अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ । ज्ञापनपत्र बुझाउन हुँकार मधेशका केन्द्रीय अभियन्ताहरू रामकुमार कश्यप, केशवकुमार, कौशलेन्द्र कौशल, रत्नेश्वर सनातनी, कञ्चन कुमारी, रिना झा, आनन्दकुमार महतो र प्रकृति दुलाल सहभागी भएका थिए ।