Trending
Prev Story
Next Story

विचार | कृषिको उल्टो यात्रा

Ekantipur •
November 18, 2026 • 05:27 PM
12
12 reads 0 reactions

हाम्रोसामु रहेको दोबाटोमध्ये एउटा बाटोले अझ औद्योगिक कृषि, अझ विष, अझ किसान आत्महत्या र प्रकृति विनाशतिर लैजान्छ । अर्को बाटोले माटो, बीउ, किसानतिर फर्काउँछ । हामीले कुन रोज्ने?

विचार | कृषिको उल्टो यात्रा

हाम्रोसामु रहेको दोबाटोमध्ये एउटा बाटोले अझ औद्योगिक कृषि, अझ विष, अझ किसान आत्महत्या र प्रकृति विनाशतिर लैजान्छ । अर्को बाटोले माटो, बीउ, किसानतिर फर्काउँछ । हामीले कुन रोज्ने?

१० हजारदेखि १२ हजार वर्षअघि सुरु भएको खेतीपाती मानव सभ्यताको विकासको एउटा प्रमुख आधार बन्यो । विगतमा खानाकै लागि खेती गरिन्थ्यो, खानेकुरा किनबेचको वस्तु थिएन । कृषि कर्म जीवनशैली र संस्कृति थियो । मानिस, माटो, बीउ, पानी र मौसमबीचको प्राकृतिक सम्बन्ध थियो । किसान व्यापारी थिएन, ऊ माटो र बाली तथा पशुपन्छीको हेरचाह गर्न हात चलाउने खोजकर्ता थियो ।

तर आज त्यो किसानी संसार खुम्चिएको छ । कृषि मानव इतिहासमै सबैभन्दा ठूलो पैसा कमाउने उद्योग बन्न पुगेको छ । बजारमा सीमित व्यक्ति वा समूहको औद्योगिक एकाधिकार छ । खानेकुरा बजारको व्यापारिक वस्तु बनेको छ । खाद्यान्न उब्जाउने र संसारलाई खुवाउने किसान भने समाजमा उपेक्षित छ । कृषि उपजबाट उसले सबैभन्दा थोरै फाइदा पाउँछ । ऊ आफूलाई किसान भन्न हिचकिचाउँछ । ऊ ऋणमा डुबेको छ । समाजमा विस्थापित छ, घातक रसायनले बिरामी छ र ऊ आत्महत्या गर्न बाध्य छ ।

यो परिवर्तन आकस्मिक थिएन । मानव सभ्यतालाई आधुनिक बनाउने भनिएको औद्योगिक क्रान्ति र हरित क्रान्तिको परिणाम थियो । यसले खेतीपातीलाई जीवन ऊर्जा भर्न खानेकुरा उत्पादन गर्ने किसानीबाट खोसेर पैसा कमाउने कारखानामा बदलिदियो । यसले हाम्रो खाना, माटो र प्रकृतिलाई विषाक्त बनाएको छ । मानिसलाई मन्द विषको सिकार बनाएको छ ।

अठारौं शताब्दीअघि संसारभर खेतीपाती नै जीवन थियो । नेपालको तराईदेखि युरोपका गाउँसम्म, खेतीपातीको तरिका र उपज फरक भए पनि किसानी र प्रकृतिको सार एउटै थियो । यो समयमा खेतीपाती जीवन निर्वाह र समुदायको पोषणका लागि थियो । बचेको खाना बाँडिने, छिमेकमा पुर्‍याइने र स्थानीय बजारमा साटिने हुन्थ्यो । अरू बाँकी सबै माटामै फर्किन्थ्यो ।

यो सबै बुझ्ने व्यावहारिक ज्ञान, सीप र विवेक किसान आफैंसँग थियो । पुस्तौंदेखि महिलाले आफ्नो बच्चा हुर्काएझैं बीउ छान्ने, जोगाउने, बिरुवा र पशुपन्छी हुर्काउने काम गर्थे । कुन बालीपछि कुन लगाउने, मौसमको पदचाप कसरी बुझ्ने र प्राकृतिक विधिबाट कीरा र अन्य शत्रु कसरी भगाउने भन्ने व्यावहारिक ज्ञान किसानमा निहित थियो ।

