Trending
Prev Story
Next Story

प्रधानमन्त्रीले सार्वजनिक गरे भारत भ्रमणका १२ उपलब्धि

Nagarik News •
November 25, 2026 • 12:48 PM
5
5 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो दुईदिने राजकीय भारत भ्रमणका क्रममा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको १२ बुँदे विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीले सार्वजनिक गरे भारत भ्रमणका १२ उपलब्धि

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो दुईदिने राजकीय भारत भ्रमणका क्रममा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको १२ बुँदे विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहले गत मङ्सिर ६ र ७ गते भारतको राजकीय भ्रमण गरेका थिए। सार्वजनिक उपलब्धिहरूमा हालसम्मकै सबैभन्दा ठूलो २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज, सन् १९५० को सन्धि पुनरावलोकनको खाका, काठमाडौं-भैरहवा-लखनउ दुईतर्फी हवाई मार्ग, थप दुई भारतीय बन्दरगाहमा पहुँच, सीमा समस्या समाधानका लागि सचिवस्तरीय निर्देशनदेखि नेपालमा आईआईटी क्याम्पस र राष्ट्रिय क्रिकेट एकेडेमी स्थापनासम्मका विषय समेटिएका छन्।

भ्रमणका क्रममा भारतले नेपालका लागि हालसम्मकै सबैभन्दा ठूलो २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको छ। सो रकममध्ये करिब ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि अनुदान सहायताका रूपमा प्राप्त हुनेछ।

बाँकी करिब १ खर्ब ८४ अर्ब रुपैयाँ विभिन्न ऊर्जा परियोजनाहरूका लागि भारतीय मुद्रामा आधारित ‘लाइन अफ क्रेडिट’ (सहुलियतपूर्ण ऋण) का रूपमा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

यसबाट विपद्पछिको पुनर्निर्माण, विकास र समृद्धिमा सहयोग पुग्ने, पूर्वाधार विकासमा स्रोत सुनिश्चित हुने तथा भारतीय मुद्रामा प्राप्त हुने भएकाले बाह्य प्रभाव कम भई लागत प्रभावी हुने उल्लेख छ।

२. संयुक्त दूरदृष्टि र सन् १९५० को सन्धि पुनरावलोकन

दुई देशको विकास र सहकार्यका लागि संयुक्त दूरदृष्टिको खाका तयार भएको छ। उक्त खाकामा समसामयिक राजनीतिक, आर्थिक तथा प्राविधिक वास्तविकतालाई प्रतिबिम्बित गर्ने गरी सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका पुराना सन्धि तथा सम्झौताहरू आपसी सहमतिमा पुनरावलोकन गर्न सकिने विषय समावेश गरिएको छ।

खाकामा विकास र समुन्नतिसम्बन्धी विविध विषयसमेत समेटिएका छन्। यसले आर्थिक विकास र समुन्नत भविष्यका लागि सहकार्यको आधार तय गरेको, सन् १९५० को सन्धिलगायत पुराना सन्धिलाई समयसापेक्ष बनाउन पुनरावलोकनको बाटो खुलेको तथा दुई देशबीचको सम्बन्ध र जनस्तरको घनिष्ठता थप प्रगाढ हुने जनाइएको छ।

३. नेपाल-भारत सीमा विवाद समाधानमा कूटनीतिक पहल

भ्रमणका क्रममा नेपाल-भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भहरूको मर्मत सम्भारमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरिएको छ। साथै, सीमासम्बन्धी विषयको समाधानका लागि आवश्यक कार्य अगाडि बढाउन नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवलाई निर्देशन दिइएको छ।

यसबाट दुवै पक्षको अनुकूल समयमा सचिवस्तरीय बैठक आयोजना भई लामो समयदेखि थाँती रहेका सीमासम्बन्धी विषयहरूको कूटनीतिक समाधानको प्रक्रिया अगाडि बढ्ने मन्त्रालयको विवरणमा उल्लेख छ।

४. काठमाडौं-भैरहवा-लखनउ दुईतर्फी हवाई मार्ग

एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी ३४५’ काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई अब दुईतर्फी बनाउने सहमति भएको छ।

यस निर्णयले विभिन्न देशका सहरहरूसँगको नेपालको हवाई सम्पर्क सहज बनाउनेछ। हवाई दूरी र इन्धन खपत कम हुँदा आम नागरिक प्रत्यक्ष लाभान्वित हुने र नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

५. पारवहनका लागि थप दुई भारतीय बन्दरगाहमा पहुँच

नेपालले हाल प्रयोग गर्दै आएका कलकत्ता र विशाखापटनम बन्दरगाहका अतिरिक्त थप दुई बन्दरगाहमा पहुँच पाउने भएको छ। अब नेपालका लागि गुजरातको काण्डलास्थित दीनदयाल पोर्ट र ओडिसास्थित पारादीप पोर्ट खुला हुने भएका छन्।

