चार वर्षदेखि दूधको मूल्य नबढ्दा उत्पादन लागतसमेत नउठेको भन्दै किसानले मूल्य समायोजन र डीडीसीबाट नियमित भुक्तानीको माग गरेका छन्।
धनकुटा — धनकुटा जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानले दूधको मूल्य तत्काल समायोजन गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । मङ्सिर १६ गतेसम्म दूधको मूल्य समायोजन नगरिए सरकारविरुद्ध आन्दोलनमा उत्रने उनीहरूले बताएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाका अध्यक्ष नारद कटुवाल नेतृत्वको समूहले धनकुटामा पत्रकार सम्मेलन गरी आफ्नो माग तत्काल सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । किसानले अहिले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्रै दूधको मूल्य पाइरहेको भन्दै मूल्य बढाउन माग गरेका छन् ।
अध्यक्ष कटुवालका अनुसार एक लिटर दूध उत्पादन गर्न किसानको ६५ रुपैयाँसम्म लागत लाग्ने गरेको छ । तर उत्पादन लागतभन्दा कम मूल्यमा दूध बिक्री गर्नुपर्दा किसान मारमा परेको उनले बताए । चार वर्षदेखि किसानले पाउने दूधको मूल्य वृद्धि नभएको उनको भनाइ छ ।
'एक लिटर दूध उत्पादन गर्न ६५ रुपैयाँ लागत लाग्छ । तर हामी ५० देखि ५५ रुपैयाँमा दूध बेच्न बाध्य छौँ,' कटुवालले भने, 'तत्काल मूल्य समायोजन नभए मङ्सिर १६ गतेदेखि आमहडतालका कार्यक्रम गर्छौँ । गाईवस्तु र भैँसीसहित सरकारविरुद्ध सडकमा उत्रन बाध्य हुनेछौँ ।'
दूधको मूल्य समायोजनसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई दूधको भुक्तानीसमेत नियमित नगरेको उनीहरूको गुनासो छ । महालक्ष्मी नगरपालिका–२ की किसान कृष्णमाया कटुवालले डीडीसीलाई बिक्री गरेको दूधको भुक्तानी भदौदेखि नपाएको बताइन् । 'हरेक १५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने हो । तर तीन महिना बितिसक्दा पनि बक्यौता रकम पाएका छैनौँ,' उनले भनिन् ।
संघका अध्यक्ष कटुवालका अनुसार धनकुटाका विभिन्न संकलन केन्द्रमार्फत दैनिक १० हजार लिटर दूध डीडीसीलाई बिक्री हुँदै आएको छ । थप १५ हजार लिटर दूध कामधेनु र जीवन डेरीलगायत निजी डेरीमा बिक्री हुने गरेको छ । निजी क्षेत्रका डेरीले भने किसानलाई नियमित भुक्तानी दिइरहेको उनले बताए ।
धनकुटा जिल्ला दुग्ध उत्पादक सहकारी संघमा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित करिब २७ वटा दुग्ध उत्पादक सहकारी तथा दूध संकलन केन्द्र आबद्ध छन् । किसानका माग सम्बोधन नभए ती सबै सहकारी र संकलन केन्द्रलाई समेटेर आन्दोलनमा उत्रने कटुवालले चेतावनी दिएका छन् ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।