दुई समूहका युवाबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले इन्सास राइफलबाट हवाई फायर गरेको हो।
नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको एक मेलामा दुई समूह बीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार झडप नियन्त्रणमा लिन प्रहरीले बिहान इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरिएको थियो ।
चिसापानीमा जारी मेलामा राति आगो तापेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको थियो । झडप नियन्त्रणमा लिन घटनास्थलमा पुगेका प्रहरीमाथि समेत आक्रमण भएपछि प्रहरी सहायक निरीक्षकसहित चार जना प्रहरी घाइते भएका छन् ।
दुई समूहबीचको झडपले गम्भीर रूप लिन थालेपछि सम्भावित मानवीय क्षति रोक्न प्रहरीले हवाई फायर गरेको जनाएको छ । झडपमा परी एक जना घाइते भएका छन् भने प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।