कान्तिपुरसँगको अन्तर्वार्तामा पूर्वराजदूत दीपकुमार उपाध्यायले द्विपक्षीय सहमति कार्यान्वयन नहुने, कूटनीतिक नोटको जवाफ नआउने र जलस्रोतका आयोजना वर्षौंदेखि अल्झिने समस्या समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले पहिलो औपचारिक विदेश भ्रमणका रूपमा भारतको दुईदिने राजकीय भ्रमण पूरा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको सुरुवातका रूपमा व्याख्या गरिएको छ । भारतीय प्रधानमन्त्रीले नेपाली प्रधानमन्त्रीप्रति देखाएको सद्भाव, भ्रमणको स्वरूप, दुई देशबीच भएका सहमति तथा संयुक्त वक्तव्यले कूटनीतिक वृत्तमा विभिन्न बहस जन्माएका छन् । यिनै विषयमा रेडियो कान्तिपुरको कार्यक्रम ‘द हेडलाइनर्स’ मा श्रीकृष्ण न्यौपानेले भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय सँग गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको घटनाका रूपमा हेर्न सकिन्छ ?
कूटनीति आफैँमा अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण विषय हो। यसमा अवसर पनि हुन्छ र चुनौती पनि। भारतका लागि पनि यो अवसर हो, नेपालका लागि त झन् ठूलो अवसर हो। किनभने नेपाल–भारत सम्बन्धमा लामो समयदेखि रहँदै आएका केही असहजता, पीडा र समस्याहरू छन्। ती समस्यालाई समाधान गर्ने अवसरका रूपमा यस भ्रमणलाई लिनुपर्छ । अहिले नै भ्रमण सफल भयो वा असफल भयो भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन। भ्रमणका क्रममा जारी संयुक्त वक्तव्य, भएका सहमति र विभिन्न दस्तावेज हेर्नुपर्छ । त्यसपछि दुई प्रधानमन्त्रीबीच भएका एक्लाएक्लै वार्तामा के कुराकानी भयो र त्यसले दुई नेताबीचको विश्वास तथा आत्मीयता कति बढायो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ ।
भारतका लागि पनि नेपालको नयाँ राजनीतिक नेतृत्व नयाँ विषय थियो। प्रधानमन्त्री शाहसँग भारतीय नेतृत्वको पहिलेको परिचय र अनुभव थिएन। त्यसैले उहाँलाई भारतले कसरी ग्रहण गर्छ र उहाँले भारतीय नेतृत्वसँग कस्तो सम्बन्ध स्थापित गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण थियो। यस भ्रमणमा केही सकारात्मक नवीनता अवश्य देखिएको छ। सानो टोली, कम खर्च र छोटो समयको भ्रमण हुनु राम्रो पक्ष हो। विगतमा राज्यलाई आर्थिक भार पर्ने गरी ठूला टोली लिएर लामो समय विदेश भ्रमण गर्ने प्रवृत्ति थियो। त्यसलाई परिवर्तन गर्नु सकारात्मक हो । अर्को महत्त्वपूर्ण पक्ष के हो भने नेपालमा भारतले जे गर्छ, सबै भारतकै कारण हुन्छ भन्ने हीनताबोध र लघुताभासपूर्ण मानसिकता पनि परिवर्तन हुनुपर्छ। भारतले गरेका राम्रा कामलाई राम्रो भन्न सक्नुपर्छ भने गलत व्यवहार र कमजोरीलाई पनि स्पष्ट रूपमा औँल्याउन सक्नुपर्छ। सम्बन्धमा आत्मसम्मान र पारस्परिक सम्मान दुवै आवश्यक छन्।
प्रधानमन्त्री शाहसँग बलियो जनमत, झन्डै दुई तिहाइको समर्थन र युवा पुस्ताको अपेक्षा थियो। उहाँले ती अवसरको सदुपयोग गर्न सक्नुभएन भन्ने आलोचनालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?