खेतीपातीमा विविधता थियो । एउटै खेतबारीमा २०/३० थरी बाली लगाइन्थ्यो । विभिन्न पशुपन्छी पालिन्थ्यो । रुख रोपिन्थ्यो, पोखरी बनाइन्थ्यो । यो विविधता नै खाद्य बिमा थियो । एउटा बाली बिग्रिए पनि अरू बच्थ्यो, एउटा नफले अर्को फल्थ्यो । यो विविधताले माटोको स्वास्थ्य र बोटबिरुवाको पोषण सदाझैं कायम राख्थ्यो । माटोको उर्वरा शक्ति प्रकृतिबाट आउँथ्यो । कम्पोस्ट, गोबर, हरियो मल, बाली चक्र, दलहन जस्ता बालीले माटोमा नाइट्रोजन, खनिज र प्रांगारिक पदार्थ फर्काउँथ्यो । माटो जीवन्त बनाउँथ्यो ।

सन् १७५० तिर सुरु भएको औद्योगिक क्रान्तिले खेतीपातीको मर्म नै बदलिदियो । यसले जीवन्त खेतीपातीलाई कारखानामा बन्ने निर्जीव वस्तु बनायो । गाउँ हुँदै खेतबारीमा कारखाना पस्यो । शताब्दीयौंदेखि किसानले प्रयोग गर्दै आएका सार्वजनिक जमिन, वन, चरन क्षेत्रलाई छेकबार लगाएर निजी बनाइयो । किसानले चरन, दाउरा, जंगली खाना सबै गुमाए । तिनीहरू भूमिहीन मजदुर बने, सहरी कारखानामा काम गर्न सहर पस्न बाध्य भए ।

यो श्रमिक विस्थापनले कृषि कर्ममा यान्त्रिकरणले सजिलै प्रवेश पायो । सिड ड्रिल, थ्रेसिङ मेसिन, रिपर र पछि ट्रयाक्टरले मानिस र पशुको श्रमलाई विस्थापित गर्‍यो । यान्त्रीकरणले प्रतिमान्छे उत्पादन बढायो तर कृषिलाई किसानबाट खोसेर पुँजी बजारको वस्तु बनायो । मेसिन किन्न सक्नेले मात्र प्रतिस्पर्धा गर्न सक्ने भयो । साना किसानले यसो गर्न सकेनन् उनीहरू सहरमा श्रम गर्न बाध्य भए ।

यो यात्रा यत्तिमै रोकिएन । माटोको जीवन्त संसारलाई रासायनिक समीकरणमा सीमित गरियो । माटोमा रहेका अर्बौं सूक्ष्म जीव, ढुसी र गड्यौलालाई बेवास्ता गरियो । यसरी जमिन, श्रम, बीउ र खाना सबै वस्तु बने । खाना खानका लागि होइन, बेच्नका लागि फलाइयो । खेतको सफलता खानेकुरा कति मान्छेलाई खुवाइयो वा माटोलाई कति जोगाइयो भन्नेले होइन, कति नाफा भयो भन्नेले नाप्न थालियो ।

यो कृषि कर्म मात्र फेरिएको कुरा थिएन । मानव सभ्यताकै जीवनदर्शनमा भएको परिवर्तन थियो । खेतीपातीलाई संस्कृति र पारिस्थितिकीबाट अलग गरेर उद्योग र नाफासँग जोडियो । किसान अब किसान रहेन, ऊ बजारका लागि उत्पादक बन्यो, सँगै औद्योगिक सामग्रीको उपभोक्ता बन्यो । दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रूपमा बढेको खाद्यान्नको माग र भोकमरीको समस्या सम्बोधन गर्न कृषि उत्पादन बढाउने अभियान अघि बढाइयो, जसले पछि हरित क्रान्तिको रूप लियो । वैज्ञानिकले गहुँ, धान, मकैका धेरै फल्ने जात विकास गरे । ती जातलाई हुर्काउन रासायनिक मल, विषादी र झारपात नाशक विकास गरियो । अन्तत: औद्योगिक क्रान्तिले सुरु गरेको कृषि कारखाना यात्रा हरित क्रान्तिले पैसा फलाउने विषाक्त कृषि बनाएर पूरा गर्‍यो ।

हरित क्रान्तिअघि भारतमा एक लाखभन्दा बढी धानका जात थिए । नेपालमा हजारौं स्थानीय धान, कोदो, जौ र दालका जात थिए । यी फरक उचाइ, माटो र हावापानीअनुसार बाँच्छन् । तीन दशकभित्र यो विविधता लगभग नष्ट भयो ।

