काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब उपचार सेवा लिन अनिवार्य रूपमा स्वास्थ्य बीमाको सक्कली परिचयपत्र बोकेर अस्पताल जानु नपर्ने भएको छ।
स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा समेत बीमाअन्तर्गतको उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो।
बुधबार देशभरका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले भौतिक परिचयपत्र साथमा नभएकै कारण कुनै पनि बीमित नागरिकलाई उपचार सेवाबाट वञ्चित नगर्न निर्देशन दिएको छ।
बोर्डको नयाँ व्यवस्थाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको सक्कली प्रति, डिजिटल कार्ड वा परिचयपत्रमा उल्लेख भएका विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक प्रस्तुत गरेमा सेवा लिन सक्नेछन्।
तर, त्यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी बीमामा आबद्ध रहेको यकिन गर्नुपर्नेछ।
प्रणालीबाट विवरण प्रमाणीकरण भएपछि स्वास्थ्य संस्थाले सम्बन्धित व्यक्तिलाई बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने उपचार सेवा प्रदान गर्नुपर्ने बोर्डको निर्देशन छ।
यसअघि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले उपचार सेवा लिन अस्पतालमा अनिवार्य रूपमा भौतिक परिचयपत्र प्रस्तुत गर्नुपर्ने अभ्यास थियो।
त्यसका कारण परिचयपत्र हराएका, घरमै छुटाएका वा अन्य कारणले साथमा बोक्न नसकेका सेवाग्राहीले उपचार सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएका थिए।
स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवनकुमार शाहले नयाँ व्यवस्थाले यस्ता समस्याको समाधान गर्दै बीमित नागरिकलाई उपचार सेवा प्राप्त गर्न सहज बनाउने बताएका छन्।
उनका अनुसार स्वास्थ्य बीमाको परिचयपत्र नभएकै कारण सेवाग्राहीलाई अस्पतालबाट फर्किनुपर्ने अवस्था अन्त्य गर्न यो व्यवस्था गरिएको हो।
बोर्डको निर्देशनसँगै स्वास्थ्य बीमामा आबद्ध नागरिकले डिजिटल माध्यमबाट आफ्नो परिचय खुलाएर पनि स्वास्थ्य सेवा लिन सक्ने भएका छन्।
यसले विशेषगरी भौतिक कार्ड हराएका, बिग्रिएका वा साथमा ल्याउन बिर्सिएका बीमितलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, डिजिटल कार्ड वा फोटोकपी प्रस्तुत गरेकै आधारमा स्वतः सेवा पाइने भने होइन। सम्बन्धित स्वास्थ्य संस्थाले बीमा नम्बरमार्फत बीमितको विवरण प्रमाणीकरण गर्नुपर्ने व्यवस्था कायम छ।
बोर्डको यो निर्णयले स्वास्थ्य बीमा सेवालाई थप सेवाग्राहीमैत्री बनाउनुका साथै भौतिक परिचयपत्रमा रहेको निर्भरता घटाउने अपेक्षा गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।