म अहिले नै त्यसो भन्दिनँ । केही समय प्रतीक्षा गर्नुपर्छ । भ्रमणको वास्तविक उपलब्धि त्यसको परिणामबाट देखिन्छ । प्रधानमन्त्रीले एक्लाएक्लै वार्तामा के विषय उठाउनुभयो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । त्यसका लागि परराष्ट्र मन्त्रालयको संस्थागत अभिलेखमा सबै विवरण सुरक्षित राखिनुपर्छ । प्रधानमन्त्रीले के भन्नुभयो, भारतीय प्रधानमन्त्रीले के जवाफ दिनुभयो, कुन विषयमा सहमति भयो र कुन विषयमा असहमति रह्यो भन्ने कुरा संस्थागत स्मृतिमा रहनुपर्छ । यसले भविष्यमा कूटनीतिक पहल गर्न सजिलो हुन्छ । नेपाल–भारत सम्बन्धलाई बुझ्दा तीनवटा तहलाई छुट्याउनुपर्छ।
पहिलो जनस्तरको सम्बन्ध हो, जुन अत्यन्त राम्रो छ। दुवै देशका जनताबीच ऐतिहासिक, सांस्कृतिक र सामाजिक आत्मीयता छ। भारतका लागि राजदूत भएर काम गर्दा मैले पनि त्यो सद्भाव अनुभव गरेको छु । दोस्रो प्रशासनिक तहको सम्बन्ध हो । यो निकै जटिल छ। भारतको परराष्ट्र मन्त्रालय र प्रशासनिक संयन्त्र अत्यन्त व्यवस्थित र जटिल छ। नेपालले पठाएका कूटनीतिक नोटको जवाफ नआउने, सहमति भएका विषय कार्यान्वयन नहुने र प्रशासनिक तहमा निर्णय अल्झिने समस्या लामो समयदेखि छ । तेस्रो राजनीतिक तहको सम्बन्ध हो। राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउने हो भने प्रशासनिक तहमा अड्किएका धेरै समस्या समाधान हुन सक्छन् ।
नेपाल र भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्र छन्। ती संयन्त्रलाई सक्रिय बनाउने र तिनले गरेका निर्णय कार्यान्वयन गर्ने हो भने धेरै समस्या समाधान हुन सक्छन्। ऊर्जा व्यापार, जलस्रोतको उपयोग, व्यापार सहजीकरण र सीमासम्बन्धी विवादमा पनि त्यसले सहयोग पुर्याउँछ।
सीमा विवाद, सन् १९५० को सन्धि र ईपीजी प्रतिवेदनजस्ता विषयमा प्रधानमन्त्री शाहले भारतीय समकक्षीसँग कुरा उठाउनुहुनेछ भन्ने अपेक्षा थियो। तर ती विषय सार्वजनिक रूपमा देखिएनन् । के यो भ्रमणको कमजोरी होइन?
एक्लाएक्लै वार्तामा के भयो भन्ने कुरा हामीलाई थाहा छैन। त्यसैले उहाँले यी विषय उठाउनुभएन भनेर अहिले नै भन्न मिल्दैन। तर सरकारले यसबारे स्पष्ट पार्नुपर्छ । कूटनीतिमा सबै विवादित विषय सार्वजनिक रूपमा उच्चस्तरीय बैठकको औपचारिक एजेन्डामा राखिन्छन् भन्ने हुँदैन। कतिपय विषय प्रोटोकलका कारण औपचारिक वार्तामा नआउन सक्छन्। तर त्यसको अर्थ ती विषयलाई पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ भन्ने होइन ।
कम्तीमा एक्लाएक्लै वार्ता वा अन्य कूटनीतिक माध्यमबाट राष्ट्रिय सरोकारका विषय निरन्तर उठाइरहनुपर्छ। सीमा विवाद, ईपीजी प्रतिवेदन, सन् १९५० को सन्धि र अन्य द्विपक्षीय समस्यामा नेपालको धारणा स्पष्ट हुनुपर्छ । नेपाल–भारत सम्बन्धको कार्पेट धेरै फोहोर भइसकेको छ । त्यसलाई सफा गर्न दुवै पक्षले प्रयास गर्नुपर्छ । भारतले पनि उदारता देखाउनुपर्छ र नेपालले पनि आफ्नो राष्ट्रिय हितका विषयमा दृढतापूर्वक कुरा राख्न सक्नुपर्छ। भारतले नेपालसँगको सम्बन्ध सुधार गर्न नसक्दा उसलाई पनि घाटा छ।
विशेषगरी पानी र जलस्रोतको उपयोगमा दुवै देशले ठूलो सम्भावना गुमाइरहेका छन्। नेपालका हिमालबाट बग्ने पानी दुवै देशको आर्थिक समृद्धिको आधार बन्न सक्छ। तर त्यसका लागि भारतले नेपाललाई समान साझेदारका रूपमा व्यवहार गर्नुपर्छ ।
विवादित विषयलाई अहिले नउठाऔँ भन्ने भद्र सहमति दुई प्रधानमन्त्रीबीच भएको कूटनीतिक वृत्तको चर्चालाई कसरी बुझ्ने?