रासायनिक मलले माटोको जीवन नै नष्ट गर्‍यो । युरियाको लगातार प्रयोगले माटोको सूक्ष्म जीव मर्छन्, माटोको संरचना बिगार्छन् र प्रांगारिक पदार्थ घटाउँछन् । किसानले उस्तै फल पाउन झन् धेरै मल हाल्नुपर्छ । यसलाई मलको ‘ट्रेडमिल’ भन्दा हुन्छ । यो लागू पदार्थको लतजस्तै हो । जति धेरै प्रयोग गर्‍यो, त्यति धेरै चाहिन्छ ।

अर्को कुरा, हामी खानाका नाममा विष खाँदै छौं । इन्डोसल्फान, डीडीटी, मोनोक्रोटोफस जस्ता रसायनले माटो, पानी र खाना दूषित गरे । खाना खानमा भन्दा हेर्नमा राम्रो, ठूलो, चम्किलो र एकनाशका चाहियो । तर पोषणको हिसाबले यो खोक्रो छ । अनुसन्धानले देखाउँछ, १९५० देखि तरकारीमा खनिज तत्त्व ३० देखि ५० प्रतिशतले घटेको छ । पालुंगोमा फलाम ६० प्रतिशतले घटेको छ । सुन्तलामा भिटामिन सी ३० प्रतिशतले घटेको छ । हामी धेरै क्यालोरी खाँदै छौं, तर थोरै पोषण पाउँदै छौं ।

एउटै बाली, एउटै खेतमा हजारौं हेक्टरमा लगाउने एकल खेतीले जैविक विविधता नष्ट गर्‍यो । विषादीले मौरी र पुतली जस्ता परागण गर्ने कीरा मरे । चरा हराए । मल र विषादीबाट बगेर आएको रसायनले नदीका माछा मरे । विश्व खाद्य संगठनका अनुसार १९०० देखि आजसम्म ७५ प्रतिशत बाली विविधता हराएको छ ।

औद्योगिक क्रान्ति र हरित क्रान्तिले खेतीपातीलाई पैसा कमाउने उद्योग भनेर व्यवहार गर्न सिकायो । यी क्रान्तिले हामीलाई धेरै खाना दिए, तर हाम्रो माटो, बीउ, स्वास्थ्य र किसान खोसे । मानव सभ्यताका लागि यसको मूल्य धेरै महँगो छ ।

आज दोबाटोमा उभिएका छौं । एउटा बाटोले अझ औद्योगिक कृषि, अझ विष, अझ किसान आत्महत्या र अझ प्रकृति विनाशतिर लैजान्छ । अर्को बाटोले माटो, बीउ, किसानतिर फर्काउँछ । हामीले कुन बाटो रोज्ने ? हाम्रो भविष्य बचाउन हामीले विगतमा बिराएको खेतीपातीको बाटोमा फर्कनुुपर्नेछ । खेतीपाती अब पैसा फलाउने नाफाको व्यापार होइन, पृथ्वीमा मानव जीवन टिकाउने संस्कृति बन्नुपर्छ । प्रश्न अब हामीले कसरी प्रशस्त उत्पादन गर्ने होइन, कसरी प्राकृतिक रूपले फलाउने भन्ने बन्नुपर्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
जमिन सुहाँउदो र सस्तो कृषि उपकरण खोज्दै किसान

जमिन सुहाँउदो र सस्तो कृषि उपकरण खोज्दै किसान

जमिन सुहाँउदो र सस्तो कृषि उपकरण खोज्दै किसान भृकुटीमण्डपमा जारी ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी’ आइतबारसम्म चल्नेछ । मंसिर ५, २०८३ प्रकृति दाहाल किसानहरूले प्रदर्शनीमा आफ्नो...

#कृषि #किसान
Compare →
Nagarik News
1w ago
किसान र बजारलाई जोड्दै हाट

किसान र बजारलाई जोड्दै हाट

नेपालको कृषि क्षेत्रको एउटा प्रमुख समस्या उत्पादनको अभाव मात्र होइन, उत्पादित वस्तुले उचित बजार र मूल्य नपाउनु पनि हो।

#कृषि #किसान
Compare →
Bizshala
3d ago
कृषि यान्त्रीकरण प्रदर्शनीका ओइरिए कृषक, दोस्रो दिन १९ हजारले गरे अवलोकन

कृषि यान्त्रीकरण प्रदर्शनीका ओइरिए कृषक, दोस्रो दिन १९ हजारले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को दोस्रो दिन शनिबार...

#कृषि #किसान
Compare →

Related Stories

Business & Economy
Build #2625