सरकारले सहमतिको १८ दिनपछि गठन गरेको समितिलाई निर्णय प्रक्रिया र मापदण्ड पालना छानबिन होइन, संस्थाको क्षमता मूल्यांकन गर्ने जिम्मेवारी दिएको केसीको आरोप छ।
चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रहका क्रममा सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै प्रा. डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्ने निर्णय प्रक्रियामाथि छानबिन गर्नुपर्नेमा सरकारले संस्थाको सञ्चालन क्षमता मूल्यांकन गर्ने कार्यादेश दिएको उनको आरोप छ ।
सरकारसँग गत कात्तिक २१ मा भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। तर, समितिको कार्यक्षेत्र सहमतिमा उल्लेख भएभन्दा फरक रहेको भन्दै केसीले बुधबार विज्ञप्ति जारी गरी त्यसलाई सच्याउन माग गरेका हुन् ।
सहमतिमा चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए/नभएको छानबिन गर्ने उल्लेख छ। मापदण्ड उल्लंघन वा स्वार्थको द्वन्द्व भएको पाइएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने सहमति भएको केसीले जनाएका छन् ।
शिक्षा मन्त्रालयले गठन गरेको समितिलाई ती संस्थाको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए/नभएको मूल्यांकन गर्ने कार्यादेश दिइएको छ। यसले निर्णय प्रक्रिया, मापदण्डको पालना, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जवाफदेहितामाथिको छानबिनलाई समेट्न नसकेको केसीको भनाइ छ ।
'संस्थाको सञ्चालन क्षमता परीक्षण गर्नु र निर्णय प्रक्रिया तथा मापदण्ड उल्लंघनको छानबिन गर्नु फरक विषय हुन्,' विज्ञप्तिमा भनिएको छ, 'स्थलगत अनुगमन छानबिनको एउटा माध्यम हुन सक्छ, तर सहमतिले तोकेको मूल उद्देश्यको विकल्प बन्न सक्दैन।'
केसीले सहमतिअनुसार आफूहरूले सिफारिस गरेका चिकित्सा शिक्षाका विज्ञलाई समितिमा समावेश नगरिएको र समिति गठन गर्न झन्डै तीन साता लगाएर कार्यावधि भने एक साता मात्रै तोकिएको भन्दै पनि असन्तुष्टि जनाएका छन् ।
यसैगरी, सहमतिको बुँदा ४ अनुसार गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको बैठकमा आफ्ना पक्षका सदस्य डा. बद्री रिजाल, विजय बाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएको भन्दै उनले आपत्ति जनाएका छन् ।
सहमति अक्षरशः कार्यान्वयन गर्न माग गर्दै केसीले अन्यथा सत्याग्रहलगायत आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्। आन्दोलनबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने उनको भनाइ छ ।
सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।