कूटनीतिमा केही निश्चित मान्यता र प्रोटोकल हुन्छन्। सबै विवादित विषय उच्चस्तरीय औपचारिक बैठकमा उठाइँदैनन्। तर समस्यालाई समाधान गर्ने प्रयास नै नगर्ने भन्ने हुँदैन।
यदि अहिले औपचारिक एजेन्डामा नराख्ने सहमति भएको हो भने पनि त्यसको समाधानका लागि अर्को स्पष्ट प्रक्रिया हुनुपर्छ। सचिवस्तरीय बैठकबाट समाधान गर्ने भनिएका विषय वर्षौंसम्म बैठक नै नबसी थन्किनु हुँदैन। उदाहरणका लागि सीमा विवादको विषय सचिवस्तरीय संयन्त्रबाट समाधान गर्ने भनिएको छ। तर बैठक कहिले बस्ने र कहिलेसम्म निष्कर्षमा पुग्ने भन्ने कुरा स्पष्ट छैन। यसरी निरन्तर पन्छाउँदै जाने हो भने समस्या समाधान हुँदैन। कूटनीति भनेको चातुर्य, गम्भीरता, परिपक्वता र कौशल हो। आफ्नो राष्ट्रिय हित सुरक्षित गर्न नेपालले त्यो कौशल देखाउन सक्नुपर्छ। भारतले पन्छायो भन्दैमा हामी पनि पन्छिने होइन। समस्या समाधानका लागि निरन्तर दबाब र संवाद आवश्यक हुन्छ।
भारतले नेपालका समस्यालाई प्राविधिक तहमा अल्झाएर राख्ने प्रवृत्ति देखाएको छ। त्यसलाई चिर्न नेपालले के गर्नुपर्छ?
राजनीतिक तहमा इच्छाशक्ति हुने हो भने धेरै समस्या समाधान हुन सक्छन्। नेपाल र भारतबीच भएका कतिपय सम्झौता तथा सहमति कार्यान्वयनमा जान नसक्नुको कारण प्रशासनिक तहमा एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति हो। पञ्चेश्वर परियोजनादेखि लिएर अन्य जलविद्युत् तथा जलस्रोतका आयोजना दशकौँदेखि अल्झिएका छन्। राजनीतिक तहबाट दुवै देशले आफ्नो जिम्मेवारी र प्रतिबद्धताको ग्यारेन्टी गर्ने हो भने यस्ता समस्या हटाउन सकिन्छ।
द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाएर राजनीतिक नेतृत्वले स्पष्ट निर्देशन दिनुपर्छ। राजनीतिक तहबाट हरियो झन्डा नदेखाएसम्म प्रशासनिक संयन्त्रले काम गर्दैन। पानीलाई उपयोग गर्न सकियो भने त्यो वरदान हो, उपयोग गर्न सकिएन भने अभिशाप । नदीमा बगेर जाने पानी भनेको आर्थिक सम्भावना बगेर जानु पनि हो। त्यसबाट नेपाल र भारत दुवैले फाइदा लिन सक्छन् ।
भारतसँग सम्बन्धित विषयमा नेपालले एउटै राष्ट्रिय दृष्टिकोण बनाउन नसकेको देखिन्छ। प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरूका अभिव्यक्ति फरक–फरक हुन्छन्। यसले कूटनीतिक रूपमा कस्तो असर पार्छ?
