Trending
Prev Story
Next Story

भारत भ्रमणको ‘उपलब्धि’ मा प्रधानमन्त्रीले सम्झिए सीमा कूटनीति, बिर्सिए लिपुलेक

Nagarik News •
November 25, 2026 • 01:15 PM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सार्वजनिक गरेको भारत भ्रमणका १२ प्रमुख उपलब्धिमध्ये नेपाल भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्रलाई दिइएको निर्देशनलाई महत्त्वपूर्ण कूटनीतिक प्रगतिका रूपमा प्रस्तुत गरिएको छ।

भारत भ्रमणको ‘उपलब्धि’ मा प्रधानमन्त्रीले सम्झिए सीमा कूटनीति, बिर्सिए लिपुलेक

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सार्वजनिक गरेको भारत भ्रमणका १२ प्रमुख उपलब्धिमध्ये नेपाल भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्रलाई दिइएको निर्देशनलाई महत्त्वपूर्ण कूटनीतिक प्रगतिका रूपमा प्रस्तुत गरिएको छ।

तर, भ्रमणका क्रममा सोमबार सम्पन्न द्विपक्षीय वार्तामा नेपाली चासोको केन्द्रमा रहेको लिपुलेकको विषय नै नउठेको भारतीय विदेश सचिव विक्रम मिस्रीले बताएका थिए।

परराष्ट्र मन्त्रालयले तयार पारेर प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भ मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरिएको उल्लेख छ।

साथै, सीमासम्बन्धी विषयको समाधानका लागि आवश्यक कार्य अगाडि बढाउन नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवलाई निर्देशन दिइएको र यसबाट लामो समयदेखि थाँती रहेका सीमा विवादको कूटनीतिक समाधान प्रक्रिया अघि बढ्ने मन्त्रालयको दाबी छ।

तर, सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव मिस्रीले लिपुलेकका विषयमा भने कुनै छलफल नभएको बताएका थिए।

भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने विषयमा नेपालले आपत्ति जनायो कि जनाएन भन्ने पत्रकारको प्रश्नमा मिस्रीले भनेका थिए, ‘आज लिपुलेकको विषय उठेन। दुई पक्षबीच यसबारे छलफल भएन। तपाईंलाई थाहै छ, लिपुलेक भारत र चीनबीचको एउटा नाका हो। लामो समयदेखि यो नाका दुई देशबीच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको छ। अहिलेको स्थिति यही हो।’

वार्तापछि आयोजित संयुक्त सार्वजनिक सम्बोधनमा समेत प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदी दुवैले सीमा विवादबारे एक शब्द बोलेनन्। दुई देशबीच जारी २४ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा पनि सीमाको विषय एउटै बुँदामा सीमित राख्दै समाधान हुन बाँकी सीमा विवादमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको मात्र उल्लेख छ।

कूटनीतिक दस्तावेजहरू नियाल्दा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई सीमा विवाद सुल्झाउने जिम्मा दिनु नयाँ सहमति होइन। सन् २०१४ मै तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीचको वार्तापछि जारी संयुक्त वक्तव्यमा कालापानी र सुस्तालगायत समाधान हुन बाँकी सीमा विवादमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको थियो।

बाह्र वर्षअघि सन् २०१४ को संयुक्त वक्तव्यमा विवादित भूभाग कालापानी र सुस्ताको नामै किटेर उल्लेख गरिएको थियो। तर, यसपटकको विज्ञप्तिमा कुनै पनि विवादित क्षेत्रको नाम समावेश छैन भने विवाद समाधान गर्ने नयाँ कार्ययोजना वा समयसीमासमेत तोकिएको छैन।

भारतीय विदेश सचिव मिस्रीले निकट भविष्यमा सचिवस्तरीय संयन्त्रको बैठक बस्न सक्ने बताए पनि मितिबारे केही खुलाएनन्।

यसअघि सन् २०२३ जुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा द्विपक्षीय विज्ञप्तिमा सीमासम्बन्धी नयाँ सहमति नपरे पनि संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सार्वजनिक रूपमै सीमा विवादको विषय उठाएका थिए।

त्यतिबेला मोदीले सीमा विवादलगायत सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। यसपटक भने दुवै प्रधानमन्त्री सार्वजनिक सम्बोधनमा मौन रहे भने विज्ञप्तिमा १२ वर्षअघिकै पुरानो संयन्त्रलाई निरन्तरता दिइएको छ।

सीमा विवादबारे भ्रमणअघि प्रधानमन्त्री शाहले लिँदै आएको सार्वजनिक अडान र नयाँदिल्ली वार्ताको नतिजाबीच देखिएको अन्तरका कारण यो विषय थप चासोमा परेको छ। काठमाडौं महानगरपालिकाको मेयर रहँदा कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि शाह नेपाल र भारत दुवैतर्फ व्यापक चर्चामा आएका थिए।

प्रधानमन्त्री बनेपछि पनि उनले संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादमा भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइएको तथा विवाद सल्टाउन चीन र बेलायतसँगसमेत संवाद भइरहेको बताएका थिए।

‘यसबारे भारत र चीनसँग मात्र होइन, बेलायत सरकारसँग पनि हामीले कुरा गरेका छौं,’ संसद्मा शाहले भनेका थिए।

ब्रिटिस इन्डिया छाड्दै गर्दादेखिको समस्या भएकाले बेलायत सरकारले पनि यसमा सरोकार राख्नुपर्ने नेपालको मान्यता रहेको उल्लेख गर्दै उनले यी सबै विषय ‘टेबल टक’ र कूटनीतिक माध्यमबाट समाधान हुने जानकारी गराएका थिए।

उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूले बेलायती दूतावाससँग सीमासम्बन्धी ऐतिहासिक नक्सा र दस्तावेजबारे चासो राखेको विषयसमेत चर्चामा आएको थियो।

नेपाल र भारतबीच विभिन्न स्थानमा सीमा विवाद रहे पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा सबैभन्दा संवेदनशील मानिन्छ। सन् १८१६ को सुगौली सन्धिअनुसार काली नदीपूर्वको भूभाग आफ्नो रहेको र लिम्पियाधुराबाट निस्कने नदी नै काली नदीको मूल धारा भएको नेपालको आधिकारिक दाबी छ। भारतले भने नेपालको यो दाबी स्वीकार गरेको छैन।

सन् २०१९ नोभेम्बरमा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा देखाएपछि नेपालले विरोध जनाएको थियो।

त्यसको अर्को वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ती भूभाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो। यस नक्सालाई संसद्ले संविधान संशोधनमार्फत संविधानको अनुसूचीमा समावेश गरिसकेको छ। भारतले भने नेपालको उक्त नक्सा स्वीकार गरेको छैन।

भ्रमणका क्रममा विवाद नरहेका सीमा क्षेत्रमा सीमा स्तम्भ मर्मतसम्भार र अतिक्रमणसम्बन्धी प्राविधिक काममा भएको प्रगतिमा दुवै पक्षले सन्तुष्टि जनाए पनि नेपाली जनचासोको केन्द्रमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय वार्ताको एजेन्डा बन्न नसक्दा सीमा विवाद समाधानको विषय १२ वर्षअघिकै सहमति नवीकरणमा सीमित देखिएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १९:०० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

सारांश Summarized by AI प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आर्थिक, रणनीतिक र सांस्कृतिक आयाममा विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । नेपालले भारतसँगक...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
1d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2625