६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल्य लागत अनुसार नभएको भन्दै मूल्य वृद्धि गर्न माग गरेको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्रै पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्याउनुपर्ने माग गरे । उनका अनुसार दाना, चोकरलगायत पशु आहारको मूल्य तथा औषधोपचार खर्च बढ्दै जाँदा दूध उत्पादनको लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ ।
विगत तीनदेखि चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको अध्यक्ष कटुवालले बताए । बजारमा उपभोक्ताले खरिद गर्ने दूधको मूल्य बढे पनि त्यसअनुसार किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक किसान मारमा परेको उनको भनाइ छ । किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरे पनि बजारमा उपभोक्ताले प्रतिलिटर १ सय २० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको महालक्ष्मी नगरपालिका वडा नं. २ की कृषक कृष्णमाया कटुवालले बताइन् । सरकारले लामो समयदेखि दूधको मूल्य नबढाउँदा पशु आहार, औषधोपचार तथा अन्य व्यवस्थापन खर्च धान्नसमेत कठिन भएको उनले बताइन् ।
संघका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधमध्ये दैनिक करिब १० हजार लिटर दुग्ध विकास संस्थान (डीडीसी) ले खरिद गर्दै आएको छ भने कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले समेत दूध संकलन गर्दै आएका छन् । जिल्लामा २७ वटा दुग्ध उत्पादक सहकारी संस्था तथा दूध संकलन केन्द्रमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् । डिडिसिले भने भदौ १५ गतेदेखि किसानको दुधको भुक्तानी नदिएको किसानको गुनासो छ । धनकुटाका किसानले मात्रै डिडिसीबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
संघले सरकारले मंसिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नगरे मंसिर १६ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । माग सम्बोधन नभए किसानले गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने तथा उत्पादित दूध भण्डारण गरेर बजारमा नपठाउने अध्यक्ष कटुवालले बताए । सरकारले पटक–पटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको संघको आरोप छ । किसानले उत्पादन लागतअनुसार दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन् ।