यो हाम्रो गम्भीर कमजोरी हो। भारतले नेपालको राजनीतिक अवस्थालाई नजिकबाट नियालिरहेको हुन्छ। नेपालका नेताहरूको अभिव्यक्ति र व्यवहारमा एकरूपता छैन भने त्यसको फाइदा अर्को पक्षले लिन सक्छ। कुनै नेताले एउटा दृष्टिकोण राख्ने, परराष्ट्रमन्त्रीले अर्को कुरा गर्ने, अर्थमन्त्रीले फरक धारणा राख्ने र प्रधानमन्त्रीले अर्को सन्देश दिने हो भने हाम्रो राष्ट्रिय अडान कमजोर हुन्छ। परराष्ट्र नीति कुनै एउटा पार्टी वा सरकारको मात्र विषय होइन। यसमा संसद्, राजनीतिक दल, सरकार र राष्ट्रिय सरोकारका सबै पक्षबीच साझा समझदारी आवश्यक हुन्छ।
नेपालले भारतसँग कस्तो सम्बन्ध चाहन्छ, कुन विषयमा आफ्नो अडान के हो र राष्ट्रिय हितका प्राथमिकता के हुन् भन्ने विषयमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ। त्यसपछि मात्र भारतसँग विश्वासिलो र प्रभावकारी रूपमा संवाद गर्न सकिन्छ।
प्रधानमन्त्री मोदीले सार्वजनिक रूपमा नेपाली प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गर्नुभएको छ। यसलाई भारतले नेपालको नयाँ पुस्ताको नेतृत्वमा नयाँ सम्भावना देखेको संकेतका रूपमा लिन सकिन्छ?
प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्रीको प्रशंसा गर्नु सकारात्मक कुरा हो। यो नेपालको पनि गौरवको विषय हो। नेपालमा आएको राजनीतिक परिवर्तन र युवा नेतृत्वप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढ्नु स्वाभाविक हो। प्रधानमन्त्री शाहको आँट, दृष्टिकोण र नेतृत्व क्षमताबाट भारतीय प्रधानमन्त्री प्रभावित हुनुभएको हुन सक्छ। तर कूटनीतिमा प्रशंसा र सम्मान एउटा पक्ष हो भने त्यसलाई व्यावहारिक उपलब्धिमा बदल्नु अर्को पक्ष हो। मोदीले प्रशंसा गर्नुभयो भन्दैमा नेपालका सबै समस्या समाधान भए भन्ने होइन।
भारतका लागि नेपाली राजदूतहरूले पनि आफ्ना समस्या र राष्ट्रिय सरोकारका विषय प्रभावकारी रूपमा राख्न नसक्ने अवस्था छ? तपाईंको राजदूतका रूपमा काम गर्दाको अनुभव के छ?
भारतमा नेपाली राजदूतका लागि काम गर्न सजिलो छैन। मैले पनि त्यो अनुभव गरेको छु। म राजनीतिक पृष्ठभूमिबाट आएको हुनाले कतिपय तहमा पहुँच बनाउन सहज थियो। तर सबै राजदूतको अवस्था त्यस्तो हुँदैन। राजदूतको काम केवल कूटनीतिक नोट पठाउने वा सन्देश आदानप्रदान गर्ने मात्र होइन। तर व्यवहारमा कतिपय अवस्थामा राजदूतलाई पोस्ट अफिसजस्तो बनाइन्छ। नेपालले आफ्ना समस्या र चासोका विषयमा कूटनीतिक नोट पठाउँछ, तर त्यसको जवाफ नै आउँदैन।
भारतलाई कुनै समस्या पर्यो भने दूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म तुरुन्तै सक्रियता देखिन्छ र नेपालबाट तत्काल प्रतिक्रिया अपेक्षा गरिन्छ। तर नेपालले उठाएका विषयमा भने लामो समयसम्म जवाफ नआउने समस्या छ ।
श्रीकृष्ण न्यौपाने रेडियो कान्तिपुरमा आबद्ध छन् ।