थप बन्दरगाहको पहुँचले ढुवानी लागत र दूरी कम भई आम नागरिक प्रत्यक्ष लाभान्वित हुने, नेपालको अन्तर्राष्ट्रिय व्यापार थप सहज हुने र नेपाली व्यवसायीहरूका लागि नयाँ अवसर सिर्जना हुने उल्लेख छ।

भ्रमणमा रेल पूर्वाधार र यातायातका क्षेत्रमा चार महत्त्वपूर्ण प्रगति भएका छन्। जसअनुसार जनकपुर-अयोध्याबीच यात्रुवाहक रेल सञ्चालन हुने भएको छ भने रक्सौल-काठमाडौं रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ लाई अन्तिम रूप दिइएको छ।

यसैगरी, पूर्व-पश्चिम रेल निर्माणमा सहकार्य गर्ने तथा जयनगर-बर्दीबास र जोगवनी-विराटनगर रेलवेको अन्तिम खण्ड यथाशक्य छिटो सम्पन्न गर्ने सहमति भएको छ।

यसबाट सामाजिक तथा धार्मिक सम्बन्ध प्रगाढ बन्ने, धार्मिक पर्यटन प्रवर्द्धन हुने र द्विपक्षीय व्यापार, पारवहन तथा आवतजावत सहज हुने जनाइएको छ।

७. ऊर्जा : दुई प्रसारण लाइन सहमति र तल्लो अरुण शिलान्यास

ऊर्जा क्षेत्रमा नेपालको इनरुवा-भारतको न्यू पूर्णिया र नेपालको दोधारा-भारतको बरेलीबीच संयुक्त उपक्रम मार्फत नयाँ विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। त्यस्तै, तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्याससमेत सम्पन्न भएको छ।

यी कदमले नेपालको ऊर्जा सुरक्षा अभिवृद्धि गर्नुका साथै द्विपक्षीय र क्षेत्रीय ऊर्जा व्यापार तथा कनेक्टिभिटी विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

८. पेट्रोलियम पाइपलाइन विस्तार र शिलान्यास

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको सञ्चालन सुरु भएको छ। साथै, झापा-सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्याससमेत गरिएको छ।

यसबाट नेपालको ऊर्जा सुरक्षा अभिवृद्धि हुने, इन्धन आपूर्ति सुनिश्चित हुने र ढुवानी लागत घट्ने भएकाले आम नागरिकले प्रत्यक्ष लाभ लिने विवरणमा उल्लेख छ।

९. दार्चुला-धार्चुला मोटरेबल पुल उद्घाटन

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त रूपमा उद्घाटन गरिएको छ। पुल सञ्चालनमा आएसँगै त्यस क्षेत्रका नागरिकका लागि सीमापार आवागमन सहज हुने, स्थानीयस्तरको जनसम्पर्क थप घनिष्ठ बन्ने र दुई देशबीचको व्यापार अभिवृद्धि हुने जनाइएको छ।

१०. बनबासामा एकीकृत जाँचचौकी शिलान्यास

भ्रमणका क्रममा बनबासामा एकीकृत जाँचचौकीको शिलान्यास गरिएको छ। यसबाट भन्सार जाँच तथा क्लियरेन्स प्रक्रिया थप प्रभावकारी हुने र अन्तरदेशीय व्यापार प्रवर्द्धन एवम् सीमापार आवागमन सहज बन्ने उल्लेख छ।

११. शिक्षा : नेपालमा आईआईटीको अफ-सोर क्याम्पस

उच्च शिक्षाका क्षेत्रमा नेपालमा भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को ‘अफ-सोर क्याम्पस’ स्थापना गर्ने सहमति भएको छ।

यसले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न र दक्ष जनशक्ति विकास गर्दै नेपाली युवाहरूका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत पुग्ने मन्त्रालयले जनाएको छ।

१२. खेलकुद : राष्ट्रिय क्रिकेट एकेडेमी स्थापनामा सहयोग

खेलकुद क्षेत्रमा नेपालमा ‘नेसनल क्रिकेट एकेडेमी’ को स्थापनामा भारतले सहयोग गर्ने भएको छ। यसबाट नेपाली खेलाडीहरूले स्तरीय प्रशिक्षण प्राप्त गर्ने र नेपालमा क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १८:३३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

सारांश Summarized by AI प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आर्थिक, रणनीतिक र सांस्कृतिक आयाममा विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । नेपालले भारतसँगक...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
1d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2625