९ मंसिर, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा कुनै समय चियाका हरिया बोट लहलहाउँथे । किसानका लागि ती बोट खेती गर्ने माध्यम मात्रै थिएनन्, भविष्य बदल्ने सपना पनि थिए । अन्य बाली छाडेर चिया खेतीमा लगानी गरेका किसानले यसैबाट राम्रो आम्दानी गर्ने आशा राखेका थिए ।
तर, अहिले त्यही चिया किसानका लागि आम्दानीको स्रोत बन्न सकेको छैन । बजार नपाएपछि किसानले बगानमा चिया टिप्नै छाडेका छन् । वर्षौंदेखि गोडमेल र छँटाइ नहुँदा चियाका बोट झाडीमा परिणत हुँदै गएका छन् । कुनै समय व्यावसायिक चिया उत्पादनको सम्भावना बोकेको राम्चे क्षेत्र अहिले चियाका बोटले भरिएको झाडीमा परिणत हुँदै छ ।
२०५५ सालदेखि चिया खेती विस्तार गर्न थालेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा निजी जग्गामा चिया लगाएका थिए । तर, समय बित्दै जाँदा उनले सोचेअनुसारको मूल्य र बजार पाएनन् । उत्पादन बिक्री नभएपछि खेतीमा गरेको लगानीसमेत उठाउन नसकेको उनको गुनासो छ ।
‘चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ । मजदुर लगाएर काम गराउँदा झन् खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?’ उनले भने ।
स्थानीय सरकारले चिया किसानलाई आवश्यक सहयोग र बजार व्यवस्थापनमा पर्याप्त चासो नदिँदा आफूहरू थप निराश बनेको थापाले बताए । वर्षौंको मिहिनेत र लगानीबाट तयार भएका चियाका बोट अहिले बगानमै खेर गइरहेको उनको भनाइ छ ।
थापा मात्रै होइन, पाख्रीबासका अर्का किसान धनबहादुर बस्नेतको समस्या पनि उस्तै छ । करिब १० रोपनी क्षेत्रफलमा चिया खेती गरेका बस्नेतले उत्पादन बिक्री नहुँदा बगानको नियमित हेरचाह गर्न सकेका छैनन् । तीन-चार वर्षदेखि छँटाइ र गोडमेल नहुँदा चियाका बोट बढेर जंगलजस्तै बनेका छन् ।
उत्पादन बिक्री नहुने र बगान व्यवस्थापन गर्दा थप खर्च लाग्ने भएपछि किसान दोहोरो मारमा परेका छन् । पुरानो चिया बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन रहेको बस्नेत बताउँछन् ।
पाख्रीबासकै अर्का किसान विमल राईले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चिया खेती गरेका छन् । तर, उद्योगहरूले आफूले अपेक्षा गरेअनुसारको मूल्य नदिँदा उनी पनि समस्यामा परेका छन् । चिया बिक्री नभएपछि करिब तीन वर्षदेखि बगानको गोडमेल र छँटाइ गर्न नसकेको राई बताउँछन् ।
उत्पादन भएको चियाको उचित बजार र मूल्य पाउनु नै मुख्य चुनौती बनेको उनको भनाइ छ । बजार सुनिश्चित नहुँदा खेतीमा लगानी गर्ने उत्साह घट्दै गएको छ । वर्षौंसम्म हुर्काएका बोट उपयोगविहीन बन्न थालेपछि किसानको लगानीसमेत खेर गइरहेको छ ।
उद्योग बन्द भएपछि किसानलाई बजारको समस्या
स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा राम्चे अर्गानिक चिया उत्पादन सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गर्दै आएको थियो । स्थानीय किसानले उत्पादन गरेको चिया उक्त उद्योगमा बिक्री गर्दै आएका थिए ।
उद्योगले किसानको उत्पादन प्रशोधन गरेर ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीलगायत विशेष प्रकारका चिया उत्पादन गर्दै आएको थियो । स्थानीय उत्पादनलाई प्रशोधन गरी बजारसम्म पुर्याउने व्यवस्थाले किसानमा चिया खेतीप्रति उत्साहसमेत बढाएको थियो ।
तर, उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नुपर्यो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि सञ्चालन खर्च धान्न नसकेर उद्योग बन्द भयो । त्यसको प्रत्यक्ष असर स्थानीय चिया किसानमा परेको छ ।
उद्योग बन्द भएपछि किसानले उत्पादन गरेको चिया खरिद गर्ने भरपर्दो ठाउँ नै रहेन । त्यसयता चिया बिक्री गर्न नपाउने समस्या बढ्दै गएको किसानको भनाइ छ । चिया बिक्री हुन छाडेपछि बगानको नियमित हेरचाहसमेत हुन सकेको छैन । अन्य बाली छाडेर चिया खेतीमा भविष्य खोजेका किसान अहिले आफ्नै बगानका बोट हेरेर निराश हुनुपर्ने अवस्थामा पुगेका छन् ।
चिया उद्योग पुनः सञ्चालनका लागि पाख्रीबास नगरपालिकाले पहल नगरेको किसानको गुनासो छ । नगरपालिकामा उद्योग सञ्चालनका लागि माग आएको भए पनि बजेट अभावका कारण सहयोग गर्न नसकिएको नगरप्रमुख ज्ञानबहादुर गुरुङले बताए ।
उनका अनुसार किसानले उद्योग सञ्चालनका लागि ठूलो बजेट माग गर्ने गरेका छन् । तर, नगरपालिकासँग सानो सहयोग गर्न सक्ने अवस्था पनि नरहेको उनले बताए।